BIZMANDU
www.bizmandu.com

सस्ता जुत्ता बनाउने भारतीय कम्पनीका संस्थापक बने डलर अर्बपति, जुत्ता उद्योगकै ठूलो प्लेयर

२०७९ जेठ ३

भारतले हालै नयाँ डलर अर्बपति पाएको छ। ६६ वर्षका हरिकिसन अग्रवाल दिल्लीस्थित जुत्ता कम्पनी क्याम्पस एक्टिभ वेयरका संस्थापक हुन्।

Tata
GBIME
Nepal Life

कम्पनीले हालै जारी गरेको आइपिओ २३ प्रतिशत प्रिमियममा लिस्टिङ भएपछि त्यसको ७४ प्रतिशत शेयर स्वामित्व रहेका अग्रवालको सम्पत्ति १ अर्ब डलरमाथि पुगेको हो।

९ अर्ब डलरको भारतीय जुत्ता उद्योगमा अग्रवाल अघि हालैका वर्षहरुमा तीनजना संस्थापकहरु डलर अर्बपति बनिसकेका छन्।

यसअघि रिल्याक्सो फुटवेयरका संस्थापक दाजुभाई मुकुन्द लाल दुवा र रमेश कुमार दुवा तथा मेट्रो ब्राण्डका रफिक मलिक डलर अर्बपति बनेका थिए।

हरिकिसन अग्रवाल जुत्ता उद्योगका नयाँ डलर अर्बपति हुन्। उनले सन् १९८३ मा एक्सन ब्राण्डको स्पोर्ट्स जुत्ता उत्पादन थालेका थिए।

सन् २००५ मा उनले क्याम्पस स्पोर्ट्स जुत्ता उत्पादन गरे जसको मूल्य १० डलरभन्दा पनि कम थियो। यो सस्तो बजेटको जुत्ताले क्याम्पसलाई नाइकी, एडिडास र पुमाजस्ता ३५ डलरमाथिका जुत्ताहरुको बजारमा सजिलै प्रतिस्पर्धा गर्न मद्दत गर्यो। उनले भारतमा स्पोर्ट जुत्ताको बजारमा रहेको ठूलो भ्याकुमलाई अवसरमा बदल्न सके। कम्पनीले लो बजेटका अर्थात १० देखि ४० डलर मूल्यका सस्ता उत्पादनहरु थाल्यो।

सन् २०२२ मा गुरगाव कन्सल्टिङ फर्म टेक्नोपाकले प्रकाशन गरेको एक प्रतिवदेनका अनुसार सन् २०२१ मा क्याम्पस भारतकै ब्राण्डेड स्पोर्ट्स तथा एथलेस्योर सेगमेन्टमा सबैभन्दा ठूलो प्लेयर बनेको थियो।

कम्पनीको भारतभर मूल्यका आधारमा १७ प्रतिशत बजार हिस्सा रहेको छ भने जुत्ता बिक्री संख्याका आधारमा झण्डै २५ प्रतिशत बजार हिस्सा लिएको छ।

क्याम्पसले सन् २०२१ मा १ करोड ३० लाख जोर जुत्ता बिक्री गरेको थियो। त्यसबाट कम्पनीले ९ करोड ४० लाख डलर रेभेन्यू संकलन गरेको थियो।

त्यस अघिल्लो वर्षमा कम्पनीले ९ करोड ५० लाख डलर रेभेन्यू संकलन गरेको थियो। कोभिड महामारीका कारण कम्पनीको बिक्री केही घटेपनि पछि बिस्तारै लयमा फर्किँदै कम्पनीले सन् २०२१ को डिसेम्बर महिनासम्म आइपुग्दा ११ करोड १० लाख डलरको कारोबार गरेको थियो।

हाल कम्पनीमा संस्थापक हरिकिसनका ३७ वर्षका छोरा निखिल सिइओ छन्। इन्डस्ट्रियल इन्जिनियर निखिल सन् २००८ देखि कम्पनीमा कार्यरत थिए। ९ वर्ष काम गरेपछिमात्र उनले सिइओको भूमिका पाएका हुन्। यस्तै निखिलकी श्रीमती प्रेरणा हाल कम्पनीकी चिफ मार्केटिङ अफिसर छिन्।

विश्लेषकहरुका अनुसार क्याम्पसको स्पोर्ट्स जुत्ताहरुको बजार सबैभन्दा तीब्र गतिले बृद्धि भैरहेको सेगमेन्ट अन्तर्गत पर्दछ। अन्य जुत्ताहरुको भन्दा स्पोर्ट्स जुत्ताहरुको बजार लगातार बढ्दो छ।

कम्पनीले हाल आफ्नो भौगोलिक पहुँचलाई अझ बिस्तार गरिरहेको छ। हाल क्याम्पसका स्पोर्ट्स जुत्ताहरुको प्रमुख बजारका रुपमा पूर्वी र उत्तरी भारतका साना क्षेत्रहरु रहेपनि अब उसले ठूला मेट्रो शहरहरुमा आँखा लगाइरहेको छ। यसबाट भारतभर आफ्नो ब्राण्ड स्थापित गर्ने कम्पनीको लक्ष्य रहेको छ। यसका साथै कम्पनीले आफ्नो प्रोडक्ट रेन्जहरु बढाउँदै स्पोर्ट्समात्र नभई क्याजुअल जुत्ताहरु पनि उत्पादन गर्ने तयारी गरेको छ। (फोर्ब्सबाट)