BIZMANDU
www.bizmandu.com

घरजग्गा बजारमा ‘डिस्ट्रेस’: बेच्नेको ‌ओइरो, किन्ने शून्य, एजेन्टकोमा प्रोपर्टी लिस्टिङको चाङ


घरजग्गा बजारमा ‘डिस्ट्रेस’: बेच्नेको ‌ओइरो, किन्ने शून्य, एजेन्टकोमा प्रोपर्टी लिस्टिङको चाङ
घरजग्गा बजारमा ‘डिस्ट्रेस’: बेच्नेको ‌ओइरो, किन्ने शून्य, एजेन्टकोमा प्रोपर्टी लिस्टिङको चाङ

काठमाडौं। तरलता अभाव अत्यधिक चर्किएपछि घरजग्गा बिक्नै छाडेको छ। काठमाडौं उपत्यकासहित देशका सहरी क्षेत्रहरुमा घरजग्गा कारोबार अहिले यति सुस्त अवस्थामा पुगेको छ कि किन्ने फेला पार्नै मुस्किल भएको छ। 

Tata
GBIME
Nepal Life

घरजग्गा बिक्री हुनै छोडेपछि अहिले नाम चलेका एजेन्टहरुको वेबसाइटमा प्रोपर्टी लिस्टिङको चाङ लाग्न थालेको छ। एजेन्टहरुकहाँ आफ्नो घरजग्गा बिकाइदिनका लागि लिस्टिङ गराउने आउने मात्र हुने गरेका छन्। तर घरजग्गा बेच्नेको ओइरो लागे पनि किन्ने भन्ने लगभग शून्यप्रायः रहेको रियल इस्टेट ब्रोकरहरु बताउँछन्। 

बैंकबाट ऋण लिएर घर बनाउनेदेखि अवस्था सामान्य हुँदा मिटरब्याजमा पैसा उठाएर घर बनाउँदै बेच्नेहरु किन्ने ग्राहक नपाउँदा रन्थनिएका छन्। किन्ने ग्राहकहरु पनि बैंकबाट कर्जा पाउने अवस्थामा छैनन्। पैसा हातमा हुनेहरु पनि भाउ घट्ने मनोविज्ञानका कारण 'होल्ड' भएर बसेका छन्। यसलाई घरजग्गा एजेन्टहरु पनि स्वीकार्न तयार छन्। 

घरजग्गा बजार सुस्ताएकाले घरजग्गा लिस्टिङ गर्नेदेखि एजेन्टहरुमा बिक्री गर्न आउनेको संख्या बढ्दै गएको  बसोबास डटकमका सीइ‌ओ राजन अधिकारीले जानकारी दिए। 

'बैंक तथा वित्तीय संस्थाहरुमा तरलता नभएको समयमा मान्छेहरु आफ्नो प्रोपर्टी बेच्न खोजिरहेका छन्। त्यसैले गर्दा हाम्रो प्लाटफर्ममा पनि अरुबेलाको तुलनामाभन्दा बढी नै घरजग्गा बिक्री लिस्टिङ भइरहेका छ। सामान्य अवस्थाको तुलनामा अहिले २५ प्रतिशतले लिस्टिङ बढेको छ,' अधिकारीले भने, 'बढेको कारण पनि लिस्टिङ भएका प्रोपर्टी नबिकेर हो। नबिकेपछि चाङ लाग्दै गएको छ।'

यस्तै, प्रोपर्टी ३६० का सीइओ सन्तोष प्रधानले पनि घरजग्गा बिक्रीका लागि लिस्टिङ गराउनेहरुको संख्या बढिरहेको बताएका छन्। 

'ठ्याक्कै यत्ति नै प्रतिशतले लिस्टिङ बढेको छ भनेर त म भन्न सक्दिँन। तर, हो पक्कै पनि घरजग्गाको सेल्स प्रेसर अधिक छ। तैपनि बिक्री गर्न खोज्नेहरुले मूल्य घटाउन भने चाइरहेका छैनन्। सेलको दबाब जति आइरहेको त्यो अनुसार मूल्य घट्नुपर्ने हो, फ्रि फल हुनुपर्ने हो त्यो भइरहेको छैन,' प्रधानले भने,'मूख्य कारण भनेकै 'क्यास इज किङ'। तरलता चर्किएकै कारण हो यस्तो भइरहेको छ। पैसा हुँदो हो त जग्गाको भाउ सुइँ सुइँ बढ्थ्यो। ब्याजदेखि ऋण लिन पैसा हुन्थ्यो।'  

