BIZMANDU
www.bizmandu.com

पौने दुई अर्बमा नेपाल मेडिकल कलेजको ४९% सेयर किन्दै अन्सारी, प्रतिकित्ता ७३० रुपैयाँमा डिल!

२०७८ असार २

पौने दुई अर्बमा नेपाल मेडिकल कलेजको ४९% सेयर किन्दै अन्सारी, प्रतिकित्ता ७३० रुपैयाँमा डिल!
पौने दुई अर्बमा नेपाल मेडिकल कलेजको ४९% सेयर किन्दै अन्सारी, प्रतिकित्ता ७३० रुपैयाँमा डिल!

Tata
GBIME
Nepal Life

काठमाडौं। राजधानीको जोरपाटीस्थित नेपाल मेडिकल कलेज (एनएमसी) को झन्डै आधा सेयर वीरगञ्जका मेडिकल व्यवसायी बसरुद्दिन अन्सारीले खरिद गर्ने भएका छन्। 

अन्सारीले एनएमसीको कुल ४९ प्रतिशत सेयर किन्न लागेका हुन्। स्वामित्व खरिद-बिक्रीबारे एनएमसी संचालक र अन्सारीबीच सहमति भएर सम्झौताको अन्तिम चरणमा पुगेको छ।

एनएमसी खरिदमा अन्य दुई मेडिकल व्यवसायीहरु उपेन्द्र महतो र डा. सुनिल शर्माले पनि गहिरो रुचि देखाएका थिए।

गैरआवासीय नेपाली महतो ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी हस्पिटलका संचालक हुन्। विराटनगरमा नोबेल मेडिकल कलेज चलाइरहेका शर्माले २०७७ भदौमा काठमाडौं (सिनामंगल) स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को २१ प्रतिशत सेयर प्रतिकित्ता ६ सय रुपैयाँको दरले किनेका थिए। पछि उनले थप सेयर किनेर स्वामित्व ४८ प्रतिशत पुर्‍याइसकेका छन्। 

शर्मा र महतो दौडबाट बाहिरिएसँगै वीरगञ्जको नेशनल मेडिकल कलेजका समेत संचालक रहेका अन्सारीले बहुमत सेयरधनी हुनेगरी एनएमसीमा लगानी गर्न लागेका हुन्।

अन्सारीले प्रतिकित्ता सात सय रुपैयाँका दरले सेयर खरिद गर्न लागेका हुन्। अंकित मूल्य १०० रुपैयाँ रहेको सेयरमा लाग्ने पुँजीगत लाभकर अन्सारीले नै तिरिदिने सहमति भएको स्रोतको दाबी छ। 

सेयरधनीको दर्ता किताबमा उल्लेख भएअनुसार अहिले एनएमसीको कुल सेयर संख्या ५० लाख २५ हजार ६६२ कित्ता हो। यसको ४९ प्रतिशत हुन आउने २४ लाख ६२ हजार पाँच सय ७४ कित्ता सेयरका लागि अन्सारीले प्रतिकित्ता सात सय रुपैयाँको दरले जम्मा एक अर्ब ७२ करोड ३८ लाख रुपैयाँ विद्यामान सेयरधनीलाई तिर्नेछन्।

यसबाहेक उक्त संख्याको सेयरमा प्रतिकित्ता ६ सय रुपैयाँका दरले हुने सेयरधनीको लाभमा सरकारलाई बुझाउनुपर्ने ५ प्रतिशत लाभकर पनि अन्सारीले नै ब्यहोर्ने छन्। यसअनुसार करिब एक अर्ब ४७ लाख ७५ हजार रुपैयाँको पाँच प्रतिशतबराबर रकम अर्थात् सात करोड ३८ लाख ७७ हजार २२० रुपैयाँ पनि अन्सारीले दिनेछन् ।

यो दुवै मिलाएर अन्सारीले एनएमसीको लगभग आधा हिस्सा स्वामित्वका लागि कुल एक अर्ब ७९ करोड ७७ लाख रुपैयाँ लगानी गर्दैछन्। यो रकमका आधारमा उनले समग्रमा प्रतिकित्ता ७३० रुपैयाँ दिनेगरी डिल गरेको हिसाबकिताब देखिन्छ। 

