BIZMANDU
www.bizmandu.com

त्यो प्लट, जसले रुप ज्योतिलाई झ्यालखाना पुर्यायो, ‘प्रहरीको हडबडी कसले गरेको गडबडी?’ 


त्यो प्लट, जसले रुप ज्योतिलाई झ्यालखाना पुर्यायो, ‘प्रहरीको हडबडी कसले गरेको गडबडी?’ 
त्यो प्लट, जसले रुप ज्योतिलाई झ्यालखाना पुर्यायो, ‘प्रहरीको हडबडी कसले गरेको गडबडी?’ 


Tata
GBIME
Nepal Life

काठमाडौं। बाँसवारीस्थित शहिद गंगालाल अस्पतालको दुई सय मिटर दुरीमा ६ रोपनी ११ आना जग्गाको एउटा प्लट छ। यो जग्गाको मालिक हो, ल्याण्डमार्क डेभलपर्स प्रालि। यही जग्गासँग जोडिएको छ, पूर्व अर्थराज्यमन्त्री तथा उद्योगी रुप ज्योति पक्राउ प्रकरण। 

सर्वोच्च अदालतमा रुप ज्योतिले दायर गरेको मुद्दाको कागजातअनुसार ल्याण्डमार्क डेभलपर्सलाई ज्योति समूहका तीन कम्पनी स्याकार एण्ड कम्पनी, जय स्पिनिङ मिल र ज्योति एण्ड कम्पनीले होल्डिङ गर्छ। 

यी कम्पनीमा रुप ज्योति, कमला कंशाकार, सौरभ ज्योति, सहृद ज्योति, अभिक ज्योति, पद्म ज्योति, मिला सायमी लगायतका शेयर होल्डरहरु छन्।

ल्याण्डमार्क डेभलपर्सका नाममा रहेको यो जग्गालाई ज्योति समूहले २०७१ सालमा हाउजिङ परियोजनाका रुपमा विकास गर्ने योजना बनायो। र, त्यसका लागि सिई कन्स्ट्रक्शनलाई वर्किङ पार्टनरका रुपमा छान्यो। कम्पनीले बाँसवारी कोलोनीका नाममा यसलाई १२ वटा प्लटमा बाँड्यो।

प्लटिङमध्ये १ देखि ७ नम्वरको प्लट ज्योतिले आफ्ना लागि राखे। सिईले बाँकी पाँच वटा प्लट घर बनाएर विक्री गर्न वैना गर्यो। पाँच वटामध्ये कित्ता नम्वर २३८ को २२२.५३ बर्ग मिटरको एक प्लट बालुवाटार बस्ने विज्ञेन्द्र कृष्ण मल्लले २०७१ जेठ २ मा दश लाख रुपैयाँ दिएर बुक गरे। उनले त्यो प्लटको जग्गा र घरका लागि २०७१ भदौसम्म जम्मा एक करोड २६ लाख रुपैयाँ समेत बुझाए।

रुप ज्योतिले १ देखि ७ नम्वरको प्लटलाई फेरी एउटै बनाए र त्यसमा आफ्ना लागि घर बनाउन थाले। घर बनाउँदै गएपछि उनलाई बाँकी प्लट पनि मिलाएर फराकिलो घर बनाउन मन लाग्यो। 

ल्याण्डमार्कको वर्किङ पाटर्नर सिईसँग बुकिङ भएका बाँकी पाँच वटा प्लट उनले बुकिङकर्तासँग फिर्ता लिन चाहे। उनले बनिरहेका घरलाई 'ग्राउण्ड जिरो' बनाएर त्यसमा बगैंचा बनाउन चाहे। सिईले बुकिङकर्तासँग कुराकानी गर्यो।

पाँचमध्ये दुई वटालाई उसले आफ्नो पानीपोखरीस्थित हाउजिङ परियोजनामा सार्यो। बाँकी दुई वटाले क्षतिपूर्तिसहित पैसा फिर्ता लिए। बाँकी रह्यो मल्लको प्लट। मल्लका दाजु रुप ज्योतिका साथी पनि भएका कारण त्यो मामिलालाई त्यहीँ मिलाउन पहल भयो।

छलफल चल्दै गर्दा यो विषय ज्योति र मल्लका लागि 'इगो' का रुपमा विकसित हुन थाल्यो। विवादकै बीच २०७४ कात्तिक २४ गते यो प्लट ल्याण्डमार्क डेभलपर्सले एक करोड ३२ लाख रुपैयाँमा क्वालिटी डेभलपर्सलाई विक्री गर्यो। बुकिङ गरेको जग्गा नै विक्रि भएपछि ज्योति र मल्लवीच विवाद झन चर्किन थाल्यो। 

यो विषय प्रहरी प्रशासन हुँदै अदालतमा पनि पुग्यो। ल्याण्डमार्क डेभलपर्सले मल्ल, जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त दरवारमार्ग र महानगरीय प्रहरी परिसर टेकुलाई विपक्षी बनाएर २०७५ असारमा मुद्दा हाल्यो।

मुद्दा हालेको तीन महिनापछि न्यायाधीश कविप्रसाद न्यौपानेले यो मुद्दा खारेज गरे। ज्योतिले सर्वोच्चमा दायर गरेको निवेदनअनुसार न्यायाधीश न्यौपानेले मुद्दा खारेज गर्दै गर्दा आफ्नो फैसलामा यो विषयलाई देवानी दायित्वको विषय भएको भन्दै व्याख्या गरेका छन्।

