ग्राहकको गुनासो सुन्न एनइएले कल सेन्टर राख्ने योजना अघि बढायो, ४ महिनाभित्र देशैभर

बिजमाण्डू
२०७९ कात्तिक १६ गते १३:५१ | Nov 2, 2022
ग्राहकको गुनासो सुन्न एनइएले कल सेन्टर राख्ने योजना अघि बढायो, ४ महिनाभित्र देशैभर

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ग्राहकको गुनासो सम्बोधन गर्न देशैभरी कल सेन्टर संचालनमा ल्याउने काम अघि बढाएको छ।

Tata
GBIME
Nepal Life

परीक्षणका रूपमा केन्द्रिय कार्यालयमा कल सेन्टर संचालनमा ल्याएको प्राधिकरणले देशैभरि विस्तार गर्न लागेको हो। चालु वर्षभित्र सातै प्रदेश र दुई डिभिजन कार्यालयमा कल सेन्टर राख्ने योजना बनाएको छ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख मनोज सिलवालले ४ महिनाभित्रै कल सेन्टर राखिसक्ने गरी काम भइरहेको बताए।

ग्राहकको सहजताको लागि विद्युत आपूर्ति सम्बन्धी गुनासो सम्बोधन गर्ने, विभिन्न सूचना र जानकारीहरु एकै स्थानबाट दिन कल सेन्टर राख्न लागिएको हो। विद्युत आपूर्तिमा समस्या आएमा, कुनै सूचना जानकारी चाहिएमा कल सेन्टरमा सम्पर्क गर्न सकिनेछ।

अहिले केन्द्रिय कार्यालय रत्नपार्कमा संचालनमा आएको कल सेन्टरको नम्बर ११५० मा सम्पर्क गरी १ अंक डायल गरि जानकारी दिन लिन सकिन्छ। नो लाइटमा कल नउठ्ने गुनासो धेरै भएकाले कल सेन्टरले सम्बोधन गर्ने अपेक्षा गरिएको छ। 'नो लाइटमा कल नउठे कल सेन्टरमा सम्पर्क गर्न सकिन्छ। कल सेन्टरले जानकारी लिएर ग्राहकलाई दिन्छ,' सिलवालले भने।

कल सेन्टर २४ सैं घण्टा संचालनमा छ। ४ जनाका दरले तीनवटा सिफ्टमा संचालन गरिएको छ। आवश्यकता अनुसार कर्मचारीको व्यवस्थापन गरिनेछ। विस्तारै एपको समेत विकास गर्ने योजना छ।