बिजमाण्डूको प्रश्नमा, प्रतिकित्ता सात सय रुपैयाँको दरले पुँजीगत लाभकर समेत तिरिदिने गरी एनएमसी संचालकसँग भएको सहमतिलाई अन्सारीले खुलेर 'हो' नभने पनि त्यसलाई नकारेनन् पनि। पौने दुई अर्ब रुपैयाँभन्‍दा बढी हालेर ४९ प्रतिशत सेयर खरिद गर्न लागेको कुरालाई पनि उनले प्रतिवाद गरेनन्।

यद्यपि, डिल क्लोज भइनसकेको अन्सारीको जिकिर छ। 'म एनएमसीमा लगानी गर्न एकदमै इच्छुक हो, लागिपरेको छु,' अन्सारीले भने, 'वीरगञ्जमा रहेर २२ वर्षदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय रहेकाले काठमाडौंमा पनि स्वास्थ्य सेवा विस्तार गर्ने मेरो सपना हो, त्यही सोचले एनएमसीमा लगानी गर्न चाहेको हो।'

एनएमसीका अध्यक्ष तथा अहिलेका बहुमत सेयरधनी डा. भोला रिजालले भने कुराकानी धेरै जनासँग भइरहेको भए पनि स्वामित्व खरिद बिक्री टुंगोमा पुगिनसकेको बताए। अन्‍सारीसँगको डिलबारे खुल्न नचाहेका उनले भने, 'अहिले मात्र नभएर ६ वर्षदेखि नै हामीले साझेदार भित्र्याउन खोजेका हौं। यसमा धेरै जनाले चासो देखाएका हुन्, अहिले पनि केहीसँग कुराकानी भइरहेको हो। तर पक्का भइसकेको छैन।'

एनएमसी संचालक समिति सदस्य इन्जिनियर योगेश्वर पराजुलीका अनुसार, रणनीतिक साझेदार भित्र्याउने गरी विद्यमान सेयरधनीहरुको हिस्साबाटै मिलाएर कुल ४९ प्रतिशत बिक्री गर्न लागिएको हो, कुनै खास समूहका संचालकको सेयर एकढिक्का बिक्री गर्न खोजिएको होइन। 

पराजुलीले यसो भने पनि संस्थापकद्वय स्वर्गीय डा. सचेकुमार पहारीका परिवार र स्वर्गीय डा. अन्जनीकुमार शर्माका छोरा डा. सुनिल शर्मा लगायत उनीहरुको पक्षका संचालकहरु आफ्नो सेयर बिक्री गर्ने मुडमा रहेको बुझिएको छ। एनएमसी संचालनमा आएको पाँच वर्ष वा त्योभन्दा पछि छिरेर एनएमसीमा बलियो पकड बनाएका ओम हस्पिटलका पूर्व डाक्टर लगायतको समूह भने सेयर बिक्री नगर्ने पक्षमा छ। 

यद्यपि, अहिलेका मुख्य लगानीकर्ता डा. रिजालले पनि आफ्नो केही सेयर बिक्री गर्ने बुझिएको छ। 

बिजमाण्डूलाई प्राप्त एनएमसीका सेयरधनीहरुको विवरणअनुसार, २०५७ माघमा एनएमसीमा भित्रिएका डा. रिजालसँग उनको परिवारको नाममा भएको समेत गरी अहिले सबैभन्दा धेरै (१४.०८%) स्वामित्व छ। रिजाल परिवारपछि नाम्गेल लामा र उनको परिवारको नाममा एनएमसीको ७.३४% सेयर छ। डा. आनन्दप्रसाद श्रेष्ठ र डा. अमित श्रेष्ठको संयुक्त नाममा ४.४०% छ। 

एनएमसीका संस्थापकमध्येका एक स्वर्गीय डा. सचेकुमार पहारीको नाममा रहेको सेयर २०७२ सालमा उनको मृत्युपछि परिवारका सदस्यहरु सावी पहारी, डा. अनुप पहारी र डा. अनिल पहारीको संयुक्त नाममा आएको छ। राजदरबारका तत्कालिन निजी चिकित्सक डा. पहारीको सेयर स्वामित्व नयाँ लगानीकर्ताहरु भित्रिएपछि ४.२३ प्रतिशतमा झरेको हो।