घर पास गर्न चाहनेहरुलाई बैंकिङ कर्जा माग्दा पनि बैंकहरुले न्यूनतम एक वर्षको फिक्स्ड डिपोजिट ल्याए मात्रै ऋण दिने बताइएको एजेन्टहरुले बताएका छन्।    

तरलता अभाव चुलिएकाले सानातिना प्रोपर्टी किनबेचमा खासै समस्या नदेखिएपनि बढी मूल्यका घरजग्गा बिक्रीमा भने धेरै असर परिरहेको सिटी रियलटर्सका सीइओ अमित उप्रेतीले बताए। अझ धेरै असर अपार्टमेन्टको बिक्रीमा परिरहेको उनले जानकारी दिए। 

'पहिला बिक्री भइहाल्ने अपार्टमेन्टहरु अहिले बिक्नै समय लागिरहेको छ। पहिला यतिको समय कुर्नुपर्ने अवस्था थिएन,' उप्रेतीले भने। 

काठमाडौंका प्रिमियम लोकेसनको प्रोपर्टीमा काम गरिरहेको सिटी रियलटर्सका अनुसार त्यस क्षेत्रको खरिद बिक्रीमा खासै समस्या नरहेको उप्रेतीले बताए। 

रेन्टल नेपालका संचालक इश्वर खरेल पनि पछिल्लो समय घर बिक्री गर्न खोज्नेहरुको संख्या बढ्दै गएपनि किन्ने मान्छे नभेटिएको बताएका छन्। जसका कारण प्रोपर्टी लिस्टिङ हुने क्रम थपिँदै गएको उनले बताए। 

त्यसैगरी, वित्तीय रुपमा अब्बल नरहेका व्यक्तिहरु जसले घरजग्गाको व्यापार गरिरहेका थिए उनीहरु नै अहिले सबैभन्दा गाह्रो परिरहेको देखिएको बसोबास डटकमका अधिकारीले सुनाए।  

'साना साना टुक्रा प्लट बेच्ने, २-३ घर बनाएर बेच्ने बिल्डरहरु जो वित्तीय रुपमा अब्बल छैनन् उनीहरु अहिले बढी तनाव र दबाबमा छन्। बैंकभन्दा पनि व्यक्तिगत सम्बन्धमा पैसा जुटाउनेहरु उनीहरु छिटोभन्दा छिटो प्रोपर्टी सल्टाउने दबाबमा छन्। मार्केट क्रन्च भएको अहिलेको अवस्थामा उनीहरुले चाहेर पनि बेच्न सकेका छैनन्,' अधिकारीले भने। 

साना व्यवसायी समस्यामा परिरहेकोमा सिटी रियलटर्सका उप्रेती पनि सहमत छन्। अनियन्त्रित रुपमा प्लटिङ गर्नेदेखि थोरै मात्रामा घर बनाउँदै बिक्री गर्नेहरु अझ बढी मारमा परिरहेको आफूहरुले देखिरहेको उनले बताए। । 

यसैगरी, घरजग्गा किन्न खोज्नेहरु पनि मन्दीका कारण भाउ घट्ने आशमा अहिले पर्ख र हेरको अवस्थामा रहेको अधिकारीले जानकारी दिए। अहिले किन्दा महँगोमा परिने हो कि भन्ने डरले घरजग्गा किन्ने योजनानै ६ महिना पछि धकेल्नेहरुको संख्या पनि धेरै रहेको अधिकारीले बताए। यस्तै, अहिले भएको पैसा घरजग्गामा लगाउँदा अर्थतन्त्रले कुन मोड लिने हो भन्ने संशयले पनि लगानी गर्न डराइरहेको अधिकारीले बताए।  

पैसा भइरहेको मान्छे वा प्रोपर्टी बिक्री गरेर पैसा भएकाहरुले मात्रै घरजग्गा किनिरहेको अनुभव उप्रेतीले पनि सुनाए।

अहिले काठमाडौं उपत्यकाका इमाडोल, धापाखेल, भैंसेपाटी, बुढानिलकण्ठ, टोखा, रामकोट, सितापाइला, चन्द्रगिरी नगरपालिकाका अधिकांश क्षेत्रका घरजग्गाहरु अहिले अधिक लिस्टिङ भएर बसिरहेको एजेन्टहरुले बताएका छन्।