मूल्यवृद्धि दोहोरो अंकमाथि पुग्ने प्रक्षेपणले सेयर ओरालो यात्रामा, ‘बजारले सूचक हेर्न थाल्यो’

बिजमाण्डू
२०७९ मंसिर २३ गते १२:१९ | Dec 9, 2022
मूल्यवृद्धि दोहोरो अंकमाथि पुग्ने प्रक्षेपणले सेयर ओरालो यात्रामा, ‘बजारले सूचक हेर्न थाल्यो’

काठमाडौं। ८ प्रतिशतमाथि उक्लिसकेको मूल्यवृद्धि दर (मुद्रास्फीति) वर्ष दिनभित्र १२ प्रतिशतमाथि जाने राष्ट्र बैंकको प्रक्षेपणपछि सेयर बजारमा असर देखिन थालेको छ।

Tata
GBIME
Nepal Life

मूल्यवृद्धिभन्दा माथि ब्याज दर हुनुपर्छ भन्दै राष्ट्र बैंकले मुद्रा बजारमा हस्तक्षेप गरिरहेका बेला मुद्रास्फीति ८ बाट १२ प्रतिशत नाघ्छ भन्ने प्रक्षेपणपछि लगानीकर्ताको मनोबललाई कमजोर बनाएको छ।

आगामी तीन महिनामै मुद्रास्फीति दर १० प्रतिशत पुग्ने सर्वेक्षण राष्ट्र बैंकको छ। यसअघि २०६५/६६ मा मुद्रास्फीति दर दोहोरो अंक उक्लिएको थियो। त्यतिबेला १२.६३ प्रतिशत पुगेको थियो।

गत शुक्रबार सार्वजनिक प्रक्षेपणपछि सेयर बजारको लय कमजोर हुन थालिसकेको छ। एकातिर तरलतामा सुधार, बाह्य क्षेत्र सन्तोषजनक देखिएका बेला मूल्यवृद्धि दरको प्रक्षेपणले समग्र बजारलाई प्रभावित गरेको हो। लगानीकर्ताले दोहोरो अंकको गिरावट अनुभव गर्न थालिसकेका छन्।

१९८० सम्म पुगेको सूचक पुन: टेवा खोज्दै १९०० को लाइनमा झरिसकेको छ। आर्थिक मन्दीले ‘नगद प्रवाह’ नभइरहेको बेला ब्याज दरको भारले लगानीकर्ता थप थिचिएका छन्। त्यसमाथि मूल्यवृद्धिको भारीले बजारलाई अवरोध सृजना गरेको हो। मूल्यवृद्धि माथि जाँदा ब्याज दर पनि माथि रहन्छ। यसले गर्दा लगानीको वातावरण थप बिग्रिन्छ।

बजारमा लामो समयदेखि सक्रिय रहेकाहरु नियामक तथा सरकारको नीतिगत व्यवस्थाका कारणले भन्दा पनि पछिल्लो समय समग्र सूचकांकका कारणले सेयर बजारलाई तरङ्गित गर्ने गरेको बताउँछन्।

जस्तो, सेयर धितो ऋण ४/१२ करोडको व्यवस्था संशोधन हुँदा पनि सेयर बजारले त्यसलाई सकारात्मक रुपमा लिन सकेन। बजारले बाह्य स्थायित्व र आन्तरिक अर्थतन्त्रको सुधार खोजिरहेको छ।

अर्थतन्त्र तत्काल सुध्रिहाल्ने संकेत बजारले पाएको छैन। असोजमा बाह्य क्षेत्रमा केही सुधार भए पनि सरकारले पुस १ गतेबाट प्रतिबन्धित वस्तुको आयात खुलाउने निर्णय गरिसकेको छ। यसले पुन: विदेशी मुद्राको सञ्चिति खस्किएर पुरानै अवस्थामा पुर्‍याउँछ कि भन्ने डर लगानीकर्तामा देखिएको छ।

अर्कोतिर संसारभरको अर्थतन्त्रमा मन्दीको प्रक्षेपण विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेका छन्। उनीहरुले महँगी बढ्ने प्रक्षेपण पनि गरेका छन्। यस्तोमा आयातमुखी नेपालको अर्थतन्त्र पनि प्रभावित हुने प्रक्षेपण राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नै गरेका छन्। यसलाई लगानीकर्ताले गम्भीर रुपमा लिएको बजारको पछिल्लो गतिविधिले देखाउँछ। अर्कोतर्फ निर्वाचनले महँगी बढाउने गरेको छ। आन्तरिक र बाह्य कारणले मूल्यवृद्धि माथि जाने देखिएकाले लगानीकर्ता भयभीतजस्तो देखिएका छन्।

