दुई महिनाअघि थोकमै किलोको ३३३ रुपैयाँ परेको ब्रोकाउली सस्तियो, ६ महिनायताकै कम मूल्य

बिजमाण्डू
२०७९ मंसिर २३ गते ०९:१३ | Dec 9, 2022

काठमाडौं।  काठमाडौंमा दुई महिना अघि मात्रै थोक बजारमा नै प्रतिकिलो तीनसय ३३ रुपैयाँसम्म पुगेको ब्रोकाउलीको मूल्य निरन्तर झरिरहेको छ।

Tata
GBIME
Nepal Life

हाल थोक बजारमा  ब्रोकाउली प्रतिकिलो औसतमा ८५ रुपैयाँको भाउमा बिक्री भइरहेको  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। 

एक वर्ष अघि भने यो समयमा थोक बजारमा ब्रोकाउलीको मूल्य प्रतिकिलो औसत ७६ रुपैयाँ थियो। त्यसको तुलनामा हालको मूल्य सस्तिएको तथ्यांकले देखाउँदैन। गत वर्षको भन्दा यो वर्ष मूल्य करिब ११ प्रतिशतले बढेको छ। तर गत ६ महिनाको मूल्यसँग तुलना गर्दा भने हाल ब्रोकाउलीको मूल्य सस्तिएको हो। 

यस वर्ष साउनको पहिलो हप्तादेखि असोजको तेस्रो हप्तासम्म ब्रोकाउलीको भाउ आकासिएको थियो। होलसेल मूल्यमा नै ब्रोकाउलीको भाउ औसतमा १२५ रुपैयाँदेखि ३३३ सम्म पनि पुगेको थियो। असोजको अन्तिम हप्ताबाट भने केही सामान्य उतारचढावका बीच ब्रोकाउलीको मूल्य निरन्तर ओरालो लाग्ने क्रममा छ।

ब्रोकाउलीको सिजन सुरु भइसकेकाले मूल्य सस्तिएको र चितवनमा ब्रोकाउलीको सिजन सुरु भएपछि यसको मूल्य अझै सस्तिने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्। 

ब्रोकाउलीको माग र उत्पादन दुबै कम हुने भएकाले यसको मूल्य अरु तरकारी भन्दा केही महंगो हुने विनयको भनाई छ। ‘ब्रोकाउली प्राय जसो हेल्थ कन्सियस मानिसहरुले उपभोग गर्ने तरकारीमध्येमा पर्छ, जुन जमात त्यति ठूलो छैन। त्यसैले पनि यसको माग र उत्पादन दुबै नै कम हुन्छ।’

काठमाडौं, भक्तपुर, तथा काठमाडौं उपत्यकाका छिमेकी जिल्ला जस्तै काभ्रे, धादिङ, सुनसरी, मकवानपुर लगायतका क्षेत्रबाट ब्रोकाउली आउने गरेको व्यापारीहरु बताउँछन्। यस महिनामा ३० टन हारहारीमा ब्रोकाउली तरकारी बजार भित्रिएको उनले जानकारी दिए।  

खुद्रामा भने हाल उपभोक्ताहरुले ब्रोकाउली प्रतिकिलो १२० रुपैयाँदेखि १५० सम्म तिरेर खरिद गरिरहेका छन्। ब्रोकाउलीको मूल्य आकासिएको बेला उपभोक्ताहरुले किलो कै आठसय रुपैयाँसम्म पनि  तिरेका थिए।