BIZMANDU
www.bizmandu.com

डन्डीको मूल्य १३ रुपैयाँ घट्यो, सिमेन्टको स्थिर, कोइलालाई कारण देखाउँदै बढ्यो इँटाको भाउ


डन्डीको मूल्य १३ रुपैयाँ घट्यो, सिमेन्टको स्थिर, कोइलालाई कारण देखाउँदै बढ्यो इँटाको भाउ
डन्डीको मूल्य १३ रुपैयाँ घट्यो, सिमेन्टको स्थिर, कोइलालाई कारण देखाउँदै बढ्यो इँटाको भाउ


काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा बिलेट र कोइलाको दाम घटेपछि स्वदेशी उद्योगीहरुले डन्डीको मूल्य प्रतिकिलो १३ रुपैयाँसम्म घटाएका छन्। 

Tata
GBIME
Nepal Life

११३ रुपैयाँसम्म उक्लिएको डन्डीको मूल्य अहिले घटेर न्यूनतम ९८ देखि १०० रुपैयाँ आइपुगेको अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपानेले बताए। ‘अहिले डन्डीको मूल्य घटेको छ। अन्तर्राष्ट्रिय बजारअनुसार डन्डीको मूल्य समायोजन हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कोइला, बिलेटको मूल्य घटबढ हुँदा स्थानीय बजारमा त्यसको प्रत्यक्ष प्रभाव पर्छ,’ न्यौपानेले भने। 

एक महिनाको अन्तरालमा डन्डीको भाउ १ सय ७ रुपैयाँदेखि अधिकतम ११३ रुपैयाँबाट ९८ देखि १०० रुपैयाँसम्म झरेको निर्माण सामाग्री व्यापार महासंघका संस्थापक महासचिव शिवप्रसाद मानन्धरले जानकारी दिए। मानन्धर भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षसमेत हुन्। 

भट्टी नभएका पञ्चकन्या, साख:, हिमाल, हामा लगायतका डन्डी कम्पनीहरुको भाउ प्रतिकिलो ११३ रुपैयाँसम्म पुगेको थियो। बिलेटको मूल्य पनि पाँच सात डलर घटेको न्यौपानेले बताए। अघिल्लो महिना बिलेटको मूल्य ६३५ डलर हाराहारी घुमिरहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य गत महिना बढेको भए पनि अहिले घट्दै गएको न्यौपानेले जानकारी दिए। गत महिना २४० अमेरिकी डलर हाराहारी पुगेको कोइलाको भाउ अहिले करिब ५० डलर घटेको उनले बताए। 

‘सिमेन्टको मूल्य पहिला त्यसै घटेकै छ। उद्योगहरु धेरै भएर प्रतिस्पर्धा धेरै छ। कम्पनीहरुले धेरैपटक सिमेन्टको भाउ बढाउन खोजेका थिए।कोइलाको मूल्य बढ्दा सबैले सल्लाह गरेर उत्पादन लागत बढ्ने भयो भन्दै भाउ बढाउने प्रयास भएको थियो,’ न्यौपानेले भने, ‘तर, बजार तान्न नसकेर मूल्य बढ्न सकेन। अहिले कोइलाको मूल्य घट्न थालेपछि पुरानै अवस्था आएको छ।’

होङ्सी, अर्घाखाँचीसहितका ठूला सिमेन्ट उद्योगहरुमा सरकारले विद्युत पुर्‍याउने काम आक्रामक बनाएसँगै उत्पादन लागत घट्दै गएको छ। यसले पनि सिमेन्टको मूल्यवृद्धि नियन्त्रण गर्न उद्योगीहरुलाई सघाउ पुगेको बताइएको छ। 

सिमेन्टको मूल्य स्थिर

सिमेन्टको मूल्य भने स्थिर छ। अहिले काठमाडौं उपत्यकामा ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा आठ सयदेखि ८५० रुपैयाँ हाराहारी रहेको मानन्धरले जानकारी दिए। यस्तै, पीपीसी सिमेन्ट प्रतिबोरा ७५० रुपैयाँ पर्ने उनले बताए। 

गत महिना ओपीसी सिमेन्टको मूल्य ब्राण्डअनुसार आठ सयदेखि आठ सय ५० रुपैयाँ हाराहारी थियो। भारतसहित अन्य देशहरुमा कोइलाको अभावका कारण सिमेन्टको मूल्य बढ्न पुगेको थियो। तर, अहिले कोइलाको मूल्य घटेकाले सिमेन्टको मूल्य ओरालो लाग्दै गएको बताइएको छ।

