काठमाडौंमा दुई सडक आयोजना अलपत्र पार्ने निर्माण कम्पनीसँग ठेक्का तोडिदै, ७ दिने म्याद

बिजमाण्डू
२०७९ पुष १५ गते ०९:५० | Dec 30, 2022

काठमाडौं। पूर्वाधार विकास कार्यालय ललितपुरले दुईवटा सडक आयोजनाको काम अलपत्र पार्ने निर्माण व्यवसायीसँग ठेक्का तोड्ने तयारी थालेको छ।

Tata
GBIME
Nepal Life

विकास कार्यालय ललितपुरले शुक्रबार एक सूचना जारी गर्दै निर्माण व्यवसायीसँग ठेक्का नतोड्ने स्पष्टिकरण भए पेश गर्न ७ दिनको समय दिएको छ। यसरी माग गरिएको स्पष्टिकरण नआएमा ठेक्का सार्वजनिक खरिद सम्झौता बमोजिम तोडिने कार्यालयले बताएको छ।

कागेश्वरी मनहरा ७, ८ र ९ जगतजंगमार्ग सडक आयोजनाको काम गर्दै आएको नताशा निर्माण सेवाले २०७६ माघ १६ मा एक वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। तर हालसम्म पनि यो निर्माण कम्पनीले सडक निर्माणको काम सम्पन्न गर्न सकेको छैन।

यसैगरी अर्को गुहेश्वरी एयरपोर्ट उत्तर गोठाटार सडकको काम गरिरहेको चुलीडाँडा निर्माण सेवासँग पनि ठेक्का तोड्न लागिएको छ। यो निर्माण कम्पनीले २०७८ बैशाखमा एक वर्षमा निर्माण सक्नेगरी सम्झौता गरेको थियो। तर हालसम्म पनि उक्त निर्माण व्यवसायीले यो आयोजनाको सडक निर्माण कार्यमा तिब्रता दिएको छैन।

यी निर्माण व्यवसायीहरुले कार्यालयले निर्माण कार्य सम्पन्न गर्नका लागि यस अघि पटक पटक मौखिक निर्देशन, लिखित पत्र तथा ठेक्का अन्त्य गर्ने सम्बन्धी सूचना समेत प्रकाशित गरी आग्रह गर्दा समेत लामो समयसम्म कार्य सम्पन्न गर्ने तर्फ कुनै चासो नदेखिएकोरप्रयास नगरेको जनाकारी दिएको छ। यसैकारण उक्त निर्माण व्यवसायीहरुलाई सार्वजनिक खरिद ऐन अनुसार ठेक्का सम्झौता तोडी कार्य सम्पादन जमानत वापतको रकम जफत समेत गरिने कार्यालयले जनाएको छ।

साथै सम्झौता अन्त्य भएको कारणले सम्झौता बमोजिमको बाँकी रहेको कार्य पूरा गर्न जे जति खर्च आवश्यक पर्छ सो लगातसमेत सम्झौता बमोजिम कार्य नगर्ने निर्माण व्यवसायीहरुबाट सरकारी बाँकी सरह असुल उपर गरिने र त्यस्त निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रकृया सुरु गरिने कार्यालयको भनाइ छ।