BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमईको कर्पोरेट भवनको डिजाइन बनाउन खुला प्रतिस्पर्धा आह्वान, उत्कृष्टलाई ५ लाखको इनाम

२०७८ असार १

ग्लोबल आइएमईको कर्पोरेट भवनको डिजाइन बनाउन खुला प्रतिस्पर्धा आह्वान, उत्कृष्टलाई ५ लाखको इनाम
ग्लोबल आइएमईको कर्पोरेट भवनको डिजाइन बनाउन खुला प्रतिस्पर्धा आह्वान, उत्कृष्टलाई ५ लाखको इनाम

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्नो नयाँ कर्पोरेट भवनको डिजाइनका लागि खुला आह्वान गरेको छ। 

जनता बैंकसँगको मर्जरपछि ठूलो बनेको ग्लोबल आइएमई बैंकलाई कर्पोरेट कार्यालय साँघुरो हुँदै आएको छ। करिब दुई वर्षअघि मात्रै कमलादीमा नयाँ भवन बनाएर कर्पोरेट कार्यालय सारेको बैंकलाई त्यो पनि साँघुरो भएपछि नयाँ भवन बनाउने प्रक्रिया थालेको छ। 

कमलादीको भवन साँघुरो भएपछि बैंकले चार विभिन्न स्थानबाट कार्यसम्पदन गरिरहेको छ। यही समस्याका कारण बैंकले उत्तर ढोकामा आफ्नो स्वामित्वमा रहेको ६ रोपनी जग्गामा नयाँ कर्पोरेट भवन निर्माणको प्रक्रिया थालनी गरेको छ।

बैंकले आफैंले जग्गा किनेर नयाँ भवन बनाउने गरी २०७७ पुसमा सूचना निकालेको थियो। त्यसका लागि बैंकले चक्रपथ बाहिर भए ८ रोपनी र भित्र भए कम्तिमा ५ रोपनी जग्गा किन्न खोजेको थियो।

बैंकले खुला प्रतिस्पर्धाबाट भवनको डिजाइन माग गरेको छ। बैंकले भवनको डिजाइन गर्दा दुई तलाको बेसमेन्ट पार्किङ र युटिलिटी सेवा अनिवार्य समेट्नु पर्ने शर्त राखेको छ। कर्पोरेट भवन भएकाले भर्‍याङ र एलिभेटरबाट हुने प्रशस्त सर्कुलेसनको व्यवस्थासहितको डिजाइन बैंकले माग गरेको छ। 

खुला प्रतिस्पर्धाबाट आकर्षक र बलियो कर्पोरेट भवन डिजाइनका लागि प्रस्ताव मागेको बैंकका वरिष्ठ सहायक सीईओ महेश शर्मा ढकालले जानकारी दिए। क्रियटिभ डिजाइन आओस् भनेरै खुला प्रतिस्पर्धा आह्वान गरेको उनले जानकारी दिए।

प्राकृतिक रुपमै उज्जालो छिर्ने र कम्फर्टेबल वर्किङ स्पेश भएको डिजाइनलाई बैंकले जोड दिएको छ। भवनको डिजाइन गर्दा वर्किङ स्पेशको आकार करिब एक लाख वर्गफीट हाराहारी हुनुपर्ने गरी बैंकले सूचना जारी गरेको छ। कर्पोरेट भवनको आउटलुकसमेत आकर्षक हुने गरी डिजाइन गरिनुपर्ने बताइएको छ। 

बैंकले प्रारम्भिक डिजाइन बनाउन इच्छुक आवेदकसँग विभिन्न डकुमेन्ट माग गरेको छ। बैंकले साइट प्लान, सबै साइडको एलिभेसन्स्, फ्लोर प्लान, थ्रीडी भ्यू (थ्रीडी रेन्डर्ड तस्वीरहरु) का साथै भवनका हरेक पूर्वाधार निर्माणको अधिकतम अनुमानित लागतसमेत समावेश गरी डिजाइन पेश गर्न आग्रह गरेको छ। 

यस्तै, बैंकले कुनै डिजाइनरलाई भवनको डिजाइन र निर्माण सुपरभिजनको ठेक्का दिएको खण्डलाई विचार गरेर 'डेलिभरेबल्स्' अंकित गरेर प्रस्ताव पेश गर्न आग्रह गरेको छ। 

भवनको इन्टेरियर तथा फर्निचर डिजाइनलाई अहिले समावेश नगरेपनि त्यसलाई आर्किटेक्टले ख्याल गरेर राख्न समेत आग्रह गरेको छ। 

बैंकले प्राप्त हुने प्रस्तावहरुबाट १० वटा आकर्षक डिजाइनलाई मात्रै आगामी मूल्यांकनका लागि सर्टलिस्ट गर्ने जनाएको छ। यी १० वटा डिजाइनहरुलाई बैंकको मूल्यांकन समिति वा बोर्डमा प्रस्तुत गर्न अवसरसमेत दिने बताइएको छ। 

उत्कृष्ट आर्किटेक्ट वा डिजाइनरलाई बैंकले पाँच लाख रुपैयाँको पुरस्कार दिने घोषणा गरेको छ। 

यस पछि उक्त डिजाइन बैंकको स्वामित्वमा आउने बताइएको छ। उक्त डिजाइनलाई डिटेल डिजाइनिङ र निर्माण मूल्यांकन गर्न भने छुट्टै सम्झौता गरेर अघि बढ्ने बैंकले जनाएको छ। बैंकले मंगलबारबाट सुरु हुने गरी ४५ दिन भित्र डिजाइन पेश गर्न समयावधि दिएको छ।