ब्राण्ड सूत्र १ : ब्राण्डिङ र विज्ञापन एउटै हो त ? उजय शाक्यको विचार

बिजमाण्डू
२०७९ मंसिर १९ गते १६:३३ | Dec 5, 2022
ब्राण्ड सूत्र १ : ब्राण्डिङ र विज्ञापन एउटै हो त ? उजय शाक्यको विचार



विज्ञापन र ब्राण्डिङ फरक कुरा हो भनेर बुझाउने कार्य सधैं चुनौतीपूर्ण रहेको छ। विज्ञापन भनेको ब्राण्डिङ होइन भनेर विश्वस्त गराउनु नै  कठिन काम हो। नेपालको अर्थतन्त्र ट्रेडिङ बेस्ड रहेकाले नै ब्राण्डिङ र विज्ञापन दुवैले एकै किसिमको भाव बोक्छ भन्ने धारणा बनिसकेको छ। अधिकांश विज्ञापनदाताहरु ले के मान्दछन् भने स्पष्ट रुपमा लोगो देखिनु नै ब्राण्डिङ हो। 

Tata
GBIME
Nepal Life

विगत २२ वर्षदेखि विज्ञापनको क्षेत्रमा काम गरिरहेको अनुभवका आधारमा म के भन्छु भने व्यापार व्यवसायलाई भावी दिनमा अझ सशक्त बनाउका लागि एउटै उद्देश्यका साथ नै यी दुवै क्रियाकलापहरुलाई अघि बढाउनुपर्ने हुन्छ। तर यी दुईबीच वास्तवमै भिन्नता छ भनेर विज्ञापनदातालाई सहमत गराउनु कठिन युद्ध जितेसरह नै हो। हरेक वस्तु र सेवा आफैंमा एउटा ब्राण्ड हो र त्यसलाई सोही अनुरुप व्यवहार गर्नुपर्दछ। 

यो कुरा विज्ञापनदातालाई सम्झाउन सधैं अथक प्रयास गरिरहनुपर्छ। दुवैको अस्तित्व समान छ तापनि दुवैबीच भएको भिन्नताको महत्त्व बुझ्न जरुरी छ ताकि तिनको प्रयोग बल गुणकको रुपमा गर्न सकियोस्। यो एकप्रकारको ‘कुखुरा पहिले कि अण्डा’ भन्ने विवाद जस्तै हो, तर धेरैजसो अवस्थाहरुमा यदि ब्राण्डको रणनीतिक योजना पहिले नै कोरियो भने त्यसको प्रचार अभियान ज्यादै प्रभावकारी हुन पुग्दछ।

विज्ञापनका लागि सिधा र तहगत दुवै किसिमका रणनीतिहरु अर्थात ट्याक्टिसको संयुक्त रूपमा प्रयोग गरिन्छ। विज्ञापनका लागि टेलिभिजन, अनलाइन, रेडियो, प्रिन्ट तथा आउटडोर जस्ता माध्यमहरु धेरैनै प्रचलनमा छ। विज्ञापनको शक्ति उसले कति जनसंख्यासम्म आफ्नो पहुँच राख्न सक्छ भन्ने क्षमताको आधारमा मापन हुन्छ। अधिकांश रुपमा विज्ञापनहरु सधैं एउटा अभियानमा लक्षित हुन्छन् जसले ग्राहकहरुको किनमेलको बानीलाई समेत प्रतिबिम्बित गर्छ।

त्यसो भए ब्राण्ड के हो त ?
यो भनेको बिक्री गरिने वस्तु सेवालाई विज्ञापनको केही स्वरुपहरुमा सिर्जना गरिएको र यो उत्पादन वा सेवाद्वारा प्रदत्त एक अनुभवको प्रभाव पनि हो भन्ने धारणा मानिसहरुमा रहेको पाइन्छ। एउटा विशेष ब्राण्डको ब्राण्डिङ अवधारणाको पहिचान देहायका प्रमुख तत्वहरुद्वारा गर्न सकिन्छ जस्तै अद्धितीय नाम, लोगो वा दृश्यात्मक परिचय हो। 

