काठमाडौं। गत शुक्रवार प्रहरीले पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित सडक खण्डबाट दुई जनालाई समात्यो। केही दिनदेखि आएको सूचनालाई केलाउँदै मधेस प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पासो थापेको थियो।
प्रहरीलाई आएको सूचना अनुसार नै केही समयको प्रतीक्षापछि दुई युवक भारतबाट प्र.२-०३-००८ प २६६९ नम्बरको मोटरसाइकलमा चढेर आए। प्रहरीले उनीहरूलाई रोकेर खानतलासी गर्न सुरु गर्यो।
वीरगंज महानगरपालिका घर भएका २७ वर्षीय मनिषकुमार साह तेली र २५ वर्षीय रञ्जनकुमार राम प्रहरीको अनुसन्धानको घेरामा परेका थिए। उनीहरू भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै थिए। मोटरसाइकलदेखि उनीहरूसँग हुनसक्ने झोला लगायत अन्य सामानहरू प्रहरी चेक गर्दै थियो।
नभन्दै प्रहरीले मनिषले लगाएको ज्याकेटको दाहिनेतर्फको भित्री खल्तीमा आन्तरिक राजस्व विभाग लिक्वर २५ अप ३७५ एमएल लेखिएको ३९ स्टिकर भएको फोटो पाना-१ फेला पार्यो। प्रहरीले स्टिकरको अनुसन्धान सुरु गर्यो। उनीहरूले बोकेर ल्याएको आन्तरिक राजस्व विभागको स्टिकर नक्कली निस्कियो।
चार दिनदेखि मनिष र रञ्जन हिरासतमा छन्। उनीहरू विरुद्ध आन्तरिक राजस्व विभागको स्टिकर ३९ वटासहित अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
‘हामीलाई केही समयदेखि नै सूचना आएको थियो। त्यसैको आधारमा हाम्रो र प्रदेश प्रहरीको टोली परिचालन गरिएको थियो। उनीहरूको साथबाट भेटिएको स्टिकर नक्कली देखियो,’ पर्साका डीएसपी दीपक गिरीले भने।
भारतमा छाप्ने, नेपालमा ल्याएर टाँस्ने !
अन्तःशुल्कको स्टिकर आन्तरिक राजस्व विभागले प्रयोग गर्छ। उत्पादन भएका सामाग्री विभागका कर्मचारीको निगरानीमा टाँस्ने गरिन्छ। नेपालमा केही समयदेखि स्टिकर सुरक्षण मुद्रण केन्द्रले छाप्दै आएको छ। जनक शिक्षा सामाग्री केन्द्रले स्टिकर छपाइको जिम्मा पाएको छ।
तर, केही वर्षदेखि देशभित्र यस्ता नक्कली स्टिकरको बिगबिगी छ। सक्कलीदेखि नक्कली स्टिकरहरू विभागको निगरानीभन्दा बाहिर किनबेच हुने गरेका छन्। त्यस्तै नक्कली छापेर टाँसिने गरेका घटना पनि बाक्लै छन्।
शुक्रवार पर्सामा प्रहरीले बरामद गरेको स्टिकर नक्कली भएको प्रहरीको प्रारम्भिक अनुसन्धान खुलेको छ। पक्राउ परेका व्यक्तिहरूले भारतबाट नक्कली स्टिकर ल्याएको देखिन्छ। उनीहरूले भारतमा छापेर नेपाल ल्याउँदै गर्दा समातिएका हुन्।
‘अहिलेसम्म हेर्दा भारतबाट छापेर ल्याएको बयान दिएका छन्। हामीले आधिकारिक बयान गर्न बाँकी नै छ,’ डीएसपी गिरीले भने।
भारतमा छाप्नुको कारण स्टिकरको गुणस्तर राम्रो हुनु र आपराधिक धन्दाको गोपनीयता काम रहनु रहेको देखिन्छ। मनिषले आफ्नै स्टोरमा प्रयोग गर्नको लागि स्टिकर ल्याएको देखिन्छ। मनिषले पर्साको त्रिशूल चोकमा मनिष लिकर इन्टरप्राइजेज नामको व्यवसाय गर्दै आएको खुलेको छ।
उनले आफ्नो व्यवसायमा भएका रक्सीहरूमा टाँस्न स्टिकर ल्याएको बताएका छन्। तर, भारतमा एउटा स्टिकरको मूल्य कति पर्ने भन्ने अहिलेसम्म खुलाएका छैनन्।
‘बोल्दै बोल्दैनन्। अहिले थोरै परिमाणमा मात्र फेला परेको हो। तर, यसरी नै अरु पनि भित्रियो कि भन्ने पनि छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।
