Bizmandu
www.bizmandu.com

'दोस्रो बजारमा शेयर किनबेच गर्दा नाफा कसरी लिन सकिन्छ?'-मुराहरि पराजुलीको लेख

'दोस्रो बजारमा शेयर किनबेच गर्दा नाफा कसरी लिन सकिन्छ?'-मुराहरि पराजुलीको लेख


शेयर बजारमा प्रवेश र बहिगर्मन गर्ने विषयमा लगानीकर्ता सधैं द्विविधामा हुन्छन्। यो द्विविधा स्वाभाविक हो। बजारमा प्रवेश गर्ने भनेको शेयर खरिद गर्ने र बहिर्गमन भनेको बिक्री गर्ने हो।

सबै लगानीकर्ताको उद्देश्य सस्तोमा किन्ने र महँगोमा बेचेर नाफा कमाउने हुन्छ। शेयरको मूल्य कतिसम्म आयो भने सस्तो भन्ने र कति पुग्यो भने महँगो भन्ने पत्ता लगाउन भने सजिलो छैन।

TATA
SANIMA new
Jagdamba Steel

यसका धेरै कारण छन् । ती कारणहरुलाई वस्तुगत र मनोगत गरी दुई भागमा विभाजन गर्न सकिन्छ । आफुले शेयर खरिद गरेको कम्पनीको वित्तीय अवस्था नै बिग्रिएर लाभांश दिन नसक्ने अवस्थामा पुग्यो वा टाट नै पल्टियो भने यसमा कुनै विवाद नै रहदैन कि त्यो कम्पनीको शेयर मूल्य घट्छ वा शून्यमा झर्छ। यो कम्पनीको सेयर मूल्यमा गिरावट आउने वस्तुगत कारण हो। कम्पनी लाभांश दिन नसक्ने वा टाट पल्टिने अवस्थामा कसरी पुग्छन भन्ने खोतल्दै जाने हो भने अरु धेरै कारणहरु देखा पर्छन्।

ती कारणहरुलाई कम्पनीको वशभन्दा बाहिरको र आन्तरिक गरी अर्को विभाजन गर्न सकिन्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक परिवेश विथोलिएर कम्पनी प्रभावित हुन सक्छ। प्राकृतिक प्रकोप तथा महामारीले कम्पनीको व्यवसायमा धक्का दिन सक्छ, बलियो र सक्षम प्रतिस्पर्धी आएर व्यवसाय खोस्न सक्छ, प्रविधिमा परिवर्तन हुन सक्छ। यी वाह्य कारणहरुमा कम्पनी निरुपाय हुन्छ।

व्यावसायिक योजना, व्यवसाय सञ्चालनका तौरतरिका, उपलब्ध जनशक्ति तथा संस्थागत सुशासनले कम्पनीको कारोबार तथा नाफा नोक्सानमा ठूलो भूमिका खेलेको हुन्छ। यस किसिमको आन्तरिक व्यवस्थापन मार्फत कम्पनीको नेतृत्वले यसलाई आफु अनुकुल बनाउन सक्ने पर्याप्त सम्भावना हुन्छ। यसलाई दिशा निर्देश गर्ने कम्पनी सञ्चालक हुन्। दुरदृष्टि सहितको नेतृत्वले मात्रै कम्पनीलाई सुखद व्यावसायिक यात्रामा डोर्याउन सक्छ।

माथि उल्लेख गरिएको वस्तुगत कारणहरु सधैं प्रकट रुपमा देखा पर्दैनन्। सामान्यतया कम्पनी एकाएक नाफामा जाने वा घाटामा जाने हुँदैन। कम्पनी सकारात्मक वा नकारात्मक कुनै दिशामा अघि बढिरहेको छ भन्ने सर्वसाधारणले सजिलै आंकलन गर्न पनि सक्दैनन्। भलै त्यस्तो सहीसही प्रक्षेपण गर्न सक्छु, म सँग त्यसको सुत्र छ भन्ने दाबी गर्नेहरु यत्रतत्र भेटिन्छन्। आधारभुत विश्लेषण, प्राविधिक विश्लेषणका धेरै चर्चाहरु हामी सुन्न पाउँछौं। मानवीय बुद्धी संलग्न हुने यस्ता विश्लेषण शतप्रतिशत वस्तुगत हुँदैनन्। वस्तुगत यथार्थभन्दा जति टाढाढा यस्ता विश्लेषण जान्छन जोखिम त्यति नै बढ्दै जान्छ। यसमा विश्लेषकको नियत खराब हुनै पर्दैन। यी विश्लेषणहरुमा अन्तर्निहित कमजोरी हुन्।

