३६ अर्बका दुई जलविद्युत आयोजना अघि बढाउदै चिलिमे, कसरी जुटाउला लागत?

बिजमाण्डू
२०७९ असोज ३० गते १३:१८ | Oct 16, 2022
३६ अर्बका दुई जलविद्युत आयोजना अघि बढाउदै चिलिमे, कसरी जुटाउला लागत?

काठमाडौं। चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले दुई जलविद्युत आयोजना निर्माण अघि बढाउने भएको छ। ८७ मेगावाटको सेती नदी-३ (एसआर-३) र ८१ मेगावाटको बुढीगण्डकी प्रोक आयोजना निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको हो।

Tata
GBIME
Nepal Life

२०२४ बाट निर्माण थाल्ने कार्यतालिका बनाएर कम्पनीले पूर्व तयारीका कामहरु गरिरहेको छ। शुक्रबार कम्पनीले लगानी बोर्डको कार्यालयमा यी दुई परियोजनामा लगानी प्रस्ताव गरेको छ। सेती नदी-३ आयोजना ८७ मेगावाटको अर्ध-जलाशययुक्त(पीआरओआर) हो भने बुढीगण्डकी प्रोक ८१ मेगावाटको नदी प्रवाहमा आधारित (आरओआर) आयोजना हो। 

दुवै आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ। चिलिमे मातहतको  चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडले अध्ययनको काम गरेको हो। करिब दुई वर्षभित्र आवश्यक अध्ययन, जग्गा अधिग्रहण, पहुँचमार्ग निर्माण, फाइनान्सियल क्लोजर, ठेक्का लगायतका तयारी सकेर निर्माणमा जाने योजना रहेको कम्पनीका एक अधिकारीले बताए।

उनका अनुसार इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन (इपीसी) मोडलमा यो आयोजना निर्माण हुनेछ। यस्तो मोडलमा निर्माण गर्दा जिम्मा पाउने कम्पनीले विस्तृत डिजाइन गरेर खरिददेखि निर्माणसम्मको काम गर्नुपर्छ। निर्माण कम्पनी थप जिम्मेवार हुने हुँदा इपीसीमा ठेक्का लगाउन लागिएको बताइएको छ। 

५ वर्षमा बुढीगण्डकी प्रोक 
सम्भाव्यता अध्ययन अनुसार यो आयोजनाको गोरखाको बुढीगण्डकी नदी/तोम खोलामा प्रस्ताव गरिएको छ। आयोजनाको ग्रस हेड ६६० मिटर र नेट हेड ६४५ मिटर हुनेछ। अण्डरग्राउण्ड विद्युत गृह रहनेछ। २२० केभी डबल सर्किटको १५ किलोमिटर ट्रान्समिसन लाइन निर्माण गरेर उत्पादित विद्युतलाई राष्ट्रिय प्रणालीमा जोडिनेछ।

चिलिमेले बुढीगण्डकी प्रोकको ४२० मेगावाटको सर्भे लाइसेन्स लिएर अध्ययन अघि बढाएको थियो। तर सम्भाव्यता अध्ययनपछि ८१ मेगावाटमा यो आयोजना अघि बढाउदा उपयुक्त हुने निष्कर्ष निकालियो। कम्पनीका एक अधिकारीका अनुसार ४२० मेगावाटको लाइसेन्स लिएको भए पनि ८१ मेगावाटको बुढीगण्डकी प्रोक र ९३ मेगावाटको बुढीगण्डकी-१ फिजिवल देखिएको छ।

सोही कारण यी दुई आयोजना अघि बढाउन लागिएको छ। कम्पनीले कन्स्ट्रक्सन लाइसेन्सको लागि विद्युत विभाग समक्ष आवेदन दिइसकेको छ। निर्माण सुरु गरिएको ५ वर्षमा निर्माण सक्ने योजना छ। आयोजनाको सम्भाव्यता अध्ययन सकेर वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनको काम अघि बढाउन लागिएको छ। 

आयोजना निर्माणका  लागि १६ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ। हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) को नेतृत्वमा लगानी गर्ने विषयमा छलफल सुरु भएको छ। कम्पनी लगानीको नेतृत्व गर्न सकारात्मक देखिएको छ।

चिलिमेसँग कम्पनीले निर्माणका लागि सम्भव देखिएका प्रोजेक्टहरुमा प्राथमिकतामा राखेर लगानी गर्ने गरि द्धिपक्षीय सम्झौता (एमओयु) भएको छ। ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने योजना छ।

सेती नदी-३ निर्माणमा साढे ४ वर्ष  
सेती नदी-३ जलविद्युत आयोजना बझाङको जयपृथ्वी नगरपालिकाको पानकोट नजिकै निर्माण प्रस्ताव गरिएको छ। पश्चिम सेती जलविद्युत परियोजनाको अपस्ट्रिम (माथिल्लो भाग) मा यो आयोजना निर्माण हुनेछ।

चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेजले यो आयोजनाको सम्भाव्यता अध्ययन गरेको छ भने इआइएको काम पनि अन्तिम चरणमा छ। सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार १४ मिटर अग्लो र ६७ मिटर लम्बाइको बाँध निर्माण गरी ३०७७६६.०८ घनमिटर क्षमताको पोखरी निर्माण हुनेछ। ४२५१ मिटरको लामो सुरुङमार्ग निर्माण हुनेछ। साढे चार बर्षमा निर्माण सक्ने योजना छ।

यो आयोजनाका लागि करिब ३ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ। १६५ मेगावाटमा लाइसेन्स लिएर सम्भाव्यता अध्ययन अघि बढाइएको थियो।

फिल्ड स्टडी गर्दा ६५ मेगावाटको आयोजना निर्माण गर्दा उपयुक्त हुने देखिएको थियो। तर डिजाइन मापदण्ड क्यु घटाएर फाइनान्सियल रुपमा फिजिवल बनाउन ८७ मेगावाटमा क्षमता बढाएर निर्माण गर्न लागिएको आयोजनाका इन्जिनियरहरुको भनाइ छ।

सम्भाव्यता अनुसार यो आयोजना निर्माणका लागि १९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने अनुमान छ। लगानी एक स्थानीय बैंकको नेतृत्वमा गर्ने विषयमा सकारात्मक छलफल भइरहेको चिलिमेका एक इन्जिनियरले बताए। 

चिलिमेले २२.१ मेगावाटको चिलिमे जलविद्युत परियोजना संचालनमा ल्याएको छ। कम्पनीको अगुवाइमा १०२ मेगावाटको मध्य-भोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावटको (माथिल्लो) सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत परियोजनाहरू निर्माण सम्पन्नताको अन्तिम चरणमा छन्।

चालु वर्ष तीनवटै परियोजनाबाट विद्युत उत्पादन गरेर राष्ट्रिय प्रणालीमाजोड्ने योजना छ। कम्पनीले ६० मेगावाटको चुम्चेत स्यार खोला जलविद्युत आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ। यो आयोजना गोरखामा निर्माण हुनेछ।