BIZMANDU
www.bizmandu.com

भारतीय धनाढ्य मुकेश अम्बानीले वारेन बफेटलाई समेत उछिने, सम्पत्ति ६८ अर्ब डलरभन्दा माथि

२०७७ असार २८

Tata
GBIME
Nepal Life

नयाँ दिल्ली। भारतका धनाढ्य उद्योगपति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीका लागि सन् २०२० विशेष बनेको छ। जियो प्लेटफर्मसका लागि ठूलो लगानी भित्र्याएका उनको कम्पनीको सेयरको मूल्य बढिरहेको छ। हालै मुकेश अम्बानीले वारेन बफेटको भन्दा बढी सम्पत्ति जोड्न सफल भएका छन्।

अम्बानीको सम्पत्ति बढेर ६८.३ अर्ब डलर भएको छ। विश्वप्रसिद्ध कम्पनी वर्कशायर हाथवेका मालिक वारेन बफेटको सम्पत्ति ६७.९ अर्ब डलर रहेको छ। ब्लुमबर्गको बिलेनियर इन्डेक्स अनुसार मुकेशले हालै बफेटलाई पनि पछि पारेका हुन्।

अम्बानीको कम्पनीको सेयर मूल्य गत मार्चको भन्दा दोब्बरभन्दा बढीले वृद्धि भएको छ। कम्पनीको सेयरहरुको मूल्य बढ्दै जाँदा मुकेशको सम्पत्ति बढिरहेको छ भन बफेटको सम्पत्तिमा भने गिरावट आएको छ।

बफेटले हालै २.९ अर्ब डलर च्यारिटीलाई दिएपछि उनको सम्पत्तिमा कमी आएको हो। गत महिनामात्र अम्बानी विश्वकै धनी १० मानिसहरुको सूचीमा पर्न सफल भएका थिए। यो सूचीमा पर्ने उनी एकमात्र एशियाली ब्यक्ति हुन्।

८९ वर्षका बफेट भने पछिल्लो समय लगातार आफ्नो सम्पत्ति दान गरिरहेका छन्। सन् २००६ मा उनले आफ्नो कम्पनी वर्कशायर हाथवेको ३७ अर्ब डलरभन्दा बढी मूल्य पर्ने सेयर दान दिएका थिए।

६३ वर्षका अम्बानी विश्वका आठौं धनी ब्यक्ति हुन्। बफेट भने नवौं स्थानमा छन्।