कोशी अस्पतालको नयाँ अत्याधुनिक भवन बनाउन २ अर्ब १७ करोडमा ठेक्का, ३ वर्षसम्ममा तयार हुने

बिजमाण्डू
२०७९ मंसिर २१ गते ०९:५२ | Dec 7, 2022
कोशी अस्पतालको नयाँ अत्याधुनिक भवन बनाउन २ अर्ब १७ करोडमा ठेक्का, ३ वर्षसम्ममा तयार हुने

काठमाडौं। कोशी अस्पतालको अत्याधुनिक भवन निर्माण २ अर्ब १७ करोड रुपैयाँमा ठेक्का लागेको छ।

Tata
GBIME
Nepal Life

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइ मोरङले अस्पतालको गुरुयोजनामा पर्ने १० तले  भवन निर्माणका लागि बुधबार ठेक्का लगाएको हो। इकाईले यसका लागि गत असार ८ गते बोलपत्र आह्‍वान गरेको थियो।

विराटनगरको कोशी अस्पतालको पूर्वाधार तथा स्वास्थ्य सेवा सुविधाको दीर्घकालिन स्तरोन्नतिका लागि तयार पारिएको गुरुयोजनाअन्तर्गत यो भवन निर्माण गर्न लागिएको हो।

हालको पूर्वाधारले बिरामीको चाप थेग्न नसकिरहेकाले अस्पतालको स्वास्थ्य सेवाको दीर्घकालीन गुणस्तरीय हल हुने गरी गुरुयोजना अनुरुप पूर्वाधार विकासको काम अघि बढाइएको अस्पताल स्रोतले जानकारी दिएको छ।

बुधबार ठेक्का लगाइएको बेसमेन्टसहित १० तलाको हुने मेडिकल भवन निर्माणको अनुमानित लागत २ अर्ब ५८ करोड रुपैयाँ थियो। तर ठेक्कामा आवेदक निर्माण कम्पनीबाट सबैभन्दा कम केसी कन्स्ट्रक्सनले २ अर्ब १७ करोड रुपैयाँ कबोल गरेकाले ठेक्का पाएको हो। निर्माण कम्पनीले सम्झौता भएको मितिबाट ३६ महिनामा भवन तयार पारिसक्नु पर्नेछ।

अस्पतालले नयाँ भवनमा न्युरोलोजी, कार्डियोलोजी, आईसीयु, इमर्जेन्सी लगायत विशिष्टीकृत सेवाहरू समेत उपलब्ध गराउने योजना बनाएको छ। यो गुरुयोजनाको क्षेत्रफल २९ हजार ६१० स्क्वायर मिटर अर्थात ५८ रोपनी छ।

संघीय आयोजना कार्यान्वयन इकाई मोरङका सिनियर इन्जिनियर अशोककुमार रामका अनुसार अब यो भवन निर्माण गर्न २ अर्ब १७ करोडमा तयार हुनेछ।

यस्तो हुनेछ नयाँ मेडिकल भवन

इन्जिनियर रामका अनुसार, मंगलबार बोलपत्र खुलाइएको १० तले आधुनिक भवन आरसीसी प्रविधिमा निर्माण गरिनेछ। जसको मुख्य भवनमा दुईवटा बेसमेन्ट, ग्राउन्ड फ्लोर र ७ तला स्वास्थ्य सेवाका लागि हुने गरी भवन निर्माण गरिनेछ। र्‍याम्प ब्लक र मर्क्युरी ब्लकको पनि निर्माण हुने बताइएको छ।

यसमा प्रतिघन्टा १० हजार लिटर क्षमताको वाटर ट्रिटमेन्ट प्लान्ट पनि रहनेछ। यसका लागि निर्माण कम्पनीले डिजाइन, सप्लाइ, डेलिभरी तथा इन्स्टलमेन्टका कामहरु गर्नुपर्नेछ। साथै यसमा पानीको फिल्टरदेखि सबै कुराहरु गुणस्तरयुक्त बनाउनुपर्ने छ।

पहुँचमार्गको लागि सडक पनि निर्माण गरिने पनि उनले बताए। सडक कालोपत्रे सहित फुटपाथ र ड्रेन पनि निर्माण गरिनेछ। ग्राउन्ड फ्लोरको क्षेत्रफल ३ हजार ५३० स्क्वायर मिटर रहने छ।

सबैभन्दा तल्लो बेसमेन्टमा पार्किङको व्यवस्था हुनेछ भने भवनको वरिपरि हरियालीयुक्त बगैंचा निर्माण हुनेछ। मुख्य भवनबाहेक अरु साना भवनहरु पनि यस योजनाअन्तर्गत निर्माण हुनेछन्। साथै, ढल निकासका लागि छुटै ड्रेन बनाइनेछ। भवनभित्र चिल्ड्रेन वार्ड, ओपीडी वार्ड, संक्रमण रोग वार्ड, प्रसूति गृह लगायतका वार्डहरु हुने बताइएको छ।