देशको जीडीपी बढाउन उड्डयन उद्योगमा लगानी गर्न सरकारको जोड, ‘उड्डयन अर्थतन्त्रको इन्जिन हो’

बिजमाण्डू
२०७९ मंसिर २१ गते १८:१२ | Dec 7, 2022
देशको जीडीपी बढाउन उड्डयन उद्योगमा लगानी गर्न सरकारको जोड, ‘उड्डयन अर्थतन्त्रको इन्जिन हो’


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) वृद्धि गर्न उड्डयन उद्योगमा लगानी गर्न आवश्यक रहेको जनाएको छ। बुधबार आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले समग्र क्षेत्रमा पर्यटकीय गतिविधि र यातायातका लागि उड्डयन उद्योगको महत्वपूर्ण भूमिका रहेको बताए।

Tata
GBIME
Nepal Life

प्रविधि प्रयोग विस्तारलाई जोड दिँदै आएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको प्रावधान अनुसार मुलुकको उड्डयन क्षेत्र विस्तार गर्दै लग्न आवश्यक रहेको उनले बताए। 'प्रविधिले संसार एकीकृत भइसकेको छ। अझै उड्डयन क्षेत्रले यसमा थप टेवा पुर्‍याएको छ। यो प्रतिस्पर्धात्मक युग हो। प्रविधि विस्तारसँगै अगाडि बढ्न आवश्यक छ,' मन्त्री श्रेष्ठले भने,'कानूनी, प्राविधिक, आचरण लगायत समग्र कुरामा गम्भीर भएर सोच्न आवश्यक छ।'

मुलुकमा एयर कनेक्टिभिटी जत्तिको उपयोगी यातायात अरु नभएको उनले दाबी गरे। मुलुकको सबै जिल्लामा आउजाउ गर्ने उचित माध्यम हवाई सञ्जाल रहेको र यसलाई थप विस्तार गर्न आवश्यक रहेको उनले जानकारी दिए।

उड्डयन यातायात नै आर्थिक वृद्धिदरको आधार रहेको र यो क्षेत्रलाई भरपर्दो साधनको रुपमा विकास गर्न सरकारले पर्याप्त लगानी गर्न आवश्यक रहेको उनले बताए।

वर्तमान अवस्थामा हाल लागू हुँदै आएको हवाईका कारण मुलुकको उड्डयन क्षेत्र उचित रुपमा अगाडी बढ्न नसकेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए। यसका लागि हवाई नीति बनाउँदा भुतपूर्व महानिर्देशक, सचिवभन्दा पनि जुझारु व्यक्तित्व आबद्ध गराउन आवश्यक रहेको उनले जानकारी दिए।

पर्यटनको योगदान १० प्रतिशत पुर्‍याउन अहिलेको नीतिले उपयुक्त नहुने उनले बताए।

'सडक भन्दा महत्वपूर्ण भइसकेको छ हवाई यातायात। यसलाइ विस्तार गर्न सकिएन भने नेपालको अर्थतन्त्र मजबुत हुन गाह्रो छ। नेपाल जस्तो भौगोलिक संरचना भएको मुलुकमा उड्डयन क्षेत्रले महत्वपूर्ण भुमिका खेल्दै आएको छ। सन् २००७ मा २.३ अहिले १.५ जिडिपी छ। उड्डयन क्षेत्रले पर्यटन क्षेत्र मात्र नभइ सबै क्षेत्रलाई छोएको छ। पर्यटनमा मात्र जोडेर हुँदैन। उड्डयन क्षेत्र अर्थतन्त्रको इन्जिन हो,' महानिर्देशक अधिकारीले भने।