BIZMANDU
www.bizmandu.com

चार अर्बको लागतमा टिआइएको ह्याङ्गर हब निर्माण भदौबाट, अत्याधुनिक टर्मिनल भवन पनि बन्दै

२०७९ असार १६

चार अर्बको लागतमा टिआइएको ह्याङ्गर हब निर्माण भदौबाट, अत्याधुनिक टर्मिनल भवन पनि बन्दै
चार अर्बको लागतमा टिआइएको ह्याङ्गर हब निर्माण भदौबाट, अत्याधुनिक टर्मिनल भवन पनि बन्दै

काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले चार अर्ब रुपैयाँको लागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङ्गर हब निर्माण हुने भएको छ। ह्याङ्गर निर्माण भदौबाट सुरु भएर तीन वर्षमा सम्पन्न गर्ने योजना रहेको विमानस्थल एयर ट्राफिक क्यापासिटी इनह्यान्समेन्ट प्रोजेक्ट प्रमुख दीपेन्द्र श्रेष्ठले बताए।

Tata
GBIME
Nepal Life

'हाल संचालित नेपाल वायुसेवा निगम र नेपाली सेनाको ह्याङ्गर स्थान्तरणका लागि चिनियाँ निर्माता कम्पनी सीसीइसीसी केडिएन एयरपोर्ट इन्जिनियरिङ जेभीलाई ठेक्का दिइसकिएको छ। विमानस्थलको पुर्वपट्टी हेलिकोप्टर पार्किङका प्रयोग गरिएको जग्गामा सेना र निगमको ह्याङ्गर स्थानान्तरण गर्न लागिएको हो,' प्रमुख श्रेष्ठले भने।

उनका अनुसार हाल बुद्ध एयरको ह्याङ्गर छेउमा रहेको जग्गामा निगम र राडरको एन्टिना भएको क्षेत्रमा नेपाली सेनाको लागि ह्याङ्गर प्रयोजनका लागि दिइनेछ। यो सँगै कुनै एउटा निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ह्याङर संचालनका लागि दिइने उनले जानकारी दिए।

अहिले भएको एनएसी र सेनाको ह्याङ्गर क्षेत्रमा नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन

प्राधिकरणले आफ्नो गुरुयोजना अनुसार हाल निगम र सेनाको ह्याङ्गर भएको क्षेत्रलाई खाली बनाएर नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण गर्ने योजना बनाएको छ। तीन वर्ष भित्र दुवै ह्याङ्गर स्थान्तरण गरी अत्याधुनिक टर्मिनल भवन निर्माणको काम सुरु गर्ने योजना रहेको उनले जानकारी दिए।

आउँदो आर्थिक वर्षबाटै नेपाली सेना र निगमको ह्याङ्गर स्थान्तरणका लागि पुर्वाधार तयारीबारे प्रकृया सुरु हुने उनले बताए।

'नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन सँगै पहुँच मार्ग, छ वटा बोर्डिङ ब्रिज, बोइङ ७७७, एयरबस ३३० लगायत कोड इ सिरिजको छ वटा अथवा १२ वटा न्यारोबडी जहाज पार्किङ क्षमता, छ वटा बोर्डिङ ब्रिज लगायत तयार हुनेछ,' उनले भने।

करिब ६० अर्ब रुपैयाँको लागत अनुमान रहेको यो नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन संचालनमा आएसँगै प्राधिकरणले हाल संचालित अन्तर्राष्ट्रिय टर्मिनल भवनलाई आन्तरिकको रुपमा प्रयोग गरिने उनले जानकारी दिए।

प्राधिकरणले उड्डयन पूर्वाधार विकास योजना अन्तर्गत तयार डिजाइन अनुसार नयाँ टर्मिनल भवन अहिलेको भन्दा तीन गुणा ठूलो क्षेत्रफलमा विस्तारित हुने जनाएको छ। यस अन्तर्गत छ वटा बोर्डिङ ब्रिज, कमर्सियल स्पेस, बिजनेस लाउन्ज, ड्युटी फ्री सप लगायतको सुविधा रहने प्राधिकरणले जनाएको छ।

हवाई यात्रु र विमान उडान-अवतरणको बढ्दो चाप धान्न प्राधिकरणले पूर्वाधार विस्तारको योजना अघि बढाएको हो। हालको टर्मिनल भवनको क्षेत्रफल ३३ हजार स्क्वायर मिटर छ। नयाँ पूर्वाधारले ओगट्ने क्षेत्रफल अझ बिस्तार हुने जनाइएको छ।

स्टिल स्ट्रक्चरमा निर्माण गरिने नयाँ टर्मिनल भवन अत्याधुनिक सुविधायुक्त रहने जनाइएको छ।

प्राधिकरणका अनुसार नयाँ टर्मिनल भवन विमानस्थलको उत्तरपट्टी रहेको ७५ हजार स्क्वायर मिटर क्षेत्रफलमा निर्माण गरिनेछ। नयाँ टर्मिनल भवनको डिजाइन फ्रेन्च कम्पनी एडीपीआइले गरेको हो। यो कम्पनीले सन् २०१६ मै नयाँ विमानस्थलको डिजाइन तयार गरेर प्राधिकरणलाई बुझाएको थियो। निर्माण चरणमै लैजानेगरी प्राधिकरणका अधिकारीहरु बल्ल सक्रिय भएका हुन्।

नयाँ टर्मिनल भवन निर्माण सुरु भएको पाँच वर्ष भित्रै तयार हुने प्रमुख श्रेष्ठले जानकारी दिए। हाल संचालित टर्मिनल भवनमा वार्षिक ३० लाख यात्रुले सेवा लिँदै आएका छन्। नयाँ टर्मिनल भवन संचालनमा आएसँगै वार्षिक एक करोड यात्रुले सेवा लिन सक्ने उनले जानकारी दिए।