अन्य संस्थापकमध्ये लम्बोदर न्यौपानेसँग २.७७% र डा. सुनिल कुमार शर्मासँग २.३७% स्वामित्व छ। डा. अञ्जनीकुमार शर्माको २०७१ असोजमा मृत्युपछि उनको नामको सेयर छोरा सुनिलको नाममा आएको हो। संस्थापक डा. रामरत्नको सेयर पनि छोरा डा. सत्यम उपाध्यायको नाममा हस्तान्तरण भइसकेको छ, जुन अहिले १.८६ प्रतिशतमा सीमित छ।

यस्तै, संस्थापकबाहेक अस्पतालमा पछि छिरेका लगानीकर्ताहरुमध्ये धेरै स्वामित्व डा. गिसुपनिख प्रसिकोसँग (३.६२%) र ई. योगेश्वर पराजुलीसँग (३.३८%) रहेको छ। इन्जिनियरिङ अध्यापन तथा  प्राज्ञिक क्षेत्रमा लामो समय बिताएका पराजुली काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त समेत हुन्।

यीबाहेक अन्य सेयरधनीहरुसँग भने १.६९% देखि बढीमा ३.०२% सम्मको स्वामित्व छ।

अन्सारीले एनएमसीका संचालकहरुबाट खरिद गर्न लागेको सेयरका लागि तिर्ने रकमको फाइनान्सिङ सिभिल बैंकले गर्नेछ। यद्यपि, कति रकम बैंकले कर्जा लगानी गर्ने भन्ने खुलाइएको छैन।

मेडिकल अध्ययनका लागि एमबीबीएस, बीएससी नर्सिङ, बीडीएस, एमडी/एमएस (पीजी) लगायतका विविध शैक्षिक कार्यक्रम संचालन गरिरहेको एनएमसी चिकित्सा अध्ययन पूर्वाधार र क्षमताका हिसाबले नेपालकै अव्वलमध्ये मानिन्छ।

यसकारण पनि यसमा लगानी गर्न प्रतिस्पर्धामा अगाडि देखिएका अन्सारी, महतो र शर्माबाहेक अरु केही व्यक्तिहरुले पनि इच्छा देखाएको एनएमसी संचालक समिति स्रोत बताउँछ। 

एउटा ब्याचमा एमबीबीएसमा १५० जनासम्म र बीडीएसमा ५० जनासम्मलाई पढाउने क्षमता रहेको एनएमसीमा अहिले १२० जना एमबीबीएस अध्ययनरत छन् । 

यस्तै, पोस्ट ग्र्याजुएट (एमडी/एमएस) मा प्रि-क्लिनिकल (४६ जना) र क्लिनिकल (५२ जना) गरी कुल ९८ जना अध्ययनरत छन् । एमएससी (मेडिकल) पढ्ने १२ जना छन्।

भौतिक पूर्वधार तथा अचल सम्पत्तिहरु प्रशस्त रहेको एनएमसीको स्वामित्वमा अत्तरखेल (जाेरपाटी) मा करिब १३० रोपनीसहित उपत्यकाको झौखेल लगायतका स्थानमा गरी कुल १८० रोपनी हाराहारीमा जमीन रहेको बताइएको छ। यद्यपि, यो अहिले करिब ६ करोड संचित नोक्सानीमा रहेको बुझिएको छ।

अन्सारीभन्दा प्रतिकित्ता दुई सय रुपैयाँ महँगो प्रस्ताव गरेका थिए महतोले

२०५२ सालमा गैर नाफामुलक संस्थाका रुपमा स्थापना भएको एनएमसीलाई २०५६ मा प्राइभेट  लिमिटेड कम्पनीमा रुपमान्तर गरिएको  थियो । त्यसको एक वर्षपछि ४३ नयाँ साझेदार भित्रिएपछि लगानीकर्ताहरुको भीड बढेको भए पनि व्यवस्थापकीय चुस्तताको अभावमा अचल सम्पत्ति र अन्य स्वास्थ्य पूर्वाधारमा सम्पन्न भए पनि एनएमसीले लगानीकर्ताहरुलाई आकर्षक प्रतिफल खुवाउने गरी भने वित्तीय प्रगति गर्न सकेको छैन।

