BIZMANDU
www.bizmandu.com

मर्जरका लागि हिमालयन बैंकलाई सिभिल बैंकको प्रस्ताव: मर्जर समितिलाई अध्ययन गर्न जिम्मा

२०७७ असोज १

मर्जरका लागि हिमालयन बैंकलाई सिभिल बैंकको प्रस्ताव: मर्जर समितिलाई अध्ययन गर्न जिम्मा
मर्जरका लागि हिमालयन बैंकलाई सिभिल बैंकको प्रस्ताव: मर्जर समितिलाई अध्ययन गर्न जिम्मा


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकको चाहना अनुसार सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरका लागि प्रस्ताव गरेको छ। 

दुई बैंकका प्रमुख कार्यकारी अधिकृतबीच अनौपचारिक कुराकानी भएपछि सिभिल सञ्चालक समितिले हिमालयन बैंक सञ्चालक समितिलाई मर्जर वा प्राप्तिका लागि औपचारिक प्रस्ताव गरेको हो।

सञ्चालक समितिमा गरिएको प्रस्ताव आउँदो मंगलबार मर्जर समितिलाई बुझाइने छ। हिमालयन बैंकले लकडाउनअघि नै मर्जर समिति बनाएको थियो। पूर्व मन्त्री एवम् बैंक सञ्चालक सुनिलबहादुर थापाको नेतृत्वमा हिमालयनले मर्जर समिति बनाएको थियो।

समितिको दुई वटा बैठक मात्र अहिलेसम्म बसेको छ। बैंक सञ्चालक समितिले मर्जरलाई कसरी अगाडि बढाउने भनेर औपचारिक कार्यतालिका र कार्यादेश मर्जर समितिलाई दिइसकेको छैन।

‘हिमालयनलाई मर्जर किन चाहियो भन्ने कुरा पहिले स्पष्ट हुनु पर्छ। पुँजीलाई हो कि, सञ्जाललाई हो कि वा निक्षेप र ऋणका लागि हो,’ बैंक स्रोतले भन्यो, ‘अब मर्जर समितिले यो बारेमा अध्ययन गर्छ। त्यसैले हिमालयन बैंकको तर्फबाट अहिले नै मर्जर अगाडि बढ्दैन। जनवरी लाग्छ।’

नेपाल राष्ट्र बैंकले पछिल्लो समय केही रणनीतिक बैंकहरुलाई मर्जरमा जाने अनौपचारिक दबाब दिइरहेको छ। राष्ट्र बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर होस् भन्ने चाहन्छ। उनीहरु मर्जर हुँदा पुछारबाट सानोमध्येको बैंक पनि गाभिदियोस् भन्ने चाहन्छ। 

यो सन्देश राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले हिमालयन र इन्भेष्टमेन्टका साथै सिभिल बैंक ब्यवस्थापनलाई पनि दिएका थिए। त्यसै अनुसार सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले हिमालयन बैकका प्रमुख कार्यकारी अशोक राणासँग मर्जरको प्रस्ताव गरेका थिए।

मर्जर ब्यवस्थापनको मुद्दाभन्दा पनि सञ्चालक समितिको भएकाले त्यहाँ प्रस्ताव गर्न राणाले गुरुङलाई सुझाव दिएका थिए। त्यसै अनुसार सिभिलले हिमालयन बैंकको सञ्चालक समितिलाई मर्जर प्रस्ताव गरेको हो।

स्रोतका अनुसार, कति मूल्य, ब्यवस्थापन के, सञ्चालक समिति के भन्ने बारेमा प्रस्तावमा केही पनि उल्लेख गरिएको छैन।