पर्यटनमा असर परेको भन्दै विदेशी मदिरा आयात खोल्ने प्रस्ताव क्याबिनेटमा, तिहारपछि निर्णय

बिजमाण्डू
२०७९ कात्तिक ३ गते १६:०१ | Oct 20, 2022
पर्यटनमा असर परेको भन्दै विदेशी मदिरा आयात खोल्ने प्रस्ताव क्याबिनेटमा, तिहारपछि निर्णय

काठमाडौं। देशको पर्यटन उद्योग प्रभावित भएको भन्दै विदेशी मदिरा आयातमा लगाइएको प्रतिबन्ध खुलाउन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले क्याबिनेटमा प्रस्ताव लगेका छन्। 

Tata
GBIME
Nepal Life

विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएसँगै ६ महिनादेखि व्यवसाय प्रतिकूल प्रभाव परेको भन्दै होटल व्यवसायीहरुले खुलाउन सरकारसँग माग गर्दै आएका छन्। मदिरा आयात रोकिँदा देशको आतिथ्यतामा नकारात्मक असर परेको भन्दै विदेशी मदिरा आयात खुलाउने प्रस्ताव आफूले क्याबिनेट लगेको मन्त्री श्रेष्ठले जानकारी दिए।

'मन्त्रिपरिषद् बैठकले आयातित मदिरासँगै चारवटा वस्तु आयातमा मंसिरसम्म प्रतिबन्ध लम्ब्याउने निर्णय गर्‍यो। यसले दिन प्रतिदिन देशको समग्र पर्यटन उद्योग नै प्रभावित भएपछि आज बिहीबारको क्याबिनेटमा मैले विदेशी मदिरा आयात फुकुवा गर्न प्रस्ताव गरेको छु,' मन्त्री श्रेष्ठले बिजमाण्डूसँग भने,'तिहारलगत्तै यो विषयमा निष्कर्ष निकाल्नेछौं।'

विदेशी मदिरा आयात खुलाउन विशेष ढंगबाट अगाडी बढेर निर्णय गर्ने समझदारी भएको पनि उनले जानकारी दिए। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यो विषयमा सकारात्मक बनेको उनले बताए। 

सरकारले गत वैशाखदेखि विदेशी मदिरा आयातमा प्रतिबन्द लगाएसँगै त्यसको प्रत्यक्ष असर  तारे होटलहरुको व्यापारमा देखिँदै आएको छ।

विदेशी पर्यटकहरुले होटलमा खपत गर्ने मुख्य पेयमा विदेशी मदिरा नै हुँदै आएकाले प्रतिबन्ध लाग्दा होटलमा उपलब्ध गराउनै मुश्किल परिरहेको गुनासो व्यवसायीहरुको छ। उनीहरुका अनुसार विदेशी मदिराको अभावका कारण होटलको व्यापारमा मात्र नभएर समग्र पर्यटन क्षेत्रमै नकारात्मक असर पर्दै गएको छ।

स्टक नभएको जानकारी आफूहरुलाई आइरेको भन्दै एभरेष्ट, सोल्टी, मेरियट, याक एण्ड यती, र्‍याडिसन, हायात, हायात प्लेस, अलफ्ट लगायत ठुला तारे होटलले यतिखेर पाहुनाको माग अनुसारको सेवा दिनै धौधौ भइरहेको बताएका छन्। 

आयातित मदिरामा प्रतिबन्ध लगाइदिँदा विभिन्न होटल-रेस्टुरेन्टले दिँदै आएको आतिथ्य सेवामा नै नकारात्मक प्रभाव सुरु भएको व्यवसायीले गुनासो गर्दै आएका छन्। सरकारले विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएसँगै विदेशी पर्यटकलक्षित सेवामा प्रभाव परेसँगै आन्तरिक मदिराको प्रयोग हुँदै आएको जनाएका छन्।

नेपाली उत्पादन राम्रो भए पनि विदेशी पर्यटकले आयातित मदिरा नै खोज्ने गरेको व्यवसायीको भनाइ छ। विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सरकारले मदिरा आयातमा प्रतिबन्ध लम्ब्याउँदै आएको छ।

नेपाल मदिरा पैठारीकर्ता संघले मदिरा आयातमा प्रतिबन्ध लगाएर राज्यले ठूलो राजस्व गुमाएको जिकिर गर्दै खोल्न माग गर्दै आएको छ। वार्षिक डेढ अर्ब रुपैयाँको मदिरा आयात हुँदा पनि तीन अर्ब ३० करोड रुपैयाँ राजस्व प्राप्त गर्ने तथ्यांक प्रस्तुत गर्दै संघले करिब दुई साताअघि विज्ञप्ति नै जारी गरेको थियो।

बोतलबन्द आयातित मदिराजन्य पदार्थहरुमा वार्षिक लगभग एक करोड २० लाख अमेरिकी डलर मात्र खर्च हुने भन्दै संघले यो वार्षिक बाहिरिने कुल विदेशी मुद्राको ०.१० प्रतिशत रहेको दाबी गरेको छ।