चितवनमा वर्षे धान उत्पादन बढ्यो, ब्लक कार्यक्रम र वैकल्पिक मलखादले बढायो उत्पादन

रासस
२०७९ मंसिर १८ गते १४:४२ | Dec 4, 2022

काठमाडौं। चितवन वर्षे धानको उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लामा यो वर्ष उत्पादन ११ हजार ४ सय ८६ मेट्रिक टन वृद्धि भएको हो ।

Tata
GBIME
Nepal Life

यस वर्ष २२ हजार ९ सय ७२ हेक्टर क्षेत्रफलमा ९६ हजार ४ सय ८२ मेट्रिक टन धान उत्पादन भएको केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा सोही क्षेत्रफलमा ८४ हजार ९ सय ९६ मेट्रिक टन धान उत्पादन भएको थियो।

गत आवमा प्रतिहेक्टर ३.७ मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष उत्पादन बढेर ४.२ मेट्रिक टन पुगेको छ। आव २०७७/७८ मा ३.७९ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो।

रोगहरूको प्रकोपमा कमी, कृषकमा व्यवस्थापन र सचेतनाका कारण उत्पादन बढेको केन्द्रले जनाएको छ। उनका अनुसार धान ब्लक कार्यक्रम र कृषकले रासायनिक मलको अभावमा पनि वैकल्पिक माध्यमबाट मलखाद व्यवस्थापन गरेकाले पनि उत्पादन बढेको हो।

जिल्लाका सबै स्थानमा धानखेती हुने भए पनि पूर्वी चितवन, पश्चिम चितवन र माडीलाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ। चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरामसिना जस्ता जातका धान लगाइने गरिन्छ ।