BIZMANDU
www.bizmandu.com

सेयर बजार २०% घट्दा यी कम्पनीको मूल्य भने ५५% सम्म घट्यो, धेरै जलविद्युत कम्पनीको घट्यो

२०७८ कात्तिक ६

काठमाडौं। सेयर बजार सूचक नेप्से ३२०० बिन्दुबाट २० प्रतिशत घटेर २६०० बिन्दुमा आउँदा केही कम्पनीको सेयर मूल्य भने ५५ प्रतिशतसम्म घटेको पाइएको छ।

Tata
GBIME
Nepal Life

गत भदौ २ गते सेयर बजार सूचकले ३२०० बिन्दु छोएको थियो। त्यसपछि भने नियामक निकायका विभिन्न कदम र लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदा बजार निरन्तर ओरालो लागेको थियो। 

विशेषगरि राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गरेपछि बजार ओरालो लाग्न सुरु भएको थियो। बैंक तथा वित्तीय संस्थामा तरलता अभाव चुलिएपछि बजार झन झन तल आएको हो।

पछिल्लो दुई महिनादेखि बजार निरन्तर घट्दा लगानीकर्ताको पोर्टफोलियो समेत निरन्तर घटिरहेको छ। केही कम्पनीको सेयर मूल्य त आधा भन्दा धेरै घटिसकेको छ।

८ कम्पनीको मूल्य ५० प्रतिशत बढी घट्यो
सबैभन्दा धेरै मूल्य घट्नेमा चन्द्रागिरी हिल्स पहिलो नम्बरमा रहेको छ। जसको सेयर मूल्य पछिल्लो एक वर्षको अवधिमा अधिकतम २८०० सम्म पुगेकोमा अहिले करिब ५५ प्रतिशत घटेर १२८० रुपैयाँमा आएको छ।

त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर मूल्य पनि सर्वाधिक घट्नेमा दोस्रो नम्बरमा आएको छ। निफ्राको सेयर मूल्य पछिल्लो एक वर्षको अवधिमा अधिकतम ७२६ रुपैयाँ सम्ममा किनबेच भएकोमा अहिले ३३८ रुपैयाँमा आइसकेको छ। निफ्राको सेयर मूल्य ५३ प्रतिशतले घटेको छ।

त्यस्तै साल्ट ट्रेडिङ कम्पनीको सेयर मूल्य सर्वाधिक घट्नेमा तेस्रो नम्बरमा रहेको छ। पछिल्लो एक वर्षको अवधिमा कम्पनीको सेयर सर्वाधिक १३,७८० रुपैयाँ सम्ममा किनबेच भएकोमा अहिले ५२ प्रतिशत मूल्य घटेर ६५७४ रुपैयाँमा झरेको छ।

सुरुवाती तीन वटा कम्पनीहरु होटल तथा पर्यटन, लगानी र व्यापार समूहका रहेका छन्। त्यसपछि भने अधिकांस जलविद्युत समूहका कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको देखिन्छ।

माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य एक वर्षको अवधिमा सर्वाधिक ७२० रुपैयाँसम्ममा कारोबार भएकोमा अहिले ५२ प्रतिशत मूल्य घटेर ३४५ रुपैयाँमा झरेको छ।

युनियन हाइड्रोपावरको सेयर मूल्य पनि ५२ प्रतिशतले घटेको छ। एक वर्षको अवधिमा अधिकतम ६१२ रुपैयाँ सम्म पुगेको कम्पनीको सेयर मूल्य अहिले २९६ रुपैयाँमा झरेको छ।

त्यस्तै नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य ५१ प्रतिशतले घटेको छ। एक वर्षको अवधिमा अधिकतम ८४० रुपैयाँ सम्म पुगेको कम्पनीको सेयर मूल्य अहिले ४०८ रुपैयाँमा झरेको छ।

ङादी ग्रुप पावर कम्पनीको सेयर मूल्य पनि ५१ प्रतिशत घटेको छ। एक वर्षको अवधिमा अधिकतम ११६४ रुपैयाँ सम्ममा कारोबार भएको कम्पनी सेयर अहिले ५७२ रुपैयाँमा कारोबार भइरहेको छ।

राधि विद्युत कम्पनीको सेयर मूल्य भने ठिक ५० प्रतिशतले घटेको छ। एक वर्षको अधिकतम मूल्य १०३९ रुपैयाँ रहेकोमा राधिको अहिले ५२२ रुपैयाँमा झरेको छ।

सर्वाधिक मूल्य घट्ने अन्य कम्पनीहरुमा जीवन बीमा, फाइनान्स, निर्जिवन बीमा र विकास बैंकहरु अघि देखिएका छन्।

सिनर्जी पावर, युनिभर्सल पावर, एचआइडिसिएल, हिमालयन पावर पार्टनर, अरुण भ्याली, खानीखोला, सानीमा माइ र घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ४९ देखि ४६ प्रतिशत सम्म घटेको छ।

ज्योति लाइफ, गुर्खाज फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य समान ४५/४५ प्रतिशतले घटेको छ।

दोस्रो बजारमा नियमित कारोबार हुने मध्ये करिब २०० कम्पनी मध्ये करिब आधा कम्पनीको सेयर मूल्य ४० देखि ५५ प्रतिशत सम्म घटेको पाइएको छ।