अमेरिकी प्रतिबन्धले इरानी कम्पनीको खाता रोकियो, एक वर्षपछि उत्तरगंगाको ठेक्का रोकियो

बिजमाण्डू
२०७९ मंसिर २२ गते १३:२५ | Dec 8, 2022
अमेरिकी प्रतिबन्धले इरानी कम्पनीको खाता रोकियो, एक वर्षपछि उत्तरगंगाको ठेक्का रोकियो


काठमाडौं। उत्तरगंगा पावर कम्पनी लिमिटेडले इरानी कम्पनी महब गोड्स कन्सल्टिङ इन्जिनियरिङ कम्पनीसँग सम्झौता रद्द गरेको छ।कम्पनीले उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाको जिम्मा लिएर कामै गर्न नसकेपछि सम्झौता रद्द गरिएको हो।

Tata
GBIME
Nepal Life

डेढ वर्षमा पुरा गर्नुपर्ने गरी २०२१ अगष्ट १२ मा सम्झौता भएको थियो। तर कम्पनीले एक वर्षसम्म पनि काम अघि बढाउन नसकेपछि ठेक्का रद्द गरिएको आयोजना प्रमुख अम्बिकेश झाले बताए। उनका अनुसार सम्झौता अनुसारको काम गर्न नभएपछि कम्पनीलाई पटक पटक ताकेता गरिएको थियो।

कम्पनीलाई सम्भाव्यता अध्ययन रिभ्यु, विस्तृत अध्ययन, डिजाइन, बिडिङ डकुमेन्ट सहितको प्याकेज बनाएर ठेक्का दिइएको थियो।  करिब ६१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो।

यो कम्पनी अमेरिकी प्रतिबन्ध सूची (सेन्स्याक्सन)मा परेको छ। सम्पत्ति शुद्धीकरणको विषयमा २०१८ मा प्रतिबन्ध सूचीमा परेको थियो। सोही कारण कम्पनीले नेपाल बैंक लिमिटेडमा खोलेको खाता फ्रिज गरिएको हो। बैक खाता नै चलाउन नपाउने भएपछि कम्पनीले नेपालमा कार्यालय नै राख्न सकेन।

सम्पत्ति शुद्धिकरण निवारण ऐन अनुसार बैंकले खाता रोक्का गरेको हो। 'बैक खातामा नै समस्या आयो। खाता नै चलाउन नपाएपछि काम गर्न सक्ने सम्भावना नै भएन,' आयोजना प्रमुख झाले भने,' बैंक खाताको बिषय भएकाले भविष्यमा पनि काम गर्न सक्ने अवस्था भएन। त्यसैले एक बर्षपछि ठेक्का रद्द गर्नुपरेको हो।' कम्पनीसँग भेरी बबई बहुउदेश्यीय  आयोजनाले समेत ठेक्का रद्द गरिसकेको छ। आयोजनाको परामर्शदाताको ठेक्का पाएको थियो। 

झाका अनुसार आयोजना इरानी कम्पनीलाई दिएकै कारणले ढिला भयो। थप ढिला नहोस भनेर कन्ट्याक्ट रद्द गरिएको हो।  ठेक्का रद्द सम्बन्धि ३० दिने सुचना निकालिएको छ। ठेक्का रद्द भएपछि थप निर्णय भएर आयोजनाको काम अघि बढाउने बताइएको छ। कम्पनीले अध्ययनका लागि पुन: सुचना निकाल्नेछ। 

कम्पनीले निकालेको ठेक्कामा एफ कन्सल्ट स्वीजरल्याण्ड लिमिटेड (स्विजरल्याण्ड) ,महब गोड्स कन्सल्टिङ इन्जिनियरिङ कम्पनी (इरान),  मल्टी कन्सल्ट नोर्गे एस / चाङजियाङ सर्भे प्लानिङ ,डिजाइन एण्ड रिसर्चे कम्पनी लिमिटेडको जेभी (नर्वे), नोर कन्सल्ट /कोबा कन्सुल्टर्स दि इङगेनहारिया इ एम्बिएन्टी/ डोल्सार इन्जिनियरिङ जेभी (नर्वे), ट्रयाकटेबल इन्जिनियरिङ जिएमबिएच/ट्रयाकटेबल इन्जिनियरिङ प्रालि/ट्रयाकटेबल इन्जिनियरिङ एसए (जर्मनी) र वापकोष लिमिटेड एसजेभिन लिमिटेड (भारत) गरि वटा कम्पनी छनोट भएका थिए।

प्राविधिक प्रस्तावमा छनोट भएका ६ कम्पनीसँग मागिएको आर्थिक (फाइनान्सियल) प्रस्तावमा इरानी कम्पनी छनोट भएको हो। २०१९ अप्रिल १२ मा खरिदका लागि बोलपत्र आव्हान भएको थियो। 

उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना पश्चिम बाग्लुङमा पहिचान भएको छ। यो आयोजना उत्तरगंगा नदीमा निर्माण हुनेछ। सम्भाव्यता अध्ययन अनुसार ८२८ मेगावाट क्षमताको छ। आयोजना ढोरपाटन नगरपालिका र निसी खोला गाउँपालिकामा पर्छ। आयोजनाको बुर्तिबाङ बजारबाट करिब ४० किमीमा ड्याम साइट पर्छ। 

सम्भाव्यता प्रतिवेदन अनुसार डाइभर्सन टनेल ११०० मिटर हुनेछ। आयोजनाको हेडरेस टनेल  ८५१० मिटर हुनेछ। आयोजनामा १८७५ मिटरको पेनस्टक पाइप राखिनेछ।

अण्डरग्राउण्ड पावर हाउस हुनेछ।  विद्युत उत्पादन भएपछि ४०८ मिटरको  टेलरेस टनेल निर्माण गरेर पानी पुन:नदीमा फर्काइनेछ। १२७६ मिटरको अडिट टनेल निर्माण हुनेछ।  

उत्पादित विद्युतलाई ६५ किमीको ४०० केभी डबल सर्किट प्रसारणलाइन निर्माण गरेर उत्तर गंगा हबमा जोडिनेछ। यो आयोजनाबाट बार्षिक सरदर १२९९ गिगावाट उत्पादन हुनेछ।

१ खर्ब ४४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। निर्माण थालेको ५ देखि ७ बर्ष पुरा गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ। 'यो स्टोरेजमध्येको राम्रो आयोजना हो। आरओआरको जस्तै इन्टर्नल रिटर्न रेट छ,' आयोजना प्रमुख झाले भने,'बनाउनै पर्ने आयोजना छ।'