'सेयर बजारले नीतिलाई पछ्याउन छाडिसकेको छ। बरु मुलुकको बाह्य क्षेत्रलाई लगानीकर्ताले हेर्न सुरु गरेका छन्,' नेपाल उद्योग वाणिज्य महासंघ सेयर बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेले बिजमाण्डूसँग भने।

व्यवहारिकरुपमा पनि सेयर बजारको पछिल्लो प्रदर्शनी बाह्य क्षेत्रको अवस्थामा नै निर्भर देखिने गरेको छ। नीतिगत हस्तक्षेपबाट प्रताडित सेयर बजारमा पछिल्लो समीक्षा (राष्ट्र बैंकको मौद्रिक समीक्षा) ले सुधारका आश्वासन दिँदा समेत उत्साह देखिएन। बैंकहरुको स्प्रेड दर (निक्षेपमा दिने र ऋणमा लिने ब्याजको अन्तर) नै चलाएर ब्याज घटाउने नीति राष्ट्र बैंकले लिएको छ। यसलाई पनि लगानीकर्ताले राम्रो प्रतिक्रिया दिएनन्।

बरु असोजको बाह्य क्षेत्रको तथ्यांक सार्वजनिक हुँदा सेयर बजारले हरियो रङले स्वागत गरेको थियो। करिब डेढ वर्षदेखि खल्बलिएको बाह्य क्षेत्र सन्तुलन लयमा फर्किएकाले लगानीकर्तामा 'अब लगानीको माहौल बन्दै छ है' भन्ने मनोविज्ञान विकास भएको थियो।

उत्तिनै परिमाणको वस्तु खरिद गर्न बढी पैसा तिर्नुपर्ने अवस्था, आयातमा हटेको प्रतिबन्ध र दसैंतिहारपछि भित्रिने रेमिटेन्स (जुन स्वाभाविक रुपमा कम हुने गरेको छ) का कारण अवस्था तत्काल सुधार नहुने विश्लेषण लगानीकर्ताको छ।

‘यस्तो अवस्थामा सेयर बजारबाट लगानी पलायन हुनु असामान्य होइन,’ एक विश्लेषकले भने, ‘सेयर बजारको लगानी अधिकांशको प्राथमिक (प्राइमरी) नभएको हुँदा अन्य व्यापार व्यवसायमा मान्छे जान्छन्। त्यसो हुँदा तत्कालै सुधारको संकेत देखिएको छैन। त्यसमाथि महँगीसँगै ब्याज माथि जान्छ भन्ने भाष्य स्थापित भएकाले पनि बजारलाई बढी प्रभावित गरिरहेको छ।’

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल मुद्रास्फीति दर बढ्दै गर्दा सेयर बजार लगायत अन्य क्षेत्रमा हुने लगानी पनि कम हुँदै जाने विश्लेषण गर्छन्। ‘ब्याज दर र मुद्रास्फीति एकैपटक उक्लिँदा स्वाभाविक रुपमा बजारलाई काउन्टर प्रडक्टिभ हुन्छ,’ उनले भने।

उनका अनुसार, मागलाई सन्तुलनमा राख्न ब्याजदर वृद्धि गरिन्छ। यसले समग्र मागलाई नै घटाउने हुँदा मुद्रास्फीति कम हुन्छ। तर नेपालको परिवेशमा भने ठिक उल्टो भएको छ। आन्तरिक कारणले नभइ बाह्य कारणले मूल्यवृद्धिका कारण यसको असर कम गर्न नसकिएको उनले बताए।

आन्तरिक अर्थतन्त्रको सूचकांकहरु कमजोर देखिए पनि सुधार हुन बेर नलाग्ने विश्लेषकहरु बताउँछन्। ‘निरासै भइहाल्ने खालको पनि छैन। निर्वाचनपछि गठन हुने सरकारले आन्तरिक अर्थतन्त्र सुधार गर्न गम्भीरतापूर्वक काम गरे नतिजा आइहाल्छ,’ ती विश्लेषकले भने, ‘त्यसैले मुख्य वृद्धि नियन्त्रण, तरलतामा सुधार, ब्याज वृद्धिमा नियन्त्रणका उपाय हुन सक्छन्। अहिले त्यसमा काम नहुँदा समस्या गहिरिएको हो। पक्कै नयाँ सरकारले सुधार गर्छ भन्ने आशा गर्न सकिन्छ।’