BIZMANDU
www.bizmandu.com

आन्तरिक वायुसेवाले मध्यरातसम्म गर्न थाले उडान,  त्रिभुवन विमानस्थल २१ घन्टा चलाउने तयारी


आन्तरिक वायुसेवाले मध्यरातसम्म गर्न थाले उडान,  त्रिभुवन विमानस्थल २१ घन्टा चलाउने तयारी
आन्तरिक वायुसेवाले मध्यरातसम्म गर्न थाले उडान,  त्रिभुवन विमानस्थल २१ घन्टा चलाउने तयारी

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा पछिल्लो समय राती १२:०० बजेसम्म आन्तरिक उडानका जहाज अवतरण हुन थालेका छन्। मौसमका कारण आन्तरिक उडानमा ढिलाइ हुँदै गएपछि मध्यरातसम्म जहाज अवतरण हुन थालेको हो। 

Tata
GBIME
Nepal Life

यसरी राति अबेरसम्म उडान गर्ने आन्तरिक वायुसेवाहरुमा बुध्द, यती, श्री, सौर्य लगायत निजी हवाई कम्पनीहरु रहेका छन्। 

आन्तरिक वायुसेवा कम्पनीहरुको भनाइ अनुसार पछिल्लो समय यात्रुको चापका कारण उडान माग नै बढ्दै गएको छ। यसरी बढ्दो माग सम्बोधन गर्न थप गरिएका उडान तालिका त्यसै पनि लम्बिएको अवस्था छ भने जाडो लागेसँगै मौसम प्रतिकुलताका कारण डिले भएका फ्लाइटले नियमित उडान तालिका बिथोलिएको छ। वायुसेवा कम्पनीहरुका अनुसार अहिले दैनिक चार घन्टासम्म उडान डिले हुन थालेको छ।

यही कारण पनि अहिले फ्लाइट डिलेले निर्धारित तालिका पछाडि धकेलिँदै जाँदा मध्यरातसम्म आन्तरिक उडान भइरहेको हो।

बिहानको समयमा मौसम प्रतिकुलताका कारण तालिकामा डिले हुँदा अहिले मध्यरातसम्म उडान हुँदै आएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। उनका अनुसार जाडोयाममा पोखरा, भैरहवा, नेपालगञ्ज, जनकपुर, विराटनगर लगायत विमानस्थल मौसमका कारण बन्द हुँदै आएको छ।

ठाकुर भन्छन्, 'इन्सट्रुमेन्ट फ्लाइट रुल्स अन्तर्गत सेवा लागु हुँदै गर्दा प्रतिघण्टा अन्तर्राष्ट्रिय र आन्तरिक गरी १२ वटा उडान गराउँदै आएका छौँ। त्यसको प्रभाव सबै वायुसेवा कम्पनीलाई पर्न आउँछ। एक पछि अर्को डिले हुँदै गएपछि राती उडान गर्नुपर्ने अवस्था आएको हो।'

दिउँसो भीड हुँदै गएपछि पछिल्लो समय आन्तरिक वायुसेवा कम्पनी रात्रीकालिन समयको सदुपयोगमा लागेको उनको भनाइ छ। निजी वायुसेवा कम्पनी बुध्द एयरले काठमाडौं-विराटनगर-काठमाडौं रुटको उडानका लागि राती ९:३० बजेसम्मको तालिका बनाएर टिकट बिक्री गरिरहेको छ।
'रातीको समयमा चार्टर फ्लाइट त भएको छ। यातायात सहजता र वायुसेवा कम्पनीले चासो देखाएको अवस्थामा हामी आन्तरिकतर्फ उडान सेवा दिँदै आएका वायुसेवा कम्पनीलाई आइएफआर लागु हुने विमानस्थलमा उडान अवतरण अनुमति दिन तयार छौँ। यस्ता वायुसेवा कम्पनीलाई हामी स्वागत गर्छौं,' उनले भने।
 

त्रिभुवन विमानस्थल २१ घन्टा संचालनमा ल्याउने तयारी
आन्तरिक र अन्तरराष्ट्रिय दुवैतर्फको उडान संख्या कम्तिमा ५० देखि शतप्रतिशतसम्म बढेसँगै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) ले सेवा २१ घन्टा संचालन गर्ने तयारी गरेको छ। आन्तरिकतर्फ सतप्रतिशत र अन्तर्राष्ट्रियतर्फ ५० प्रतिशत उडान संख्या बढेसँगै टीआईएले सेवा अवधि पुनः २१ घण्टा कायम गर्ने योजना बनाएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए।

टीआईएको अन्तरराष्ट्रियतर्फको उडान सेवा औपचारिक रुपमा साढे १८ घन्टा अर्थात् बिहान ६ बजेदेखि राती साढे १२ बजेसम्म संचालन भइरहेको हो। अहिले भने वायुसेवा कम्पनीहरुको मागअनुसार यसलाई बढाएर बिहान २ बजेसम्म बनाइएको उनले जानकारी दिए। यसलाई औपचारिक रुपमा नै बिहान ३ बजेसम्म नै संचालन गर्नका लागि भन्सार, अध्यागमन लगायत निकायसँग छलफल अघि बढेको पनि ठाकुरले बताए।

ेउनका अनुसार कोभिडअगाडि अन्तर्राष्ट्रियतर्फ दैनिक एक सयवटा उडान-अवतरण हुँदै आएको थियो। हाल अन्तर्राष्ट्रिय उडान नै दिनको ५० वटा उडान अवतरण भइरहेको उनले बताए। अवस्था सामान्य हुन थालेसँगै चीन, थाइल्याण्ड, बहराइन लगायत देशका वायुसेवा कम्पनीले पुनः उडान सुरु गर्न चासो देखाएको पनि उनले जानकारी दिए। यसैगरी, आन्तरिकतर्फ पनि दैनिक तीन सयवटा उडान-अवतरण हुँदै आएको ठाकुरले बताए।