वित्त साहित्य वा विश्लेषणको विज्ञान कमजोरी मुक्त छैन। नत्र हार्वार्ड, एमआइटी, यल युनिभर्सिटी जस्ता संसारकै उत्कृष्ट ज्ञान केन्द्रमा आविष्कार गरिएका वित्तीय औजारहरु असफल हुने थिएनन्। नोबेल अर्थशास्त्रीले चलाएको हेज फन्ड धराशायी हुने थिएन। लिम्यान ब्रदर्सले टाट पल्टिएको घोषणा गरेको अघिल्लो दिनसम्म रेटिङ एजेन्सीहरुले उसलाई ‘ट्रिपल ए’ रेटिङ दिइरहेका थिए। रेटिङ एजेन्सीहरुको ढंग नपुगेर त्यस्तो भएको थिएन।

अमेरिकी प्रोफेसर बेन्जामिन ग्राहमको दुई पुस्तक ‘द इन्टेलिजेन्ट इन्भेस्टर’ र ‘सेक्युरिटी एनालासिस’ लाई लगानीकर्ताहरुका लागि बेजोड दिग्दर्शन मानिन्छ। ग्राहम आफैंले भने लगानी गरेर धन कमाउन सकेनन् बरु गुमाए। तर ग्राहम प्रतिपादित सुत्रलाई पछ्याएर उनका चेला वारेन बफेटले आफुलाई विश्वकै धनीहरुको सूचीमा आजसम्म शीर्ष ५ स्थानमा सुरक्षित गरिरहेका छन्। 

स्पष्ट रुपमा कालो सेतो छुट्याउन सकिने गरी कम्पनीको अवस्था यकिन गर्न सकिने वस्तुगत कारणहरु पहिल्याउन सकिदैन । त्यसैले शेयर बजारमा लागनीकर्ताको मनोविज्ञान हावी हुने गरेको छ। दोस्रो बजारको कारोबार लगानीकर्ताको अपेक्षामा आधारित हुने भएकाले पनि ठिकठिक अनुमान गर्न कठिन हुन्छ।

हाम्रो आफ्नै उदाहरणले पनि यसलाई पुष्टी गर्छ। २०५८ मा राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिँदा शेयर बजार बढेको थियो। त्यतिबेला लगानीकर्ताले राजाले सत्ता लिएपछि राजनीतिक स्थिरता हुने, त्यसको आर्थिक लाभ आफुले पनि पाउने अपेक्षा गरेका थिए। केही समयपछि त्यो अपेक्षाले मूर्त रुप लिएन र बजार घट्न थाल्यो। फेरि राजा ज्ञानेन्द्र सत्ताबाट बाहिरिँदा पनि बजार बढ्यो। यसलाई लगानीकर्तामा पलाएको अर्को किसिमको उत्साहका रुपमा बुझ्न सकिन्छ। शेयर बजारको तेजी र मन्दीको शृंखला यसपछि पनि जारी रहेको छ। नेप्से परिसूचक कहिले लामो समयसम्म निरन्तर बढिरहने, कहिले घटिरहने प्रवृत्तिमा परिवर्तन आएको छैन।

बजार घट्ने र बढ्ने यस खालको चक्रलाई वित्त साहित्य र विश्लेषकहरुले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन गरी विभिन्न कालखण्डमा विभाजन गरेर व्याख्या गर्ने गरेको पाइन्छ। यसमा पनि सबै विश्लेषकको एक मत छैन ।

यस अवस्थामा लगानीकर्ताले बजारलाई हेरेरभन्दा आफैलाई बुझेर लगानी गर्नु उपयुक्त हुन्छ। भिन्न आर्थिक, सामाजिक, सांस्कृतिक पृष्ठभूमिका लगानीकर्ताका लागि भिन्न खालका वित्तीय औजार (ऋणपत्र, शेयर, म्युचुअल फन्डका एकाई आदि) उपयुक्त हुन्छ। सबै लगानीकर्तालाई एउटै खालको रणनीति उपयुक्त हुँदैन। सबै लगानीकर्ताको आवश्यकता र लगानी  रणनीति एउटै हुने हो भने दोस्रो बजार सञ्चालन सम्भव नै हुँदैन।

संस्थागत लगानीकर्ता, व्यक्तिगत लगानीकर्ता, कम उमेरका लगानीकर्ता, पाको उमेरका लगानीकर्तालाई एउटै डालोमा राख्न सकिदैन। आफ्नै पुँजी लगानी गर्ने र सापटी लिएर लगानी गर्ने लगानीकर्ताको छनोट एउटै किसिमको धितोपत्र हुनु हुँदैन। उनीहरुको लगानी अवधि पनि एउटै हुन सक्दैन। कतिपय विश्लेषकहरुले त महिला तथा पुरुष लगानीकर्तालाई समेत एउटै लगानी रणनीतिले काम नगर्ने बताएका छन्।  

त्यसैले आफ्नो प्रतिफल अपेक्षा कति हो र जोखिम वहन गर्ने क्षमता कति छ भन्ने आधारमा लगानी सम्बन्धी निर्णय गर्नु बुद्धीमानी हुन्छ।शेयर बजारमा जुन कुरा मेरा सहकर्मी, साथीभाईका लागि सही हो त्यही कुरा मेरो हकमा पनि लागु हुन्छ भन्ने हुँदैन। (पराजुली नेपाल स्टक एक्सचेन्जका प्रवक्ता हुन्)