पक्राउ परेका उनीहरूले आफूले पहिलो पटक स्टिकर ल्याएको बताएका छन्। पहिलो पटक नमुनाका रूपमा ल्याएको राम्रो र काम गरेको खण्डमा अरु मगाउने योजना भएको अनुसन्धानका क्रममा उनीहरूले बयान दिएका छन्।
थोरै परिमाणमा भेटिएकाले स्याम्पल पिस पनि हुनसक्ने प्रहरीको अनुसन्धानले खेलेको छ। तर, प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको डीएसपी गिरीले बताए।
पछिल्लो समय मदिराका बोतलमा आन्तरिक राजस्व विभागको नक्कली स्टिकर प्रयोग भएको खुल्दै आएको छ। गत भदौमा पनि काठमाडौंबाट प्रहरीले नक्कली स्टिकरसहित केही मानिसलाई नियन्त्रणमा लिएको थियो।
दोलखाको कालिन्चोक गाउँपालिकाका हरि वली र भीमेश्वर नगरपालिकाका भगवान बस्नेत तथा कालिन्चोकका विशाल वली, काठमाडौं मुलपानी बस्ने मनोज खत्री र ठमेल बस्ने गोपी श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले कोटेश्वरबाट पक्राउ परेका हरि वलीको कोठाबाट आन्तरिक राजस्व विभाग (लिक्वर) लेखिएको स्टिकर ९२ वटा फेला पारेको थियो। काठमाडौंका केही नाइट क्लब, दोहोरी साँझलगायत ठाउँमा नक्कली रक्सी स्टिकर प्रयोग गर्ने गरेको खुलेको थियो।
उनीहरूले ब्रान्ड मदिराको बोतलमा सस्तो मदिरा मिसाएर बिक्री गर्ने गरेको खुलेको थियो। त्यस्तै मनिषको पनि रक्सीको व्यवसाय भएकाले नक्कली रक्सीमा स्टिकर प्रयोग गर्न सक्ने देखिएको छ। तर, प्रहरीले पक्राउ गरेको ४ दिन भइसक्दा पनि आन्तरिक राजस्व कार्यालय पर्साले कुनै मेसो पाएको छैन। आन्तरिक राजस्व कार्यालय वीरगंजका प्रमुख कपिल शर्मा सुवेदीले आफूलाई कुनै जानकारी नआएको बताए।
‘आज विभागबाट पनि सोध्नु भएको थियो। मैले सीडीओदेखि अन्यतिर सोध्दा कुनै जानकारी पाइन,’ प्रमुख सुवेदीले भने।
राजस्वको छलीको घटनामा आन्तरिक राजस्व विभाग देखि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत निकायले संयुक्त रुपमा नियन्त्रण र अनुसन्धान गर्दछ। तर, एकले अर्कोलाई जिम्मेवार सम्झिदा तस्करहरूले भने प्रश्रय पाइरहेका छन्। प्रहरीले राजस्व चुहावट र नियन्त्रण गर्ने निकाय उदासीनता देखिएको आरोप लगाउँछ।
राजस्व चुहावटविरुद्ध चासो
राजस्व चुहावट भएको भन्दै यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरू जुटेका छन्। जसको लागि एक साताअगाडि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, आन्तरिक राजस्व विभाग लगायतसम्बन्धी अन्य निकायका अधिकारीहरूले संयुक्त रुपमा पूर्वका जिल्ला र सीमा नाकाको अवलोकन तथा जानकारी लिएका थिए।
भ्रमणमा नेपाल प्रहरीका डीआइजी, सशस्त्र प्रहरीका एआइजीदेखि सम्बन्धित विभागका महानिर्देशक समेत सहभागी थिए। झापा, मोरङ, सुनसरीदेखि धनुषासम्म अवलोकन गरिएको थियो। त्यसो त सोमवार गृहमन्त्री रवि लामिछानेले पनि राजस्व चुहावट नियन्त्रण गर्न निर्मम भएर लाग्ने जिल्ला प्रशासन प्रमुखलाई निर्देशन दिएका छन्।
कुनै पनि तस्कर, बिचौलिया वा अवैध निकासी पैठारीकर्ताले कुनै खाले संरक्षण पाउने छैन भन्ने कुरामा विश्वस्त हुने गरी काम गर्न निर्देशन दिएका हुन्। प्रहरीले पनि सीमा र भन्सार क्षेत्रमा खटिने प्रहरीलाई कडाइको साथ लाग्न निर्देशन दिएको छ।










