खोटाङ-दिक्तेल सडकखण्डमा ७ वर्षदेखि काम अलपत्र पार्ने निर्माण व्यवसायीसँग ठेक्का तोडियो

बिजमाण्डू
२०७९ कात्तिक २२ गते १४:५९ | Nov 8, 2022

काठमाडौं। पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले खोटाङ-दिक्तेल सडक खण्डमा पर्ने पुल र सडक निर्माणको काम अलपत्र पार्ने निर्माण व्यवसायीसँग ठेक्का तोडिने जनाएको छ।

Tata
GBIME
Nepal Life

निर्देशनालयका अनुसार यस आयोजनामा पर्ने केही पुल र सडक निर्माणको काम ७ वर्षसम्ममा पनि सम्पन्न नगरेको भन्दै ठेक्का तोड्न प्रक्रिया अगाडि बढाएको हो। यस आयोजना अन्तर्गत रहेको पङ्खु खोला पुल निर्माणको जिम्मा पाएको सिरुवा कन्स्ट्रक्सन कम्पनीले २०७२ मा नै सम्झौता गरेको थियो। तर उक्त निर्माण कम्पनीले पटक-पटक म्याद थप गर्दा पनि हालसम्म काम पुरा गरेको छैन।

निर्माण कम्पनीको ढिलासुस्तीले खोटाङस्थित पङ्खु खोलाको मोटरेबल पुल निर्माण कार्य पनि अलपत्र परेको छ। यो पुल १५ मिटर लम्बाइको मात्र छ।

यसैगरी यसै आयोजना अन्तर्गत पर्ने भोजपुरदेखि दिक्तेल सडक खण्डको सडक निर्माण गर्ने जिम्मा पाएको भारत कन्स्ट्रक्सन मैनाचुली सिद्धिसाई जेभीले पनि सडकको काम अलपत्र पारेको छ। यो जेभी कम्पनीहरुले पनि २०७२ मा नै निर्माण कार्यको लागि आयोजनासँग सम्झौता गरेका थिए।

यी निर्माण कम्पनीहरुलाई आयोजनाले ठेक्का किन नतोड्ने कारण र स्पष्टीकरण पेस गर्न १ वर्ष अगाडि नै ताकेता गरिएको थियो। तर निर्माण कम्पनीहरुले त्यसको वेवास्ता गर्दै हालसम्म पनि निर्माण कार्यमा फर्केका छैनन्। त्यसैले निर्देशनालयले यी निर्माण व्यवसायीसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

यस्तै आयोजनामा सम्झौता बमोजिम काम नगर्ने निर्माण व्यवसायीहरुबाटै ठेक्काको क्षतिपूर्ति असुल उपर गरिने निर्देशनालयले जनाएको छ।

भोजपुर-दिक्तेल खण्ड अपग्रेडिङ गर्ने कार्यक्रम अन्तर्गत डबल लेनमा चौडा गर्ने, पुल पुलेसा, स्ट्रक्चर निर्माण गर्ने तथा सब-बेस, बेससहित डीबीएसटी सर्फेस सतहसहित सडक स्तरोन्नति गर्ने गरी भारत कन्स्ट्रक्सन मैनाचुली सिद्धिसाइले चेनेज ४२+००० देखि चेनेज ५२+०० सम्मको ठेक्का लिएको थियो।

भारत कन्स्ट्रक्सन मैनाचुली सिद्धिसाइले ३० फागुन २०७५ मा सम्पन्न गर्ने गरी २ चैत २०७२ मा चखेवाभञ्ज्याङ-सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो। तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद १३ पुस २०७७ मा र दोस्रो म्याद १३ असार २०७८ मै गुज्रिएको थियो।