तीन कोरियनका साथबाट एयरपोर्टमा सवा करोडको फोन बरामद, आइफोन-१४ प्लस नै ६१ वटा

बिजमाण्डू
२०७९ मंसिर १९ गते ०९:११ | Dec 5, 2022
तीन कोरियनका साथबाट एयरपोर्टमा सवा करोडको फोन बरामद, आइफोन-१४ प्लस नै ६१ वटा

काठमाडौं। नेपाल आएका तीन कोरियाली नागरिकका साथबाट अनधिकृतरूपमा ल्याएको महँगा मोबाइल बरामद भएको छ।

Tata
GBIME
Nepal Life

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार चेकजाँचका क्रममा ६१ थान आईफोन र चार थान सामसङ मोबाइल नियन्त्रणमा लिएको हो।

उनीहरु आइतबार कोरियन एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका हुन्। उनीहरुका लगेज भन्सारको एक्सरेमा चेकजाँच गर्दा मोबाइल भेटिएको हो।

तीन वटा लगेजमा आइफोन-१३ र १४ प्रो-म्याक्स ६१ वटा, चार्जर ८० वटा र सामसङ मोबाइल चार थान भेटिएको हो। यो १ करोड १५ लाख रुपैयाँ बराबरको रहेको भन्सारले जनाएको छ। 

उनीहरु नेपालमा गल्फ खेल्नका लागि आएको बुझिएको भन्सार कार्यालयका एक कर्मचारीले बताए। उनीहरुका लगेजमा गल्फ खेलमा प्रयोग गरिने सामाग्री पनि छन्।

ती कर्मचारीले भने 'हाम्रो कानुनले व्यक्ति पक्राउ गर्ने भन्ने बारे स्पष्ट तोकेको छैन, त्यसैले अनधिकृतरूपमा सामान ल्याउनु गैरकानुनी भएको भनी पत्र दिसकेका छौं।' 

मोबाइल कारोबारका लागि उनीहरुले कुनै तस्करहरुसँग सेटिङ गरेको अनुमान छ। यसबारे जाँच भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सरकारले आयातमा बन्देज गरेका वस्तुमा महँगा मोबाइल पनि छ। आयातमा प्रतिबन्ध रहँदा महँगा मोबाइल चोरी पैठारीमा वृद्धि भएको छ। भन्सार कार्यालयले चेकजाँचलाई कडाइका साथ अघि बढाइएको जनाएको छ।