ठूलो संख्यामा रहेका लगानीकर्ताहरुले एकातिर पैसा हालेको वर्षौंसम्म पनि सोचेजसरी प्रतिफल नपाएको र अर्कोतर्फ संस्था सीमित लगानीकर्ताहरुको तजबिजीमा मात्र संचालन हुँदै गएपछि एनएमसीका संचालकहरुबीच नै विवाद हुँदै आएको एक संचालक बताउँछन्।

यसले एनएमसीको व्यवस्थापन तथा संचालनमा झन् झमेला बढाएपछि बाहिरिन खोज्नेलाई मार्ग प्रशस्त गरेर नयाँ साझेदार भित्र्याउने योजना झन्डै सात वर्षअघि नै बनाइएको थियो। सोहीअनुसार विभिन्न सम्भावित लगानीकर्तासँग एनएमसीका संचालकहरुले कुराकानी गर्न थालेकै ६ वर्ष भइसकेको छ।

सोही क्रममा केही महिनाअघि एनएमसीले कम्पनी सचिव अरुण खनालको नामबाट बढीमा ४९ प्रतिशत सेयर बिक्री गर्ने सूचना निकालेको थियो। चैत २० मा दोस्रोपटक प्रकाशित उक्त सूचनाअनुसार प्रतिकित्ता ५५५.५५ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता कुल रु. ६५५.५५ को दरले सेयर खरिदको प्रस्तावका लागि आह्वान गरिएको थियो। जसमा सरकारलाई (लाभमा) बुझाउनुपर्ने कर कट्टी गरेर सेयरधनीको हातमा न्यूनतम प्रतिकित्ता ६ सय रुपैयाँ पर्नुपर्ने समेत उल्लेख गरिएको थियो। (हे. सूचना)

तर उक्त सूचना प्रकाशित हुनुअघि नै सुनिल शर्माले प्रतिकित्ता ६ सयको दरले बिक्री गर्न चाहेजति सेयर किन्न प्रस्ताव गरेको उनीनिकट स्रोतको भनाइ छ। तर त्यहीबीच सम्भावित लगानीकर्ताका रुपमा उपेन्द्र महतोको इन्ट्री भएपछि शर्मा दौडबाट बाहिरिए। शर्मानिकट स्रोत भन्छ, 'हामीले कुनै मूल्यांकन वा डीडीए नगरिकनै प्रतिकित्ता ६ सय रुपैयाँको दरले खरिद गर्ने प्रस्ताव गरेका थियौं। त्यसमा कुराकानी भइरहेको थियो। तर त्यहीबीच महतोले नौ सयको दरले किन्ने भनेर प्रस्ताव गरेछन्। त्यसपछि चैत अन्तिममा हामी यसबाट बाहिरियौं।' 

उनको दाबीअनुसार शर्माले प्रस्ताव गर्दा एनएमसीले सेयर बिक्रीको सूचना निकालेकै थिएन। तर महतो र अन्सारीसमेतले चासो देखाएर शर्माले प्रस्ताव गरेकोभन्दा बढी मोल तिर्ने भनेपछि एनएमसीले त्यहीअनुसार ६ सयको दरभन्दा बढीमा ४९% सेयर बिक्री गर्ने गरी गोरखापत्रमा सूचना प्रकाशित गरेको जिकिर छ।

प्रतिकित्ता नौ सय रुपैयाँका दरले स्वामित्व खरिद गर्ने भनेका महतोले पनि एनएमसीसँग झन्डै डेढ महिनासम्ममा पनि कुरा टुंग्याएनन् । बरु जेठ दोस्रो सातातिर आइपुगेपछि उनले खरिद नै नगर्ने जानकारी एनएमसी संचालक समितिलाई गराएको स्रोत बताउँछ।

एनएमसी खरिदको होडमा सबैभन्दा अगाडि रहेका महतोले दौड छोडेपछि उनीभन्दा प्रतिकित्ता दुई सय रुपैयाँ कमको प्रस्ताव गरेका अन्सारीलाई एनएमसीका संचालकले सेयर बिक्री गर्न खोजेका हुन्। तर त्यो दरमा थप पुँजीगत लाभकर पनि ब्यहोर्ने सर्तमा अन्सारी राजी भएपछि उनीसँग यो डिल भएको स्रोतको भनाइ छ।