BIZMANDU
www.bizmandu.com

महँगोमा मुद्दती निक्षेप उठाउँदै बैंक, कसैलाई स्प्रेडको चिन्ता त कसैलाई भोलिको ब्यापारको

२०७७ असोज २

महँगोमा मुद्दती निक्षेप उठाउँदै बैंक, कसैलाई स्प्रेडको चिन्ता त कसैलाई भोलिको ब्यापारको
महँगोमा मुद्दती निक्षेप उठाउँदै बैंक, कसैलाई स्प्रेडको चिन्ता त कसैलाई भोलिको ब्यापारको


Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले दसैंंतिहार निक्षेप योजना भनेर मुद्दती निक्षेपको ब्याज दर ८.२५ प्रतिशत पुर्‍याएको छ। कुमारी बैंकले दुई वर्ष माथिका लागि ८ प्रतिशत ब्याज दिने सूचना जारी गरेको छ भने सिभिल बैंकले ८ प्रतिशत पुर्‍याएको छ।

मेगा बैंकले ८.२५ प्रतिशत, सनराइजले ७.७५ र प्राइमले ८.५ प्रतिशत पुर्‍याएका छन्। माछापुच्छ्रेको ८.२५ प्रतिशत छ। नबिलले सबैभन्दा उच्च ९.५ प्रतिशत पुर्‍याएको छ। एनसिसी ८.२५ प्रतिशत,सिद्धार्थले ८ प्रतिशत, नेपाल बंगलादेश बैंकले ८.२५ प्रतिशत र सानिमाले ७.७७ प्रतिशत ब्याज पुर्‍याइसकेका छन्।

बचतको ब्याज दर उच्च दरले झारेका बैंकहरुले मुद्दती निक्षेपको ब्याज भने त्यसैगरी उच्च दरले बढाइरहेका छन्। पछिल्लो साताबाट मुद्दती निक्षेपको ब्याज बढाबढमा प्रतिष्पर्धा चल्न थालेको हो।

किन बैंकहरुले मुद्दतीको ब्याज बढाए? बैंकरका अनुसार यसमा दुई वटा प्रमुख कारण छन्।

‘पहिलो त सर्वसाधारणले आर्थिक संकटका बेलामा पनि राम्रो लाभ पाउन् भनेर बढाइएको हो’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, ‘राष्ट्र बैंकले पनि ऋणको ब्याज दर स्थिर गर्न भनेको छ। यसका लागि पनि लामो अवधिको निक्षेप आकर्षित गर्नुपर्ने हुन्छ। त्यसलाई तान्दै सर्वसाधारणलाई आकर्षित गर्न ब्याज बढाउनु परेको हो।’

बैंकरका अनुसार, मुद्दती निक्षेपको ब्याज बढाउनुको अर्को ‘हिडेन’ कारण छ। त्यो हो स्प्रेड ब्यवस्थापन। राष्ट्र बैंकले स्प्रेड दर ४.४ प्रतिशतमा कायम गर्न भनेको छ। स्प्रेड घटाउनका लागि कि बैंकले ऋणको ब्याज तल झार्नु पर्ने हुन्छ कि त निक्षेपको बढाउनु पर्ने हुन्छ।
‘सुरुमा स्प्रेड ब्यवस्थापन गर्न अधिकांश बैंकले ऋणको ब्याज दर घटाए। हामीले नै पनि निश्चित प्रतिशतमाथिको ब्याजलाई झार्‍यौं। अन्य ऋणको ब्याज पनि केहि प्रतिशत बिन्दुका दरले घटायौं। सबैलाई लाभ पुगोस् भनेर ब्याज घटाएको हो,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले भने, ’अब ऋणको ब्याज यो भन्दा कति तल ल्याउने? त्यही भएर निक्षेपको ब्याज बढाउनतिर लागिएको हो।’

बैंकहरुले बचत खाताको ब्याज दर ह्वात्तै घटाउँदा स्प्रेड ब्यवस्थापन गर्न कठिन भएको छ। त्यसैले उनीहरुले मुद्दती खाताको ब्याज बढाएका हुन्। 

‘अब यसले गर्दा बैंकहरुलाई लामो समयका लागि लगानी गर्ने पैसा उपलब्ध हुन्छ। सर्वसाधारणले पनि ब्याज घट्यो भनेर चिन्ता लिनु पर्दैन,’ शाहले भने, ‘लामो अवधिको निक्षेपको माग ग्राहकबाट आइरहेको थियो। त्यही भएर पनि लामो अवधिका लागि हामीले बढि ब्याज दिने स्किम ल्याएका हौं।’

अहिले बजारमा २०० अर्ब रुपैयाँभन्दा बढीको तरलता छ। यस्तोमा महँगोमा निक्षेप उठाउनु भनेको बैंकहरुका लागि घाटाको ब्यापार गर्नु हो। तर बैंकहरुले अहिले स्रोत जम्मा भए भोलि ब्यापार बढ्छ भन्ने अनुमानमा बटुलिरहेका छन्।

सरकारले लकडाउन हटाइसकेको छ। छिटपुट बाहेक निषेधाज्ञा छैन। सार्वजनिक यातायात पनि चल्न थालेका छन्। दसैंतिहार नजिकिँदैछ। ‘त्यसैले ऋणको माग बढ्ने त पक्का छ। त्यो बेला हामीलाई लगानी गर्न स्रोत चाहिन्छ,’ शाहले भने,‘सर्वसाधारणलाई बढि ब्याज तिरेर निक्षेप उठाउँदा त्यो स्थायी पनि हुन्छ। यसले भोलिको ब्यापार गर्न सहज पनि हुन्छ। त्यही भएर भोलिको ब्यापार हेरेर पनि आज महँगोमा निक्षेप उठाइएको हो।’