दुई अर्बपतिको कम्पनी बिवाइडी र टेस्लाबीच कडा टक्कर, बफेटको बिवाइडीले उछिन्यो

बिजमाण्डू
२०७९ पुष १९ गते १५:०७ | Jan 3, 2023
दुई अर्बपतिको कम्पनी बिवाइडी र टेस्लाबीच कडा टक्कर, बफेटको बिवाइडीले उछिन्यो

काठमाडौं। दुई डलर अर्बपतिको लगानी रहेको अटो कम्पनीहरु बिवाइडी र टेस्लाबीच सन् २०२२ मा कडा प्रतिस्पर्धा देखिएको छ। डलर अर्बपति वारेन बफेटको लगानी रहेको बिवाइडीले सन् २०२२ मा टेस्लालाई उछिन्दै विद्युतीय सवारीको मार्केट लिडर बन्न सफल भएको छ।

Tata
GBIME
Nepal Life

एक वर्ष अघि सबैभन्दा धेरै विद्युतीय गाडी बिक्री गर्न सफल अर्का डलर अर्बपति इलन मस्कको कम्पनी टेस्ला सन् २०२२ मा भने दोस्रो नम्बरमा रह्यो।  यो कम्पनीले गत वर्ष १३ लाख युनिट कार मात्र बिक्री गरेको थियो। विश्वका टप यी दुई विद्युतीय गाडी निर्माता टेस्ला र बिवाइडीले सन् २०२२ मा मात्र ३१ लाख युनिट कार बिक्री गरेका छन्।

यस्तै बिवाइडीले सन् २०२२ मा १८ लाख युनिट विद्युतीय गाडी बिक्री गरेको छ। यो टेस्लाको भन्दा लगभग ३ लाख युनिट धेरै हो। चीनमा लागु गरिएको शून्य कोभिड नीतिले दुबै कम्पनीलाई असर गरिरहेको अन्तराष्ट्रिय संचार माध्यमहरुको भनाइ छ। तर यसका बाबजुद पनि यी दुई कम्पनी विद्युतीय सवारी मार्केट लिडर बनेका छन्।

टेस्ला अझै प्रिमियम इभी सेगमेन्टमा लिडर नै छ। गत वर्षको पहिलो ११ महिनामा कम्पनीको सांघाईमा रहेको गिगाफ्याक्ट्रीले चिनियाँ ग्राहकहरूलाई ३ लाख ९० हजारभन्दा बढी मोडल ३ र मोडल वाई गाडीहरू उपलब्ध गराएको छ। जुन २०२१ मा भएको ३ लाख २१ हजार युनिटको वर्षभरीको बिक्रीको तुलनामा २१.५ प्रतिशत बढी हो।

टेस्लाले सन् २०२२ को अन्तिम तीन महिनामा विश्वभर ४ लाख ५ हजार २७८ युनिट बिक्री गरेको छ। यसले कार निर्माताको स्टक मूल्यलाई असाध्यै गिरावटमा पुर्यायो। गत वर्षको विश्वव्यापी बिक्री ४० प्रतिशतले बढेपनि अझै पनि बिवाइडीको बिक्रीको तुलनामा २९ प्रतिशत कम छ।

मस्कले ट्वीटर किन्न टेस्लाको सेयर बिक्री गर्दा पनि यो कम्पनीलाई धेरै असर गरेको कम्पनीका अन्य लगानीकर्ताको आरोप छ। ट्वीटर किनेपछि मस्कले टेस्लालाई राम्रोसँग हेर्न छाडेको समेत उनीहरुले आरोप लगाएका थिए।  त्यसपछि मस्कले अगामी दुई वर्षसम्म टेस्लाको सेयर बिक्री नगर्ने बताएपछि अन्य लगानीकर्ताहरुको मनोबल बढेको थियो। 

यसै कारण पनि मस्कले एक वर्षमा २ खर्ब डलर गुमाएका थिए। धेरैजसो बिवाइडी मोडेलहरूको मूल्य एक लाख युआन र २ लाख युआनको बीचमा छ। तर टेस्लाको टेक्नोलोजी-प्याक मोडेलहरूको मूल्य ३ लाख युआनभन्दा बढी छ। 

२ लाख युआनभन्दा कम मूल्यका इभीहरू सेतो रंग मन पराउने उपभोक्ताहरू बीच लोकप्रिय छन्।  पैसा बचत गर्न चाहनेहरुले यो रुचाएको सांघाईको वाइयु अटो सेवाका बिक्री प्रबन्धक टियान माओवेईले बताए।

घरेलु बजारमा बिवाइडीका इलेक्ट्रिक र प्लग-इन हाइब्रिड कारहरू बेच्न सजिलो छ किनभने तिनीहरूमा उच्च-कार्यक्षमताका ब्लेड ब्याट्रीहरू जडान गरिएका छन्। यी  प्रिमियम कार निर्माताहरूले प्रयोग गर्ने जत्तिकै राम्रो मानिन्छन्।

यी दुबै ब्रान्डका गाडीहरु नेपालमा उपलब्ध छन्। यसमा नेपाली बजारमा पनि टेस्ला लक्जरियस तथा प्रिमियम सेगमेन्टमा पर्ने भएकाले गाडीको मूल्य महँगो छ। यो ब्रान्डको गाडीको मूल्य नेपालमा एक करोडदेखि २ करोडसम्म पर्ने गर्दछ।

तर बिवाइडीको भने ९० लाख रुपैयाँ पर्ने मोडलका गाडीहरु मात्र नेपालमा उपलब्ध छन्। यो ब्रान्डको गाडीको मूल्य मोडल अनुसार नेपालमा ५० लाखदेखि ९० लाखसम्म पर्ने गरेको छ। नेपालमा पनि टेस्लाको भन्दा बिवाइडीको बजार धेरै  ठूलो छ।