प्रतिबन्ध हटेपछि पुस १ बाटै फोन र विदेशी मदिराको एलसी खुल्ने, ‘फोन १५ दिन, मदिरा ४५ दिनमा आउँछ’

उन्नत सापकोटा/बिजमाण्डू
२०७९ मंसिर २२ गते १६:३६ | Dec 8, 2022
प्रतिबन्ध हटेपछि पुस १ बाटै फोन र विदेशी मदिराको एलसी खुल्ने, ‘फोन १५ दिन, मदिरा ४५ दिनमा आउँछ’



काठमाडौं। विदेशी मदिरा र ३ सय अमेरिकी डलर माथिको स्मार्टफोनको आयात पुस १ गतेबाट खुलाउने भएपछि व्यवसायीहरु एलसी खोल्ने तयारीमा जुटेका छन्। 

Tata
GBIME
Nepal Life

विदेशी मुद्रा सञ्चितिमा गम्भीर असर परेको भन्दै सरकारले गत वैशाखदेखि विदेशी मदिरासहित महँगा स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको थियो। सुरुमा ६ सय अमेरिकी डलर माथिको स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको सरकारले साउन १ गतेबाट थप कडाई गर्दै ३ सय डलर माथिको फोन आयात रोक्ने निर्णय गरेको थियो। 

स्मार्टफोन विलासी वस्तु नभएको भन्दै व्यवसायीहरुले स्मार्टफोन आयात रोक्ने काम वैज्ञानिक र व्यवहारिक नभएको भन्दै विरोध गर्दै आएका थिए। सँगै भारतसँगको खुला सिमानाका कारण स्मार्टफोनसँगै विदेशी मदिराको अवैध आयात बढ्ने तर्फ व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए। 

तर, सरकारले झण्डै ८ महिना व्यवसायीहरुको गुहारलाई वास्तै गरेन। फल स्वरुप बजारमा छ्याप्छ्याप्ती अवैध रुपमा भित्रिएका प्रतिबन्धित स्मार्टफोन र विदेशी मदिरा सजिलै भेटाउने अवस्था बन्यो। न सरकारले अवैध आयातलाई रोक्न त्यसको अनुगमन कडाईका साथ गर्न सक्यो बरु राजस्व मै धक्का पुग्यो। 

सरकारले ढिलै भएपनि स्मार्टफोन आयात खुलाएको प्रति खुसी हुँदै मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष एवं आइएमएस समूहका अध्यक्ष दीपक मल्होत्राले पुस १ गतेबाट प्रतिबन्ध लगाइएका स्मार्टफोन आयात गर्ने प्रक्रिया आफूहरुले सुरु गरिसकेको बताए।

हवाई माध्यमबाट आफूहरुले स्मार्टफोन आयात गर्ने भएकाले एलसी खोलेको १५ दिन भित्रै नेपाली बजारमा ३ सय डलर माथिका फोन पुर्‍याउन सक्ने मल्होत्राले जानकारी दिए। 

‘हाम्रो बजार भनेको ३ सय डलरसम्म ५० प्रतिशत हो। बाँकी ५० प्रतिशत बजार ३ सय डलर माथिको हो। बजारमा वैध माध्यमबाट फोन नआउँदा देखिएको अभाव हामी १ गतेबाटै एलसी खोलेर पूर्ति गर्ने तयारीमा लागिसकेका छौं,’ मल्होत्राले भने। 

त्यसैगरी, सरकारले रोकेको विदेशी मदिराको एलपी पनि पुस १ गतेबाटै खोल्ने तयारीमा व्यवसायीहरु लागेका छन्। विदेशी मदिरा व्यवसायी गौरव शारडा आफूहरुले एलसी खोलेको ४५ देखि ६० दिन भित्रमा नेपाली बजारमा विदेशी मदिरा ल्याइसक्ने बताउँछन्। प्रतिबन्धका कारण बजारमा वैध माध्यमबाट भित्रिने मदिराको चरम अभाव भएकाले आफूहरु सकभर अझै छिटो ल्याउने योजनासहित काम गरिरहेको उनले बताए। 

‘नेपाली बजारमा मुख्य गरी विदेशी स्कच ह्वीस्की, सिंगल मल्ट, भोड्का, वाइन धेरै माग हुने गर्छ। आयात प्रतिबन्धले यी सबै मदिराको अभाव छ। अबको केही समयमै हामी नेपाली बजारमा यसको सहज आपूर्ति गर्छौं,’ शारडाले भने। 

लामो समयदेखि बजारमा अवैध माध्यमबाट भित्रिएका विदेशी मदिराका कारण आफूहरुलाई बजार व्यवस्थापनका चुनौती थपिने शारडा स्वीकार्छन्। नेपालको तुलनामा भारतले मदिरामा कम कर लगाउने भएकाले त्यहाँ सस्तो पर्छ।

जसको फाइदा उठाउँदै सरकारले विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाउँदा देशका मुख्य सहरहरुमा अवैध मदिरा बिक्री भइरहेको भेटिएको थियो। यो जालोलाई तोड्ने सरकारले भन्सार नाकामा कडाई गर्नुका साथै अवैध आयात नियन्त्रणमा विशेष पहल गर्नुपर्ने सुझाउँछन् शारडा। 

‘आयात रोकिँदा झन् मौलाएको अवैध आयात हाम्रो लागि ठूलै टेन्सनको विषय हो। आयात प्रतिबन्ध हुनुअघि पनि ३०० देखि ४०० पेटी अवैध मदिरा काठमाडौंमै भेटिएकै हो नि। प्रतिबन्ध नलाग्दै अवस्था यस्तो थियो भने प्रतिबन्ध लाग्दा झन् कति बिकराल भएको होला। सरकारले यो विषयलाई गम्भीर रुपमा लिनुपर्छ,’ शारडाले भने। 

सम्बन्धित समाचार :

प्रतिबन्धित फोन बजारमा छ्यापछ्याप्ती, मौलायो ग्रे मार्केट, एमडीएमएस कार्यान्वयनमा निरीह एनटीए

प्रतिबन्धपछि ३ गुणाले बढ्यो मदिरा भित्र्याउन डलर खर्च, बजारभर बग्रेल्ती अवैध विदेशी रक्सी