तातोपानी र रसुवा भन्सार नाकाबाट राजस्व लक्ष्य भन्दा कम, चिनियाँका कारण बढेन कन्टेनरको संख्या

बिजमाण्डू
२०७९ पुष ३ गते ०७:१४ | Dec 18, 2022
तातोपानी र रसुवा भन्सार नाकाबाट राजस्व लक्ष्य भन्दा कम, चिनियाँका कारण बढेन कन्टेनरको संख्या

काठमाडौं। उत्तरी दुई नाकाबाट मंसिर महिनासम्म लक्ष्य भन्दा कम राजस्व संकलन भएको छ। रसुवाबाट बढी र तातोपानी नाकाबाट कम राजस्व संकलन भएको हो।

Tata
GBIME
Nepal Life

रसुवा भन्सार कार्यालयमा हाल दैनिक १४ चिनियाँ कन्टेनरमा सामान भित्रिने गरेको छ। गत मंसिरमा भन्सार राजस्वको लक्ष्य ७६ करोड रुपैयाँको थियो। एक महिनामा ७४ करोड संकलन गरेको प्रमुख भन्सार अधिकृत नारायण भण्डारीले बताए।

चालु आर्थिक वर्षको मंसिरसम्म ३ अर्ब  ६५ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान थियो। जसमा २ अर्ब ९० करोड रुपैयाँ संकलन भएको उनले बताए।

उनका अनुसार केरुङ नाकाबाट तयारी पोसाक, स्याउ, ओखर र जुत्ता लगायतका वस्तुहरु भित्रिरहेको छ। आयातितमध्ये मेसिनरी सामानबाट सरकारलाई बढी राजस्व उठ्ने गरेको छ। पछिल्लो समय त्यस्ता सामान कम आउने भएकाले राजस्व असुली घटेको भन्सार कार्यालयले जनाएको छ।

त्यस्तै, तातोपानी भन्सार कार्यालयमा दैनिक ३ वटा चिनियाँ कन्टेनर भित्रिने गरेको छ। भन्सार कार्यालयका अनुसार नाकामा नियमित रुपमा सामान आयात हुने गरेको छैन।

भन्सारले चालु आर्थिक वर्षको मंसिरसम्म १ अर्ब ८१ करोड ९२ लख रुपैयाँ संकलन हुने लक्ष्य राखेको थियो। जसमा हालसम्म १ अर्ब १७ करोड रुपैयाँ २७ लाख रुपैयाँ संकलन भएको तातोपानीका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए। यो नाकाबाट सबैभन्दा बढी स्याउको आयात हुने गरेको छ। साथै रोल कपडा र मेलम्ची आयोजनाको पाइपहरु पनि आउने गरेको उनले बताए।

तातोपानी नाकामा भने पछिल्लो समय कन्टेनरको संख्या बढ्न सकेको छैन। केरुङभन्दा यो नाकाबाट सस्तो भाडामा कम समयमा सामान आयात गर्ने सक्ने भएकाले व्यवसायीहरुले कन्टेनरको संख्या बढाउन माग गरिरहेको भन्सार प्रमुख केसीले बताए।

अहिले ल्हासामा लकडाउन हटेको छ। जसले गर्दा चिनियाँ पक्षसँग कन्टेनरको संख्या तोकेअनुसार दैनिक २० गाडी बढाउने वा हालको भन्दा कम गर्नेमा आगामी साता छलफल गरिने भन्सार कार्यालयले जनाएको छ।