BIZMANDU
www.bizmandu.com

सिमेन्ट र डन्डीको मूल्य ह्वात्तै घट्यो, उधारो उठे अझै सिमेन्टको मूल्य बोरामा ३० रुपैयाँ घट्ने

२०७७ साउन १९

सिमेन्ट र डन्डीको मूल्य ह्वात्तै घट्यो, उधारो उठे अझै सिमेन्टको मूल्य बोरामा ३० रुपैयाँ घट्ने
सिमेन्ट र डन्डीको मूल्य ह्वात्तै घट्यो, उधारो उठे अझै सिमेन्टको मूल्य बोरामा ३० रुपैयाँ घट्ने


Tata
GBIME
Nepal Life

काठमाडौं। वर्षात र कोभिड-१९ का कारण सिमेन्ट र डन्डीको भाउ ह्वात्तै घटेको छ। वर्षातमा विकास आयोजना र आवासीय भवन निर्माणको काम कम हुन्छ। माग कम भएपछि सिमेन्ट र डन्डीको मूल्य घटेको हो।

हार्डवेयर व्यवसायीका अनुसार उपत्यकामा अहिले ओपिसी सिमेन्ट बोराको ७ सय ८० र पीपीसी सिमेन्ट ६ सय ८० रुपैयाँमा बिक्री भइरहेको छ। यो मूल्य ब्राण्डका हिसाबले बोरामा १० रुपैयाँ तलमाथि हुनेछ। एक महिना अघिसम्म ओपिसी सिमेन्ट बोराको ८ सय ३० रुपैयाँ र पीपीसी सिमेन्टको मूल्य ७ सय रुपैयाँ थियो।

डन्डीको समेत उपभोक्ता मूल्य ७१ रुपैयाँमा झरेको छ। एक महिना अघिसम्म डन्डीको मूल्य ७७ रुपैयाँसम्म पुगेको थियो।

‘सिमेन्ट र डन्डीको बिक्री अत्यन्तै कम छ। त्यही भएर मूल्य ओरालो लागेको हो,’ ती बिक्रेताले भने, ‘कोभिडका कारण यी दुवै वस्तुको मूल्य अझै घट्ने देखिएको छ।’ उनका अनुसार कोभिडका कारण आवासीय घर बनाउने धेरैले 'होल्ड' गरेका छन्। ‘वर्षातमा घर बनाउने काम नै कम हुन्छ। त्यसमा पनि कोभिडका कारण आवासीय घर बनाउनेहरुले तत्कालका लागि योजना स्थगित गरेका छन्। भदौ पछाडि पनि सिमेन्ट र डन्डीको माग बढ्ने देखिदैन्,’ ती बिक्रेताले भने, ‘हामीले सोचेको भन्दा पनि नराम्रो अवस्था आउने देखिएको छ।’

भूकम्पको समयमा भत्किएका संरचना बनाउन निर्माण सामाग्रीको माग बढेको अवस्था पनि अब नरहेको बताउँदै उनले अहिलेको महामारीमा  सर्वसाधारणले घरभन्दा पनि आफ्नो स्वास्थ्य सुरक्षालाई ध्यान दिनुपरेकाले बजारमा संकट अझै ठूलो रूपमा आउने देखिएको बताए। अर्घाखाँची सिमेन्टका संचालक पशुपति मुरारका वर्षातको समयमा विकास निर्माण कम हुने भएकाले सधैं सिमेन्टको मूल्य घट्ने बताउँछन्।

‘सिमेन्टको एउटा चक्र हुन्छ। त्यो चक्र अनुसार वर्षातमा माग कम हुने र घट्ने सधैं नै हुन्छ,’ उनले भने, ‘अहिले पनि त्यसैको निरन्तरता हो।’ तर उनले कोरोनाका कारण आवासीय घर निर्माणमा सुस्तता आउने अनुमान गरे। ‘सरकारको ध्यान अहिले सबै कोरोना नियन्त्रणमा छ। निर्माणाधीन योजनाबाहेक अरुमा काम हुने देखिँदैन्,’ उनले भने, ‘महामारीका बेलामा आवासीय घर समेत निर्माण पनि स्वतः घट्नेछ। निर्माण सम्बन्धी उद्योगका लागि सहज दिन भने छैन।’

उपभोक्ता मूल्य अझै घट्छ

करिब ५० अर्ब रुपैयाँभन्दा बढी बक्यौता भएपछि नेपाल सिमेन्ट उत्पादक संघले एक महिनाअघि उधारो नदिने निर्णय गरेको थियो। संघले विगतमा बिक्रेतालाई दिँदै आएको स्कीम समेत हटायो।

उधारोमा सिमेन्ट बिक्री नगर्ने निर्णयले उपभोक्ताले थप ३० रुपैयाँ सस्तोमा सिमेन्ट पाउने वातावरण तयार हुने देखिएको छ। मुरारकाले उधारो दिन बन्द भएपछि उपभोक्तालाई बोरामै ३० रुपैयाँसम्म सस्तो सिमेन्ट बिक्री गर्न सकिने बताउँछन्।

‘हामीले बिक्रेतालाई उधारो दिँदा आवश्यक पैसाका लागि बैंकबाट ऋण लिनुपर्ने अवस्था थियो। त्यो ऋणको ब्याज समेत सिमेन्टमै जोडिन्थ्यो,’ उनले भने, ‘उधारो दिन बन्द भएपछि चारदेखि पाँच प्रतिशतसम्म कम गर्न सक्छौं। त्यसले उपभोक्तालाई सहुलियत दिन सक्छौं।’

उधारो उठाउन तीन वर्ष

मुरारका अनुसार सिमेन्टको बक्यौता उठाउन कम्तीमा पनि तीन वर्ष लाग्छ। ‘हामीले अहिले हेर्दा बजारमा रहेको उधारो उठाउन सबै उद्योगीलाई तीन वर्ष लाग्ने देखिएको छ। त्यसमा पनि पूरै रकम उठ्दैन,’ उनले भने, ‘कतिपय बिक्रेताले व्यवसाय नै छाडेर गइसकेको हुनसक्छ। ८५ प्रतिशत बक्यौता उठे भाग्यमानी मान्नुपर्छ।’

उनका अनुसार पछिल्लो समयमा अस्वस्थ प्रतिस्पर्धा हुँदा बिक्रेताले सिमेन्टबाट बिक्री भएको रकम अन्यत्र लगाएका छन्। ‘कतिपय बिक्रेताले घरायसी काममा समेत सिमेन्ट बिक्री गरेको रकम लगाएको पाइएको छ। कतिपयले सेयर र जग्गामा लगानी गरेका छन्,’ मुरारकाले भने, ‘कतिपयले आम्दानी र नाफा नबुझेर फजुल खर्च गरेर समेत उडाएका छन्। त्यसरी खर्च भएको रकम उठ्ने सम्भावना कम हुन्छ।’

उनले सरकारले उधारो रकम नतिर्ने व्यवसायीलाई कानुनी कारवाहीमा सहयोग गरेमा धेरै उद्योगलाई राहत हुने र त्यसबाट उपभोक्तासमेत लाभान्वित बन्ने जिकिर गरे।