BIZMANDU
www.bizmandu.com

श्री एयरलाइन्सको काठमाडौं-जनकपुर उडान भाडा २ हजार रूपैयाँ, सोमबारदेखि नियमित उडान भर्ने

२०७६ माघ २


काठमाडौं। निजी क्षेत्रको वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौं-जनकपुरको प्रवर्द्धनात्मक भाडादर दुई हजार रूपैयाँ निर्धारण गरेको छ। 

Tata
GBIME
Nepal Life

सोमबारदेखि उडान सुरू गर्न लागिएको उक्त नयाँ गन्तब्यका लागि 'प्रमोसनल फेयर' निर्धारण गरिएको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए । 'जनकपुर हाम्रो नयाँ गन्तब्य हो। सुरुवाती चरणमा यात्रु सुविधालाई लक्षित गर्दै सीमित अवधिका लागि प्रमोसनल फेयर सार्वजनिक गरेका हौं,' उनले बिजमाण्डूसँग भने। 

हाल काठमाडौं-जनकपुर एकतर्फी भाडादर न्यूनतम ३५ सय रूपैयाँ छ। यति एयरलाइन्स र बुद्ध एयरलगायत निजी क्षेत्रका वायुसेवा कम्पनीले उडान गर्दै आएको यो गन्तब्यमा सोमबारदेखि श्रीले पनि उडान गर्न लागेको हो। 

कम्पनीले जनकपुर लगत्तै काठमाडौं-सिमरा नियमित उडानका लागि गृहकार्य सुरू गरिसकेको जनाएको छ। प्राधिकरणले कम्पनीलाई जनकपुर र सिमरामा दैनिक एउटा उडानका लागि स्लट दिएको छ। 

टर्बोप्रोप जहाजमार्फत उडान गर्नका लागि कम्पनीले गत मंसिर २५ गते काठमाडौं-जनकपुर-सिमरा-काठमाडौं परीक्षण उडान-अवतरण गरेको थियो। 

कम्पनीले हाल दुईवटा ५० सीटे सीआरजे-२००, दुईवटा ७८ सीआरजे-७०० मार्फत धनगढी, विराटनगर, नेपालगंज, भरतपुर र भैरहवा लगायत मुलुकका विभिन्न गन्तब्यमा उडान गर्दै आएको छ। जनकपुर, सिमरा र पोखरा कम्पनीका लागि नयाँ गन्तब्य हुनेछन्। यी गन्तब्यमा कम्पनीले बम्बार्डियर कम्पनीको ८० सीट क्षमताको टर्बोप्रोप क्यु-४०० जहाजमार्फत नियमित उडान गर्नेछ।