BIZMANDU
www.bizmandu.com

गायक योगेश्वर अमात्यको १९ करोडको जग्गा प्रकरण: राष्ट्र बैंक टोलीले अनुसन्धान सक्यो, अलग भए सीइओ

२०७८ मंसिर २०

काठमाडौं। गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजपत्र बनाएर ऋण लिएको विषयमा अनुसन्धान गरेको राष्ट्र बैंकको टोलीले अध्ययन प्रतिवेदन बुझाएको छ।

Tata
GBIME
Nepal Life

नियमित अनुगमनमा गएको टोलीले नै यो विषयको पनि अनुसन्धान गरेको थियो। यसको छुट्टै अनुसन्धान गरेर टोलीले बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई प्रतिवेदन बुझाएको हो।

स्रोतका अनुसार, यो ऋणमा बैंक कर्मचारीको नियतभन्दा पनि आन्तरिक जोखिम नियन्त्रण प्रणाली कमजोर रहेको औंल्याएको छ। 

गायक योगेश्वर अमात्यले केही वर्षअघि बाराको विश्रामपुरमा २५ बिघा जग्गा किनेका थिए। त्यसमध्ये १३ बिघा बिक्री भइसकेको छ। बाँकी रहेको १२ बिघा अमात्यको नाममै छ। कलैया नजिकै मूल सडकमा छोएको जग्गा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेपछि धेरैको आँखामा परेको थियो। 

यही जग्गाको नक्कली कागजपत्र बनाएर कुमारी बैंकबाट ऋण चलाइएको थियो। १९ करोड रुपैयाँ लिइएको ऋण अहिले भुक्तानी भइसकेको छ।

यो ऋणमा क-कसको गल्ती भयो? प्रणालीमा कहाँ खोट देखियो भनेर राष्ट्र बैंकले अनुसन्धान गरेको हो। कुमारी बैंकबाट लगिएको ऋण रकम सिद्धार्थ बैंकमा सारिएको थियो। त्यहाँबाट ९ लाख ९९ हजार दरका चेक काटिएर नगद भुक्तानी भएका छन्। १० लाखभन्दा माथि नगद झिक्न नपाइने भएकाले ९ लाख ९९ हजार दरले पैसा झिकिएको छ।

त्यसैले राष्ट्र बैंकको टोलीले सिद्धार्थ बैंकको पनि अनुगमन गरेको थियो। यो टोलीले पनि आफ्नो प्रतिवेदन बुझाइसकेको छ। यो प्रारम्भिक प्रतिवेदन रहेको विभाग स्रोतले जनाएको छ।

यता अनुसन्धानलाई सहयोग पुगोस् भनेर कुमारी बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र डेपुटी प्रमुख कार्यकारी अधिकृत मनिष तिमिल्सिना बैंकको जिम्मेवारीबाट केही समय अलग भएका छन्। अहिले कार्यवाहक प्रमुख कार्यकारीको जिम्मा प्रमुख सञ्चालन अधिकृत रामचन्द्र खनाललाई दिइएको छ।