माइतीघरमा अटोमोबाइल व्यवसायीको विरोध, राष्ट्र बैंक र सरकारविरुद्ध आक्रामक

शुक्र गिरी/बिजमाण्डू
२०७९ मंसिर २२ गते १३:३३ | Dec 8, 2022
माइतीघरमा अटोमोबाइल व्यवसायीको विरोध, राष्ट्र बैंक र सरकारविरुद्ध आक्रामक

काठमाडौं। अटो व्यवसायी सरकार र राष्ट्र बैंक विरुद्ध पहिलो पटक सडकमा उत्रिएका छन्। नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको नेतृत्वमा विहीबार माइतीघरमा सरकार र राष्ट्र बैंक विरुद्ध विभिन्न माग राखेर शान्तिपूर्ण आन्दोलन गरिएको हो।

Tata
GBIME
Nepal Life

आन्दोललनमा अटो व्यवसायमा लागेका सबै क्षेत्रका व्यवसायीहरुको उपस्थिति थियो। विरोधमा लगभग २०० जनाभन्दा धेरै व्यवसायीहरुको सहभागिता रहेको थियो। व्यवसायीहरु कालो कपडा लगाएर आएका थिए। उनीहरुले हात तथा टाउकोमा कालो पट्टी बाँधेर नाराहरु लेखिएको ब्यानर बोकेर धर्ना दिइरहेका थिए।

उनीहरुले बैंकहरुले ब्याजदर बढाएको विरोधमा अन्दोलन गरिरहेका छन्। आयात मार्जिनमा कडाई तथा जोखिम भारको विषय पनि परिमार्जन गर्नुपर्ने माग राखेका छन्।

विरोधमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठ, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ, हिरोका अभिक ज्योति, जगदम्बा मोटर्सका दीपक अग्रवाल, फोर्डका आकाश गोल्छा, नाडा अध्यक्ष ध्रुव थापा लगायतका व्यवसायीहरुको उपस्थिति थियो।

बैंकहरुले मात्र नाफा गरिरहेको र व्यवसाय भने समाप्त हुने अवस्था आएको नाडा अध्यक्ष थापाले बताए।

 राष्ट्र बैंकले पनि हायर पर्चेज कर्जाको सीमा ५० प्रतिशतमा झार्नुका साथै प्रतितपत्र मार्जिन रकम शतप्रतिशतसम्म पुर्‍याएको छ। यस्तै, कर्जाको जोखिमभार ७५ प्रतिशतबाट बढाएर १५० प्रतिशत कायम गरिएको छ। यो परिमार्जन गर्नुपर्ने व्यवसायीको माग छ। विरोधमा रिकन्डिसन महासंघ, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ लगायतको समर्थन छ।

अटो व्यवसायीहरुले यसभन्दा अघि आफ्नो सामाजिक सञ्जालमा विरोध जनाएका थिए। उनीहरुले आफ्नो शोरुम तथा गाडीहरुमा नारा टाँसेर विरोध जनाएका छन्।

प्रतिबन्धका कारण हालसम्म ५६ वटाभन्दा बढी शोरुम बन्द भएका छन् भने सयौंको रोजगारी गुमेको छ।