डिजिटल माध्यममार्फत रोजगारी सृजना गर्न साझेदारबीच सहकार्य आवश्यक रहेकोमा सरोकारवालाको जोड

बिजमाण्डू
२०७९ पुष ६ गते २१:२४ | Dec 21, 2022
डिजिटल माध्यममार्फत रोजगारी सृजना गर्न साझेदारबीच सहकार्य आवश्यक रहेकोमा सरोकारवालाको जोड

काठमाडौं। सरोकारवालाहरुले डिजिटल माध्यममार्फत थप रोजगारी सृजना गर्न सरकार, निजी क्षेत्र र विकास साझेदारहरुबीच आवश्यक सहकार्य आवश्यक रहेको औंल्याएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल इकोनोमिक फोरमले विश्व बैंकसँगको सहकार्यमा काठमाडौंमा बुधबार आयोजना गरेको नेफ टकमा बोल्दै प्यानलिस्टहरुले सहकार्य आवश्यक रहेको भन्दै सबै पक्ष यसमा गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

सञ्चार मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले सरकारले डिजिटल नेपाल फ्रेमवर्कका साथै डिजिटल नेपाल एसिलिरेसन (डीएनए) को उपयोग गरी डिजिटल साक्षरतामा आवश्यक कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएका छन्। उनले डिजिटल नेपाल कार्यान्वयनमा सबै क्षेत्रको पहुँच र समावेशिता सुनिश्चित गर्न आवश्यक साक्षरता आवश्यक रहेको भन्दै सरकारले त्यसमा लगानी गरिरहेको बताए।

‘सरकारले डिजिटल नेपालको यात्रामा सबै समुदाय चाहे गरिबिको रेखामुनी रहेका हुन् वा पिछडिएको क्षेत्र, कसैलाई पनि छुटाउन सक्दैन। त्यसैले हामीले डीएनएमार्फत डिजिटल साक्षरता अभिवृद्धिमा आवश्यक लगानी वि‍स्तार गरिरहेका छौं,’ दत्तले भने। 

त्यसैगरी, अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएड) को व्यापार र प्रतिस्पर्धा अन्तर्गत बजार प्रणाली तथा इन्टरप्राइज विकास निर्देशक कञ्चन गुरुङले आफूहरुले नेपाली बजारमा रोजगारीको माग र आपूर्तिबारे आवश्यक अध्ययन गरिरहेको बताइन्। उनले माग र आपूर्तिलाई विश्लेषण गर्दै आफूहरुले लगानी गरिरहेको जानकारी गराइन्। 

लोटस होल्डिङ्सको निर्देशक तथा सीइओ अजित शाहले नेपाली सूचना प्रविधि कम्पनीहरुले विदेशी असाइनमेन्ट तथा बिजनेसमा काम गर्न अब्बल रहेको भन्दै थप वि‍स्तारका लागि निजी क्षेत्रसँगै सरकार एकै ठाउँमा आउनुपर्नेमा जोड दिए। 

‘हामी लामो समयदेखि विदेशी संस्थाहरुका लागि सूचना प्रविधिको काम गर्दै आएका छौं। हामीलाई धेरै समस्याहरु आइपर्छन्। त्यसलाई सरकारले आवश्यक सहजीकरण गर्दै स्वदेशमै रोजगारी सृजना गर्ने तर्फ हामी सबै अग्रसर हुनुपर्छ। त्यसका लागि हाम्रो शीप र अनुभव सबैलाई काम लाग्छ,’ शाहले भने। 

वुमन लिडर्स इन टेक्नोलोजीकी सह-संस्थापक नशला जोशीले भने डिजिटल वर्ल्डमा समावेशी ढंगले सबैको प्रतिनिधित्व हुनुपर्ने बताइन्। 
कार्यक्रमको मध्यस्थता नेपाल इकोनोमिक फोरमका अध्यक्ष सुजिव शाक्यले गरेका थिए।