BIZMANDU
www.bizmandu.com

वीरगंजका होटल सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीको माग, घरभाडा र बहाल करमा पनि छुट मागे

२०७७ असार १७

Tata
GBIME
Nepal Life

 

वीरगंज। वीरगंजका होटल व्यवसायीले होटल सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन् । होटल तथा पर्यटन व्यवसायी संघ पर्साका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी  र वीरगंजका मेयरसँग भेटी यस्तो माग गरेका हुन्।

 

संघले बुधबार प्रमुख जिल्ला अधिकारी तथा वीरगञ्ज महानगरका मेयरलाइ छुट्टाछुट्टै ज्ञापनपत्र बुझाई यस्तो माग गरेका हुन् । संघका अध्यक्ष हरि पन्तसहितको होटल तथा पर्यटन व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्की र मेयर बिजय कुमार सरावगीलाई ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा कोरोना महामारीको कारण जारी लकडाउनका कारण वीरगन्जका होटल तथा पर्यटन व्यवसायमा अपुरणिय क्षति भएकाले आफूहरुको मर्का बुझेर अविलम्ब व्यवसाय सञ्चालनको वातावरण बनाइदिन आग्रह गरिएको छ ।

व्यवसायीहरुले नियमानुसार सामाजिक दुरी कायम गरी होटल रेस्टुरेन्ट क्षेत्रलाई तत्कालै खोल्ने वातावरण बनाउन स्थानीय प्रशासनसंग समन्वयकारी भूमिका निर्र्वाह गर्न माग गरेका छन् ।

चालु आर्थिक वर्षमा लकडाउनले गर्दा होटल तथा पर्यटन व्यवसायमा अकल्पनिय क्षति भएकाले चालु आवको महानगरपालिकाले लिँदै आएको घर बहाल कर, व्यवसाय कर तथा फोहोर कर पूर्ण रुपमा मिनाहाको माग समेत ज्ञापनपत्रमा गरिएको छ।

भाडामा संचालित होटलहरुको लकडाउन अवधिभरको भाडा पूर्ण मिनाहा एवम् त्यस पछि व्यवसायको स्थिति हेरी सामान्य अवस्थामा आइ नपुग्दासम्म आधा घरभाडा मिनाहाको लागि सम्बन्धित घर धनीहरुलाइ आह्वान गर्न पनि माग गरिएको छ ।

भेटमा प्रमुख जिल्ला अधिकारी कार्कीले सरकारलेनै तत्कालका लागि होटेल तथा रेष्टुरेन्ट बन्द राख्न आह्वान गरेको अवस्थामा आफूले खोल्न अनुमति दिन नसक्ने बताए ।

मेयर सरावगीले गृह मन्त्रालय लगायत अन्य सरोकारवाला निकायलाई वीरगन्जका होटल व्यवसायीको माग बारे अविलम्ब जानकारी गराउने प्रतिबद्धता जाहेर गरे ।

वीरगंजका मेयरले होटल व्यवसायीको समस्या बारे स्थानीय प्रशासनसंग समन्वय गर्न पहल गर्ने बताए । ज्ञापन पत्र बुझाउनेमा होटल सञ्चालकहरु अनिल रुंगटा, सुरेन्द्रलाल श्रेष्ठ, जगरनाथप्रसाद कलवार, कुनाल श्रेष्ठ, रचेन्द्रसिंह थापा, कुमार श्रेष्ठ, माधव बस्नेत, हिरा श्रेष्ठलगायतको सहभागिता थियो ।