सुनको मूल्य ६ महिनापछि फेरि तोलाको एक लाख रुपैयाँनजिक, चाँदी पनि लगातार उकालो

बिजमाण्डू
२०७९ मंसिर १८ गते ११:३३ | Dec 4, 2022
सुनको मूल्य ६ महिनापछि फेरि तोलाको एक लाख रुपैयाँनजिक, चाँदी पनि लगातार उकालो

काठमाडौं। सुनको कारोबार बढिरहेको सिजनमै मूल्य प्रतितोला एक लाखनजिक पुगेको छ। ६ महिनापछि फेरि मूल्य उच्च भएको हो। 

Tata
GBIME
Nepal Life

आइतबारका लागि कारोबार मूल्य ९९ हजार ५ सय रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्य बलियो हुँदा नेपालमा त्यसको असर परेको हो।

गत वैशाखमा कारोबार मूल्य तोलाको लाख नाघेको थियो। वैशाख ५ गते तोलाको १ लाख २ हजार ५ सयसम्म पुगेको मूल्य क्रमिक घटेको थियो। घटबढ भइरहँदा कारोबार मूल्य ९९ हजार २ सयबाट माथि उक्लिएको थिएन। 

गत शुक्रबारका तुलनामा सुनको मूल्यमा तोलामा ४ सयको बढोत्तरी भए पनि गत साताको सुरुका तुलनामा १ हजार ७ सय रुपैयाँ बढेको हो। चालु महिना सुनको मूल्य तोलाको ९६ हजार ८ सयभन्दा घटेको छैन। सुरुवातमा ९८ हजार रुपैयाँ थियो। गत साताबाट मूल्य क्रमिक उकालो लागेको छ।

आइतबार चाँदी १३ सय ७० रुपैयाँ प्रतितोला छ। गत शुक्रबारका तुलनामा तोलामा २५ रुपैयाँ बढेको हो। यो महिना चाँदी तोलामा ८५ रुपैयाँ बढिसकेको छ।

अन्तर्राष्ट्रिय बजारमा गत शुक्रबार प्रतिऔंस १७७९.७९ डलर रहेको सुनको मूल्य बलियो हुँदै आइतबार प्रतिऔंस १७९८.०३ डलर पुगेको छ।

चाँदी पनि प्रतिऔंस २२.६७ डलरबाट बढेर २३.१६ डलर पुगेको छ।