चेम्बरले भन्यो- ‘ब्याजदर वृद्धिले व्यवसायी आहत, उपभोक्ता महँगीको मारमा’, तरलता बढाउन यस्तो सुझाव

बिजमाण्डू
२०७९ असोज ३० गते १६:२९ | Oct 16, 2022

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर वृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताउँदै तरलता बढाउने उपाय सुझाएका छन्।

Tata
GBIME
Nepal Life

उद्योग व्यापार संगठन रुपन्देहीको १५ औं वार्षिक साधारण सभामा चेम्बर अध्यक्ष मल्लले हाल विद्यमान स्प्रेड दरलाई ४.४ प्रतिशतबाट १ प्रतिशत घटाउने एवं बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम विन्दुमा कायम गरि कर्जाको आधार दरको अधिकतम २ प्रतिशतसम्म प्रिमियम थप गर्ने व्यवस्था भएमा ब्याजदर घट्ने धारणा राखे।

स्थानीय प्रदेश तथा संघीय सरकारअन्तर्गतका निकायहरुको खातामा रहेको पुँजीगत खर्च हुन नसकेमा सो रकमको ९० देखि ९५ प्रतिशत रकमलाई वाणिज्य बैंकमार्फत कर्जा प्रवाह गर्ने व्यवस्था भए यसले तरलतामा वृद्धि हुने उनको सुझाव छ।

बैंक तथा वित्तीय संस्थाले लिने स्प्रेड दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी व्यवसायी निकै मर्कामा परेको भन्दै उनले आकासिएको ब्याजदरले उपभोक्ता महँगीको मारमा परेको बताए।

कोभिड १९ महामारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया युक्रेन युद्धले थप प्रभावित बनाएको अध्यक्ष मल्लले बताए।

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधि बढाउनुपर्ने भएपनि बढ्दो ब्याजदरका कारण अर्थतन्त्रनै धरासायी हुने अवस्था सिर्जना भएको अध्यक्ष मल्लको भनाइ छ ।

अध्यक्ष मल्लले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लगायत तेस्रो मुलुकमा नियमित हवाई उडान गर्नका लागि उचित पहल गरिनुपर्नेमा जोड दिए। लुम्बिनीको पर्यटन प्रर्वद्धन, एवं कृषिको आधुनिकीकरण र यान्त्रीकरणमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जुट्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

नेपाली औद्योगिक हब भैरहवा सेज भित्र उद्योगहरुको सहज तरिकाले स्थापना र सञ्चालन गरिनुपर्ने उनले बताए। भन्सार नाकालाई व्यवस्थित गरेर व्यापार सहजीकरण गर्न समेत उनले आग्रह गरे।