BIZMANDU
www.bizmandu.com

सीईले ल्यायो मिक्स रियल इस्टेट, हाउजिङदेखि कमर्सियल कम्प्लेक्स एकै ठाउँमा, मूल्य कति?

२०७८ फागुन ७

सीईले ल्यायो मिक्स रियल इस्टेट, हाउजिङदेखि कमर्सियल कम्प्लेक्स एकै ठाउँमा, मूल्य कति?
सीईले ल्यायो मिक्स रियल इस्टेट, हाउजिङदेखि कमर्सियल कम्प्लेक्स एकै ठाउँमा, मूल्य कति?

काठमाडौं। घरजग्गा व्यवसाय ठप्प रहेको भनिएकै बेला रियल इस्टेट डेभलपर सीई कन्सट्रक्सनले रुपन्देहीको तिलोतमामा नयाँ परियोजना लञ्च गरेको छ। शुक्रबार सार्वजनिक यस परियोजनामा रियल इस्टेटका मिक्स प्रडक्टहरु हुनेछ। 

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार यसमा छुट्टाछुट्टै घरहरुका साथै अपार्टमेन्ट र कमर्सियल कम्प्लेक्सहरु एउटै कम्पाउन्डभित्र निर्माण हुनेछन्।

कुल ४० रोपनी क्षेत्रफलमा बन्ने यस परियोजनालाई सीईले 'माया कम्प्लेक्स' नाम दिएको छ। यसमा स्ट्यान्ड अलोन हाउजिङ (छुट्टाछुट्टै घर) नै ४८ वटा हुने बताइएको छ। कुल तीन प्रकारमा हुने सबै घरहरु साढे दुई तलाका हुनेछन्, जसको बिल्टअप एरिया २०६० वर्गफिटदेखि २२०० वर्गफिटसम्म हुनेछ। 

सबैभन्दा ठूलो घर चार बेडरुमको हुने बताइएको छ। त्यसमा किचेन, डाइनिङ एरिया, लिभिङ रुम, फेमिली रुम, लण्ड्री रुम, पूजा कोठा, बाल्कोनी, क्लोसेट इत्यादि सबै हुनेछ। 

परियोजनाभित्र केटाकेटीका लागि खेलकुद गर्ने क्षेत्र, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिर लगायत अन्य विभिन्न सामुदायिक सुविधाहरु रहने बताइएको छ। 

भैरहवाको बुद्ध चोकबाट ६ किलोमिटरमा रहेको यो परियोजना राजमार्गबाट जम्मा १.१ किलोमिटरको दूरीमा पर्ने कम्पनीको भनाइ छ। 
न्यूनतम चार आना हाराहारीको प्लट साइजबाट सुरु हुने यस परियोजनाका घरको मूल्य दुई करोडमाथि रहेको छ।

कम्पनीका प्रबन्ध निर्देशक विजय राजभण्डारीका अनुसार, शुक्रबार मात्र लञ्च भएको यस परियोजनाका केही घरहरु भने बुकिङ समेत भइसकेका छन्। 'अहिले पहिलो चरणमा हाउजिङ मात्र लञ्च भएको भए पनि अर्को चरणमा अपार्टमेन्ट र कमर्सियल कम्प्लेक्स पनि ल्याउने छौं,' राजभण्डारीले भनेका छन्, 'माया कम्प्लेक्स यस क्षेत्रको ल्याण्डमार्क हुनेछ।'

नेपालको रियल इस्टेट क्षेत्रमा आक्रामक रुपमा अघि बढेको सीई समूहअन्तर्गतको यस कम्पनीले पछिल्लो समय काठमाडौं उपत्यका बाहिर परियोजना विस्तारमा आफूलाई केन्द्रित गरेको छ। 

'टेरिटोरियल एक्सपान्सन'को योजनाअनुरुप उपत्यका बाहिरका शहरहरुमा व्यवस्थित हाउजिङ विकास गर्ने बताएको सीईले यसअघि पूर्वको विराटनगरमा त्यसअन्तर्गतको पहिलो परियोजना ल्याएको थियो। कम्पनीले रुपन्देहीमै 'द हब-लुम्बिनी' नाममा टाउनशीप परियोजना पनि अघि बढाएको छ। नेपालमा अहिलेसम्मकै सबैभन्दा विशाल मिक्स प्रोपर्टीको उक्त परियोजनामा हाउजिङ र अपार्टमेन्टसमेत हुनेछन्। 

सोपछि पोखरामा पनि केही अघि फेवा रेसिडेन्सी लञ्च गरेको सीईले रुपन्देहीमा दोस्रो रियल इस्टेट परियोजना 'माया कम्प्लेक्स' नाममा ल्याउन लागेको हो।