आन्तरिक हवाई सेवा कम्पनीबीच भाडादर निर्धारणमा मिलेमतो, सबै कम्पनीको एउटै भाडादर

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७९ मंसिर २२ गते १६:३२ | Dec 8, 2022
आन्तरिक हवाई सेवा कम्पनीबीच भाडादर निर्धारणमा मिलेमतो, सबै कम्पनीको एउटै भाडादर

काठमाडौं। बुद्ध एयरको शुक्रबार राती ७ बजेको काठमाडौं-विराटनगरको भाडादर ५ हजार रुपैयाँ छ। यती एयर र श्री एयरलाइन्सको त्यही सेड्युलको फ्लाइटको भाडादर पनि ५ हजार रुपैयाँ नै छ।

Tata
GBIME
Nepal Life

तीन वटै कम्पनीको भाडादर एउटै हुनु संयोग होइन। पछिल्लो केही समयदेखि अनलाइन प्लेटफर्ममा टिकट खोज्दा विभिन्न कम्पनीको भाडादर एउटै भेटिने गरेको छ। आन्तरिक हवाई सेवा कम्पनीले आपसी मिलेमतोमा भाडादर निर्धारण गर्न थालेकाले यस्तो अवस्था आएको हो।

नियमन निकाय कमजोर रहेको फाइदा उठाउँदै हवाई कम्पनीले पछिल्लो समयमा कार्टेलिङ गरिरहेका छन्।

अझ कोभिड संक्रमणपछि कम्पनीबीच भाडादर निर्धारणमा अघोषित सहकार्य छ। खुला बजार अर्थतन्त्रसँगै स्थापना भएका हवाई कम्पनीले कार्टेलिङ सुरु गरेर उपभोक्तामाथि नाजायज भार थपिरहेको देखिन्छ। यसमा सरकारले नदेखे जस्तै गरिरहेको छ। 'आन्तरिक हवाई कम्पनीले खुलमखुला कार्टेलिङ गरिरहेका छन्। अहिले कुनै पनि सेक्टरमा न्यूनतम भाडादर राखिदैन,' आन्तरिक हवाई कम्पनीमा कार्यरत एक कर्मचारीले भने, 'कोभिड संक्रमण कम भएपछि हवाई सेवामा सुरु भएको कार्टेलिङ अन्त्य हुने अवस्था देखिदैन।'

उनका अनुसार कोभिडका बेलामा भएको नोक्सानी उठाउने बहानामा कार्टेलिङलाई संस्थागत गर्न खोजिएको छ। 'कोभिडका बेलामा विमान कम्पनी बन्द हुँदा नोक्सानी भयो। कतिपय कम्पनीले कर्मचारी कटौती गरे भने कतिपयले तलब नै घटाए,' ती कर्मचारीले भने, 'कोभिडको बहाना बनाएर कम्पनीबीच सहमति भयो। त्यही सहमति अनुसार भाडादर निर्धारण भयो।'

उनका अनुसार नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सूक्ष्मरूपमा अनुगमन गर्ने हो भने सबै कम्पनी कारवाहीको दायरामा आउनेछन्।  उनी भन्छन् 'महँगो भाडाको बारेमा अनुगमन गर्ने भनेको प्राधिकरणले हो। प्राधिकरणको नेतृत्वलाई यतातिर ध्यान नै छैन।'

हवाई कम्पनीका प्रतिनिधि भने भाडादरमा कार्टेलिङ नभएको जिकिर गर्छन्। तर महँगो हवाई इन्धनका कारण न्युनतम भाडादर एउटै तोक्ने सहमति भएको स्वीकार गर्छन्। बुद्ध एयरका बिक्री तथा बजार निर्देशक रुपेश जोशी इन्धन महँगो भएका कारण वायुसेवा कम्पनीबीच न्यूनतम भाडादर एउटै कार्यान्वयनमा गर्ने सहमति भएको स्वीकार्छन्।

'प्रतिस्पर्धा नभएको त होइन। भद्रगोल नहोस् भनेर न्युनतम भाडादरमा सहमति भएको हो। माथिको भाडामा कुनै कार्टेल भएको छैन। इन्धन महँगो भएका कारण न्युनतम भाडामा सहमति गरिएको हो,' उनले भने। न्युनतम भाडादर भन्दा कम लागु गर्दा नोक्सानीमा गएकाले प्रमोसनल फेयर कार्यान्वयन नगरिएको उनी जिकिर गर्छन्। 

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला कम्पनीहरुले कार्टेलिङ नगरेको दाबी गर्दै न्युनतम भाडादरमा उडान गरिरहेको बताउँछन्।

'यो कार्टेलिङ होइन। कार्टेलिङ गर्‍यो भने त कालाबजारी ऐन अन्तर्गत कारवाहीमा परिहालिन्छ नि,' उनले भने,'विदेशमा जस्तै सरकारले एउटै भाडादर लागू गरिदिए सजिलो हुने थियो।' हवाई कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा भएका कारण सस्तो भाडादर कार्यान्वयन नगरेको उनले बताए। इन्धनको मूल्य नघट्दा भाडादर महँगो देखिएको उनको भनाइ छ।

श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धर सरकारले तोकेको भन्दा बढी भाडा नलिएको दाबी गर्छन्। उनले पनि प्रमोसनल फेयर लागु गर्दा नोक्सानी भएकाले हटाएको बताए।

गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले यात्रुको माग राम्रो रहेकाले हवाई कम्पनीबीच प्रतिस्पर्धा नभएको स्वीकार्छन्। 'भाडामा प्रतिस्पर्धा छैन। अहिले यात्रु माग अनुसार अधिकांश कम्पनीको भाडादरमा खासै फरक देखिएको छैन,' उनले भने।

काठमाडौं-विराटनगर मानक राख्दा यस्तो छ भाडादर

वायुसेवा कम्पीको नाम

गन्तब्य

समय

भाडादर

बुद्ध एयर

काठमाडौं-विराटनगर

बेलुकी ८:०० बजे

५०००/-

यती एयरलाइन्स

काठमाडौं-विराटनगर

बेलुकी ७:३० बजे

५०००/-

श्री एयरलाइन्स

काठमाडौं-विराटनगर

बेलुकी ७:३० बजे

५०००/-

सौर्य एयरलाइन्स

काठमाडौं-विराटनगर

विहान ९:२५ बजे

५४९५/-

बुद्ध एयर

काठमाडौं-विराटनगर

विहान ७:५० बजे

५५००/-

यती एयरलाइन्स

काठमाडौं-विराटनगर

दिउँसो १:१५ बजे

५५००/-

श्री एयरलाइन्स

काठमाडौं-विराटनगर

साँझ ५:२५ बजे

५५००/-

यती एयरलाइन्स

काठमाडौं-विराटनगर

बेलुकी ८:३० बजे

५५००/-

दुई/तीन वटै फ्लाइट मर्ज गर्दा पनि सवेरै र साँझ अबेरको सेड्युलका जहाज आधाउधि मात्रै भरिएर उड्छ। तर भाडा दर भने घट्दैन। कतिपटक जहाज १/२ जना यात्रु मात्रै लिएर पनि उडिरहेको छ। (कम्पनीहरुको मिलेमतो कतिसम्म छ भन्ने अर्को रेिपोर्टमा)