क्यानडाले किन हरेक वर्ष ५ लाख आप्रवासीहरूलाई बोलाउँदैछ? यस्तो छ कारण

बिजमाण्डू
२०७९ मंसिर ११ गते १३:५९ | Nov 27, 2022
क्यानडाले किन हरेक वर्ष ५ लाख आप्रवासीहरूलाई बोलाउँदैछ? यस्तो छ कारण


नोभेम्बर महिनाको सुरुवातमा क्यानडाको संघीय सरकारले प्रत्येक वर्ष ५ लाख आप्रवासी ल्याउने योजनाको घोषणा गर्‍यो। यो घोषणासँगै सन् २०२५ सम्म १५ लाख आप्रवासी नागरिकले क्यानडा जान पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

यो योजना अन्तर्गत स्थायी बासिन्दाको जनसंख्याको अनुपातमा क्यानाडामा नयाँ आप्रवासीहरू बेलायत भन्दा आठ गुणा र अमेरिका भन्दा चार गुणा बढी आउनेछन्। तर, आउने आप्रवासीलाई लिएर त्यहाँका मानिसहरुमा असहजता भने सिर्जना भएको छ।

धेरै वर्षदेखि क्यानाडाले आप्रवासीहरूलाई स्थायी बसोवासका लागि आकर्षित गरिरहेको छ। उनीहरुलाई देशमा अनिश्चित कालसम्म बस्न पाउने अधिकार समेत दिइएको छ, तर, नागरिकको रुपमा भने होइन। क्यानडाले जनसंख्या र अर्थव्यवस्था दुवैलाई वृद्धि गर्नका लागि आप्रवासीलाई स्वागत गरिरहेको हो। 

पछिल्लो वर्ष क्यानडाले ४ लाख ५ हजारजनालाई स्थायी बसोवासका लागि स्वीकृति दिएको थियो, यो संख्या हालसम्म कै धेरै हो।

किन क्यानडाले यति धेरै आप्रवासीलाई भित्र्याइरहेको छ ?

केही व्यक्तिहरु क्यानडाको निर्णयलाई निकै साधारण गणितमा आधरित योजना भनिरहेका छन्। धेरै पश्चिमी मुलुकहरु जस्तै क्यानडा पनि वृद्धवृद्धाहरुको संख्या बढिरहेको छ र  त्यहाँको जन्मदर पनि निकै न्यून रहेको छ। ‍त्यसैले देशको विकास गर्नकै लागि आप्रवासी ल्याउने योजना अघि सारिएको हो।

क्यानडा सरकारी तथ्याङ अनुसार आप्रवासीहरू व्यवहारिक रूपमा सबै देशहरूमा श्रमशक्ति वृद्धिको मुख्य हिस्सा हुन्। र, सन् २०३२ सम्म क्यानडाको कूल जनसंख्या वृद्धिमा उनीहरू नै मुख्य कारक हुने अनुमान गरिएको छ।

यो महिनाको सुरुवातमा क्यानडा सरकारले सन् २०२५ सम्ममा प्रत्येक वर्ष ५ लाख आप्रवासीहरू देश प्रवेश गर्ने अपेक्षा गरेको जनाएको थियो। यो संख्या सन् २०२१ को तुलनामा २५ प्रतिशत बढी हो।

‍वर्तमान समयमा हरेक चौथो क्यानेडियन आप्रवासीको रूपमा देशमा आएका छन्, जुन 'जी-सेभन' देशहरूभन्दा उच्च हो। अमेरिकामा १४ प्रतिशत र बेलायतमा १४ प्रतिशत आप्रवासी मात्रै छन्।

अक्सफोर्ड विश्वविद्यालयको 'माइग्रेसन अब्जर्भेटरी'की निर्देशक मेडेलिन सम्पशनका अनुसार यी तथ्याङहरूको मतलब बेलायत आप्रवासी मामिलामा पछाडि छ भन्ने होइन। बेलायतको जनसंख्या क्यानडाको भन्दा दोब्बर छ। र, जनघनत्व पनि बाक्लो छ। क्यानडाको जनसंख्या ३.८ करोड छ र अहिलेको अवस्थामा क्यानेडियन भूमिमा आप्रवासीलाई राख्न धेरै ठाउँ छ।  

‘बेलायतले सामान्यतया क्यानडाले जस्तै आफ्नो जनसंख्या बढाउने लक्ष्य राख्दैन,’ मेडेलिनले भनिन्।

म्याकमास्टर युनिभर्सिटीका 'पोलिटिकल साइनटिस्ट' जेफ्री क्यामरनका अनुसार क्यानडा जस्ता धेरै देशहरूमा अहिले कम जन्मदर र बुढेसकालको जनसङ्ख्या वृद्धिको समस्या छ। तर, यसो भन्दैमा पनि कुनै पनि देशमा आप्रवासन प्रणालीमा परिवर्तनलाई जनताको लोकप्रिय समर्थनमा निर्भर रहन्छ।

अहिले दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या 'रेकर्ड' स्तरमा पुगेको छ। तर, सबै ठाउँको मुख्य प्रश्न के हो भने रोजगारी सिर्जना गर्नुभन्दा बढी आप्रवासी ल्याउनु कति उपयुक्त छ?