कुनै पनि ब्राण्डको प्रयोग व्यापार व्यवसायमा अरु वस्तुहरु वा सेवाहरुबाट पृथक राख्नको लागि गर्ने गरिन्छ र यसले उपभोक्ताको मस्तिष्कमा एकप्रकारको छाप छोडिदिन्छ, जसले गर्दा उनीहरु त्यस ब्राण्ड प्रति जागरुक हुने, त्यसलाई प्राथमिकतामा राख्ने र अन्ततः खरिद गर्ने अवस्थामा पुग्दछन्।

विज्ञापन भनेको कुनै डिस्कोटेकमा एक किशोरले किशोरीलाई 'आइ एम अ कुल ड्‍युड’ भनेर देखाउनका लागि गर्ने प्रयत्न हो भने ब्राण्डिङ भनेको चाहिँ कुल व्यवहार देखाउने जस्तै हो। विश्वप्रसिद्ध ब्राण्डहरुले विज्ञापनको माध्यमबाट आफ्नो ब्राण्डको अद्धितीय प्रभाव सिर्जना गर्न सक्षम हुन्छन्।

सँगसँगै उनीहरुले आफ्नो उत्पादन मात्र नभई आफ्ना स्टोर, प्रयोगकर्ताका अनुभव र विभिन्न कार्यहरुमा ब्राण्डको संलग्नताबाट आफ्नो पहिचानलाई उच्च बनाइरहेका हुन्छन्। सर्वसाधारणले ब्राण्ड प्रतिको धारणा कस्तो बनाउँछन् भन्ने बारे उनीहरु अत्यन्तै सचेत भएर नै यी कार्यहरुमा संलग्न हुने गर्छन्।

खासमा ब्राण्ड बनाउन समग्र अवधारणाको प्रयोग हुने गर्छ। यसका लागि वस्तु वा सेवा लक्षित भएर मात्र पुग्दैन। ग्राहक सेवा, स्टेसनरी, वेबसाइट डिजाइनदेखि टेलिफोनबाट कसरी ग्राहकसँग कुराकानी गर्ने र ग्राहकका गुनासो तथा समस्याको कसरी समाधान गर्ने सम्ममा कार्यहरु असाध्यै महत्त्वका साथ समावेश भएका हुन्छन्। 

यी सबै तत्वहरु समावेश नगरी कसैले ब्राण्ड बनाउने प्रयास गर्छ भने त्यसको परिणामले अन्योल मात्र सिर्जना गर्छ। ब्राण्डका सन्दर्भमा कम्पनीहरुले गर्ने अर्को गल्ती भनेको उनीहरुले यो वास्तविकतालाई बिर्सन्छन् कि ब्राण्डिङ भनेको निरन्तर चलिरहने प्रक्रिया हो। यसका लागि समय, प्रयास र प्रतिबद्धताको खाँचो पर्छ। ब्राण्ड बनाउन केही चमकधमकका दुई/चारवटा विज्ञापनले मात्र काम गर्दैन भन्ने कुरा नबुझ्दा परिणाम उनीहरुको पक्षमा पर्दैन। 

ब्राण्डिङ त निरन्तरको प्रयास र प्रतिबद्धता हो भन्ने बुझेर नै काम गर्नुपर्ने हुन्छ। कम्पनीले यो अवधारणामा निरन्तर प्रतिबद्ध भएर लागिरहनुपर्छ। ब्राण्ड भनेको सामान्य स्लोगन वा नारा मात्र पक्कै पनि होइन। यो त सम्बन्धित पक्षलाई उक्त कम्पनीको वस्तु तथा सेवासँग जोडिन महसुस गराउने बृहत् लक्ष्य हो। 

सबैभन्दा सफल र बलिया ब्राण्डहरु पनि यसै बनेका होइनन्। उनीहरुले आफ्नो ब्राण्डलाई स्पष्ट र सहज रुपमा उपभोक्तासम्म पुग्नेगरी नै तयार पार्नमा वर्षौंको मेहनत र निरन्तर प्रयास खर्च गरेका छन्। 

हामीले प्राय: आफ्ना विज्ञापनदाताहरुलाई सोध्ने प्रश्न हो – के तपाई आफ्नो ब्राण्डलाई बुझ्नुहुन्छ ? आफ्नो ब्राण्डप्रति विश्वश्त हुनुहुन्छ ?

जबसम्म यो प्रश्नको सकारात्मक उत्तर आउँदैन तबसम्म विज्ञापनले ब्राण्डमा खासै ठूलो परिवर्तन ल्याउन सक्दैन।