भारतको मीरगंज पुल अस्थायी रुपमा संचालन, यही महिना नितीन गडकरीले उद्घाटन गर्ने

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७९ मंसिर २१ गते १५:२१ | Dec 7, 2022
भारतको मीरगंज पुल अस्थायी रुपमा संचालन, यही महिना नितीन गडकरीले उद्घाटन गर्ने

विराटनगर। सीमावर्ती भारतीय बजार जोगबनीदेखि ४ किलोमिटर दक्षिणमा पर्ने मीरगञ्ज खोलामा बनेको नयाँ पुल बुधबारदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ।

Tata
GBIME
Nepal Life

मीरगञ्जको पुरानो पुल क्षतिग्रस्त भएको ११ महिनापछि नयाँ पुल सञ्चालनमा आएको हो। पुरानो पुल २०७८ पुस २२ गते क्षतिग्रस्त भएको थियो।

नयाँ पुललाई अनौपचारिक रूपमा सञ्चालनमा ल्याउन भारतका सरकारी अधिकारी र मोरङ व्यापार संघका पदाधिकारी बिच मंगलबार छलफल भएको थियो। संघका सचिव अनिल शारडाका अनुसार जोगबनीको आईसीपी ल्यान्ड पोटर्स अथोरिटी अफ इन्डियाका प्रबन्धक रत्नाकर यादव, एसडीएम एस कुमार, नेशनल हाईवे अथोरिटी अफ इन्डियाका उमेश यादव र भारतीय जनता पार्टीका नेता दिलीप झासँग संघको प्रतिनिधिमण्डलले भेटेको हो।

सचिव शारडाले द्विपक्षीय छलफलमा नवनिर्मित पुललाई तत्काल अस्थायी रूपमै भएपनि सञ्चालनमा ल्याउन सहमति भएको बताए। शारडाले यही डिसेम्बर महिनाभित्र भारतका केन्द्रीय सडक तथा पारवहनमन्त्री नितीन गडकरीले नयाँ पुल उदघाटन गरेपछि औपचारिक रूपमा संचालनमा आउने बताए।

पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउन केही प्रक्रियागत कार्यहरू बाँकीरहेकाले पुलको आधिकारिक उद्घाटन हुन नसकेको हो। संघका प्रवक्ता विनीत सिङ्घानियाँले नेपालका व्यवसायीले आयात–निर्यात प्रयोजनले प्रयोग गरेका मालवाहक सवारी साधनलाई पुलमा पार्किङ गर्न नपाइने र पार्किङ नै गर्नुपरे पुलदेखि पूर्वको भागमा वा आइसिपीमा पार्किङ गर्नुपर्ने सहमति भएको उल्लेख गरे।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माले गत पुस २२ पछि विराटनगर नाकाबाट हुने आयातनिर्यात सुनसरीको भीमनगर नाकाहुँदै रिरुट गरेर ल्याउनु परेको जानकारी दिए।