निर्माण व्यवसायीको भुक्तानी गर्न भौतिक मन्त्रीलाई परिसंघको आग्रह, ‘खर्च बढाउनु पर्‍यो’

बिजमाण्डू
२०७९ पुष १९ गते १४:४१ | Jan 3, 2023
निर्माण व्यवसायीको भुक्तानी गर्न भौतिक मन्त्रीलाई परिसंघको आग्रह, ‘खर्च बढाउनु पर्‍यो’

काठमाडौं। नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर विकास खर्च बढाउन आग्रह गरेको छ। 

Tata
GBIME
Nepal Life

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिँदै विकास खर्च बढाउन आग्रह गरेको हो।

पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको अग्रवालले बताए।

'पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको छ,' उनले भने, 'निर्माण व्यवसायीहरुलाई भुक्तान गर्नुपर्ने रकम छिटो दिन अर्थ मन्त्रालयसँग समन्वय गर्नु पर्छ।'

विकास खर्च बढाउन एवं बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिन उनले आग्रह गरे। 

उनले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुट नेप्लिज इकोनोमी’ अवधारणा उपप्रधानमन्त्री श्रेष्ठसमक्ष पेस गरेका थिए।

परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रवर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ। 

मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसंघको सुझाव महत्त्वपूर्ण रहेको बताए। समस्याहरु समाधान गर्दै अगाडि बढ्ने भन्दै उनले टोलीलाई आश्वस्त पारेका थिए।