आप्रवासनबारे चिन्ता

'ब्रेक्जिट' अघि बेलायतमा पूर्वी युरोपबाट आउने युरोपियन युनियनका आप्रवासीको मुद्दाले यो विषयको विरुद्ध नै माहोल सिर्जना गरेको थियो। सम्पशनका अनुसार विगत केही वर्षहरूमा आप्रवासीहरुलाई लिएर लोकप्रिय मत सिर्जना भइरहेका छन्, किनभने उनीहरुलाई लाग्छ को आउने को नआउने भनेर सरकारसँग विकल्प छ। यद्यपि, क्यानडाले ऐतिहासिक रूपमा आप्रवासीलाई बढी समर्थन गरेको अहिले देखिन्छ।

क्यामरुन भन्छन्,'मलाई लाग्छ कि यसको पछाडिको कारण भनेको क्यानेडियन सरकारले आप्रवासीहरुलाई राम्रोसँग व्यवस्थापन गर्नेछ, यो क्यानडाको हितमा हुने गरि गर्छ भन्ने विश्वास छ।' तर, यसको मतलब यहाँ आप्रवासीहरुको चिन्ता छैन भन्ने होइन।

पछिल्लो वर्षहरुमा अमेरिकी सीमामा आप्रवासीहरूको आगमनले केही विवाद निम्त्याएको छ। सन् २०१८ मा क्यानडाको दक्षिणपन्थी पिपुल्स पार्टीको उदयले २०१९ मा संघीय चुनावको लागि यो मुद्दालाई राष्ट्रिय बहस बनायो।

क्यानडाका विभिन्न क्षेत्रमा आप्रवासीलाई लिएर फरक फरक विचार छन्। सरकारले प्रत्येक वर्ष ५ लाख आप्रवासी भित्र्याउने आक्रामक नीति घोषणा गर्दा क्युबेक प्रान्तले प्रत्येक वर्ष ५० हजारभन्दा बढी आप्रवासीहरु ल्याउन नसक्ने बताएको थियो। क्युबेकमा क्यानडाको २३ प्रतिशत जनसंख्या बसोवास गर्छ। यसको मतलब क्युबेक प्रान्तले क्यानडामा आउने कुल आप्रवासीहरुको १० प्रतिशत मात्र हिस्सा दिनेछ।

सर्वेक्षणमा जनताले के भने?

अत्याधिक आप्रवासीहरुको आगमनले प्रान्तमा फ्रान्सेली भाषा कमजोर हुने कुरामा उनीहरु डराएको क्युबेकका प्रिमियर फ्रान्कोइस लेगले बताएका छन्। भने, ‘पचास हजार आप्रवासी ल्याउनु अघि नै फ्रान्सेली भाषाको पतन रोक्न गाह्रो छ।’

क्यानडामा आप्रवासीहरुको व्यवस्थापनका लागि प्रचुर सम्भावना रहे पनि धेरै प्रान्तमा ठाउँको अभाव हुने देखिन्छ। टोरन्टो र भ्यानकुभर जस्ता ठूला शहरहरूमा सस्तो निवास आवासको समस्या छ। यी शहरमा देशको १० प्रतिशत जनसंख्या बस्छन्।

लेजर एण्ड एसोशिएसन अफ क्यानियनको अध्ययनअनुसार १ हजार ५३७ जनामा गरिएको सर्वेक्षणमा तीन-चौथाईले उनीहरू आवास र सार्वजनिक सेवाहरूमा नयाँ योजनाको प्रभावको बारेमा चिन्तित छन्। ४९ प्रतिशत मानिसहरुले भने आप्रवासी भित्र्याउने लक्ष्य उच्च रहेको बताएका छन्। तर, ३१ प्रतिशतले भने यो योजना ठिक नै भएको बताएका छन्।

क्यानडाले ती आप्रवासीहरुलाई बढी महत्व दिइरहेका छन् जसले उसको देशको अर्थ व्यवस्थालाई सुधार गर्न योगदान दिनसक्छन्। सन् २०२५ सम्ममा यो संख्या ६० प्रतिशत पुर्‍याउने क्यानेडा सरकारको आशा छ। अष्ट्रेलिया र न्युजिल्याण्डमा पनि यो प्रणाली छ।

बेलायतमा एक चौथाइ स्थायी बासिन्दा मात्र आर्थिक आप्रवासन नीति मार्फत लिइन्छ। अमेरिकामा आर्थिक आधारमा मात्र २० प्रतिशत 'ग्रीनकार्ड' जारी गरिन्छ। दुवै देशले पनि आर्थिक आधारमा आप्रवासी बढाउने संकेत दिएका छन्। तर, आर्थिक आधारमा आउने आप्रवासीहरूलाई आफ्ना रोजगारदाताहरूद्वारा प्रायोजित हुनुपर्नेछ।

क्यानडाले अरु ठूला देशले भन्दा शरणार्थी पुनर्वास योजना अन्तर्गत पनि ठूलो संख्यामा आप्रवासी भित्र्याउने गरेको छ। सन् २०२१ मा क्यानडाले ५९ शरणार्थीहरुलाई पुनर्वास गराउने योजना राखेको थियो। तर, क्यानडाले एक तिहाई आप्रवासीलाई मात्र ल्याउन सक्यो। क्यानडाले कोरोना भाइरस संक्रमणका कारण यो अवस्था सिर्जना भएको जनएको छ। त्यसैले, सन् २०२३ सम्ममा क्यानडाले ७६ हजार शरणार्थीलाई पुनर्वासमा सहयोग गर्ने लक्ष्य लिएको छ।

बीबीसी हिन्दीबाट अनुवाद गरिएको सामाग्री।