जिल्ला अदालतको फैसलापछि ज्योतिले मल्ललाई पैसा फिर्ता दिन चाहे। यो प्रक्रियामा सहभागी एक अधिकारीकाअनुसार, ज्योति मल्ललाई साँवा तथा चलनचल्तिको व्याज तिर्न चाहन्थे भने मल्लले ज्योतिसँग सात करोड रुपैयाँ माग गरिरहेका थिए। 

बीचमा फसेको सिईले दुवै पक्षलाई मिलाएर यो विषयलाई चार करोड रुपैयाँमा टुङ्ग्याउन चाहिरहेको थियो। ज्योति र मल्ल भने अझै पनि इगोको लडाईंमा थिए। मल्लले त्यतिवेलै भनेका थिए- म एक दिन भए पनि ज्योतिलाई थुनाएर छाड्छु।

ज्योतिले विषयलाई अदालती प्रक्रियाबाटै टुंग्याउन खोजे। उनले मल्ललाई एक करोड २७ लाख रुपैयाँ तिर्न चाहेको र त्यसको चलनचल्तिको व्याज पनि तिर्न पाउनुपर्ने माग गर्दै २०७५ मंसिर १३ मा जिल्ला अदालतमा निवेदन लिएर गए।

तर मल्ल भने १६ गते ज्योतिले ठगी गरेको भन्दै निवेदन लिएर महानगरीय प्रहरी परिसरमा गए। उनको निवेदनका आधारमा जिल्ला अदालत काठमाडौंले ज्योतिलाई पक्राउ पूर्जी जारी गर्यो। 

जिल्ला अदालतको पक्राउ पूर्जीविरुद्ध ज्योति मंसिर २४ गते सर्वोच्च अदालत गए। सर्वोच्चले जिल्ला अदालतको पक्राउ पूर्जीमा स्टे अर्डर दियो। यो मुद्दामा कात्तिक १८ गते अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतले आफ्नो स्टे अर्डर खारेज गर्यो।

सर्वोच्चले स्टे खारेज गर्नासाथ बिजमाण्डूले ज्योतिसँग प्रतिक्रिया मागेको थियो। जवाफमा उनले भने, म अहिले देश बाहिर छु, तै पनि हामीबीच मुद्दा मिलिसकेको छ, पूर्णपाठ आएपछि मात्रै बाँकी प्रक्रिया सुरु हुन्छ।

बिजमाण्डूले मल्लसँग पनि प्रतिक्रिया मागेको थियो। मल्लले भने- अहिले मुद्दा खारेज मात्रै भएको हो। मलाई शुक्रवारसम्म पूर्ण पाठ आउँछ भनिएको छ। त्यसपछि आइतवार तिर मात्रै बसेर यो विषयमा कुरा गरौंला।

ज्योति आफू पक्राउ नपर्नेमा ढुक्क थिए, मल्ल पनि पूर्णपाठ आएपछि मात्रै बाँकी प्रक्रिया सुरु गर्ने मुडमा थिए। 

तर बुधवार अचानक सर्वोच्च अदालतबाट फैसलाको जानकारी सम्वन्धी एउटा पत्र सार्वजनिक भयो। पत्रमा पनि मंसिर १९ गतेको संयुक्त इजलाशबाट रिट खारेज भएको र त्यसको पूर्ण पाठ तयार हुने क्रममा रहेको जानकारी दिइएको थियो। 

विहिवार साँझ सिंगापुरबाट फर्कदै गर्दा प्रहरीले त्रिभूवन विमानस्थलबाटै ७१ वर्षका ज्योतिलाई पक्राउ गर्यो। बिहिबार राति नै भर्खर व्यापारमा आउँदै गरेकी उनकी ३४ वर्षिय छोरी सुरुची ज्योतिलाई पनि प्रहरीले पक्राउ गर्यो। 

जबकि रुप ज्योतिका दाजु पद्म ज्योति एउटा कार्यक्रमका लागि यतिवेला वनारसमा छन्। पद्म ज्योतिका दुई छोरा सौरभ र सहृद जापानमा मोटर शोमा सहभागी हुन उता छन्। 

जिल्ला अदालतको एउटा फैसलामा यो प्रकरणलाई फौजदारी नभएर देवानी दायित्वको विषयका रुपमा समेत व्याख्या गरिएको छ। 

हावार्ड पढेका ज्योति समूहका नाम अर्बौ रुपैयाँको व्यापारको ठूलो साम्राज्य तयार पारेका र राष्ट्रिय सभामा सांसद र अर्थराज्य मन्त्री समेत बनेका ज्योतिलाई पक्राउ गर्न प्रहरीले अनावश्यक हडबडी समेत देखाएको छ। र, प्रहरीले यसलाई ठूलो विजयको विषय नै बनाउन गरि विमानस्थलबाट क्यामेराको सामुन्ने नियन्त्रणमा लिएको छ।

एक त देवानी दायित्वको विषय, त्यसमाथि सर्वोच्च अदालतले पूर्ण पाठ जारी नगर्दै र सरोकारवाला पक्ष मौन रहिरहेका बेला प्रहरीले ज्योतिलाई पक्राउ गर्न किन यति धेरै हडबडी देखायो। यो हडबडी कतै न कतै कसैले गरेको गडबडिको परिणाम हो भन्ने विषयमा व्यापारिक समुदाय विश्वस्त देखिन्छ।