अघिल्लो महिना प्रति टिपर २४ हजार रुपैयाँ हाराहारी पर्ने रोडा/गिट्टीको भाउ अहिले बढेर प्रति टिपर ३०/३१ हजार रुपैयाँ पुगेको बताइएको छ। सानो ट्रक/टिपरको भने ११ हजार रुपैयाँ पर्छ। 

कोइलाको मूल्यवृद्धिलाई कारण देखाउँदै इँटाको मूल्य पनि बढेको छ। काठमाडौंमा १ नम्बर इँटाको मूल्य प्रति गोटा १७ रुपैयाँ पुगेको छ। 
तराईं इँटाको मूल्य काठमाडौंमा प्रतिगोटा २० रुपैयाँ छ। भक्तपुर टायलको चाइनिज इँटा प्रतिगोटा २३ रुपैयाँ हाराहारी पर्ने र अन्य चाइनिज इँटाको भाउ प्रतिगोटा १८ रुपैयाँ पर्ने बताइएको छ। घर निर्माणको सिजन सुरु भएसँगै इँटाको मूल्य कोइलाको मूल्य देखाउँदै बढ्न सक्ने देखिन्छ।

यस्तै, बालुवाको मूल्य भने स्थिर देखिन्छ। अहिले पनि बालुवाको भाउ प्रति टिपर २७/२८ हजार रुपैयाँ र सानो टिपरको १२ हजार रुपैयाँ पर्छ।

सरकारी नीतिले ह्वात्तै बढ्यो स्पञ्ज आइरनको आयात

सरकारले डन्डी उद्योगमा बढी मूल्य अभिवृद्धि होस् भनेर स्पन्ज आइरनको भन्सार शून्यमा झारेर आयातित बिलेटमा लाग्ने अन्त:शुल्क बढाएको थियो। जसका कारण एक तहमाथिको कच्चा पदार्थ बिलेट आयात गरेर डन्डी बनाउने उद्योगले समेत स्पन्ज आइरनबाट बिलेट बनाउने उद्योग स्थापना गर्नुपर्ने बाध्यता आइलागेको छ। 

सरकारले स्पन्ज आइरनमा लाग्दै आएको पाँच प्रतिशत भन्सार पूर्णरुपमा हटाएको थियो। आयातित बिलेटमा लाग्ने अन्तःशुल्क भने प्रतिटन १६५० रुपैयाँबाट बढाएर २५०० रुपैयाँ पुर्‍याएको थियो।

जसका कारण चालू आवको पहिलो चार महिनामा पाँच अर्ब ४६ करोड ६३ लाख रुपैयाँबराबरको १० करोड १९ लाख ३७ हजार १२० किलो स्पञ्ज आइरन आयात भएको भन्सार विभागले जनाएको छ। जसबाट सरकारले उक्त अवधिमा आठ करोड १७ लाख रुपैयाँ भन्सार उठाएको छ। 

गत आव २०७६/७७ को पहिलो चार महिनामा एक अर्ब ४७ करोड ७४ लाख रुपैयाँबराबरको चार करोड ६९ लाख १९ हजार ८०० स्पञ्ज आइरन आयात भएको विभागकै तथ्यांक छ। सरकारी नीतिकै कारण चालू आवको पहिलो चार महिनामै उल्लेख्य मात्रामा स्पञ्ज आइरन नेपाल भित्रिएको देखिन्छ।

गत आवमा कुल सात अर्ब ८७ करोड ९७ लाख रुपैयाँबराबरको १९ करोड १५ लाख ९५ हजार १७० किलो स्पञ्ज आइरन आयात भएको थियो। नेपालमा स्पञ्ज आइरन भारतबाट आयात हुँदै आएको छ। 

आयातित कच्चा पदार्थ वा स्वदेशमा हुने उत्पादनमध्ये कुनै एकमा अन्तःशुल्क लाग्ने भएकाले यो कर सुविधा कार्यान्वयनमा आएसँगै नेपालमै उत्पादन हुने बिलेट वा फलामजन्य वस्तुमा सरकारले यसअघि लगाउँदै आएको अन्त:शुल्क पनि हटेको थियो। यसअघि यो किलोमा एक रुपैयाँ ६५ पैसा पर्थ्यो।