Bizmandu
www.bizmandu.com

विश्व अर्थतन्त्रमा संकट: नेपाल नजिकको पाकिस्तान, श्रीलंकापछि बंगलादेश कसरी पुग्यो संकटमा ?

विश्व अर्थतन्त्रमा संकट: नेपाल नजिकको पाकिस्तान, श्रीलंकापछि बंगलादेश कसरी पुग्यो संकटमा ?


केही अघिसम्म ४१६ अर्ब डलरको बंगलादेशी अर्थतन्त्र विश्वकै तीब्र बृद्धितर्फ लम्किरहेको दक्षिण एसियाली देशका रुपमा परिचित थियो।



रुस र युक्रेन युद्धका कारण विश्वमा हाल देखिएको आपूर्ति अवरोध र इन्धनको चर्को मूल्यबृद्धिपछि बंगलादेशी अर्थतन्त्र पनि आफ्ना छिमेकीहरु पाकिस्तान र श्रीलंकाजस्तै जोखिमपूर्ण अवस्थामा पुगेको छ। यसले हाल विश्व अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव दक्षिण एसियासम्म आइपुगेको संकेत दिएको छ।

एक साता अघि बंगलादेशी अर्थमन्त्री ए एच एम मुस्तफा कमालले आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्तालिना जर्जियभालाई पत्र लेख्दै सहयोग मागेपछि दक्षिण एसियामा मजबुत अर्थतन्त्र मानिएको बंगलादेश पनि संकटग्रस्त अवस्थामा पुगेको सार्वजनिक भएको हो।

अर्थतन्त्रमा देखा परेका समस्या समाधानका लागि अन्तराष्ट्रिय मुद्रा कोषसँग साढे चार अर्ब डलर ऋण सहायता मागेको छ। संसारकै ठूलोमध्येको एक गार्मेन्ट निर्यातकर्ता देश यतिबेला भुक्तानी सन्तुलन तथा बजेटरी आवश्यकताहरुका लागि रकम अभावसँग जुधिरहेको छ। यसैगरी जलवायु परिवर्तनको संकटसँग जुध्नका लागि पनि उसँग रकम अभाव भैरहेको छ।

पाकिस्तान, श्रीलंका त्यसपछि बंगलादेश। लगालग यी तीनवटा दक्षिण एसियाली देशमा जोखिमपूर्ण अवस्थाको संकेत भैसकेको छ भने विश्व बैंक र आइएमएफ दुबैले आफ्ना पछिल्ला प्रतिवेदनहरुमा विश्व अर्थतन्त्र ७० वर्ष यताकै संकटपूर्ण अवस्थामा रहेको सार्वजनिक गरिसकेका छन्।

हाल बंगलादेशको केन्द्रीय बैंकले डलर संचिती नीति लिँदै बिलासी वस्तुहरु, फलफूल, प्याकिङ, बट्टाबन्द तथा प्रशोधित खानेकुरा आयातलाई निरुत्साहित गरेको छ।

गत जुलाई १० को तथ्यांक अनुसार बंगलादेशको बिदेशी मुद्रा संचिती घटेर ३९.६७ अर्ब डलरमा खुम्चिएको छ । यसअनुसार अब बंगलादेशसँग जम्मा ५ महिनाको आयात मात्र धान्न सक्ने मात्र क्षमता छ। गत वर्षको समान अवधिमा यो संचिती ४५.५ अर्ब डलर रहेको थियो।

बंगलादेशमा जुलाईदेखि मे सम्मको अवधिमा चालु खाता घाटा १७.२ अर्ब डलर रहेको छ। जबकि गत वर्ष सोही अवधिमा यो घाटा जम्मा २.७ अर्ब डलर रहेको त्यहाँको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ।

गत आर्थिक वर्षको पहिलो ११ महिनाको तथ्यांक हेर्ने हो भने आयात ३९ प्रतिशतले उकालो लागेको छ भने निर्यात जम्मा ३४ प्रतिशतले बढेको छ।

बंगलादेशमा रेमिट्यान्स भित्रिने दर पनि ५ प्रतिशतले घटेको देखिन्छ। कोभिड महामारीका कारण बैदेशिक रोजगारीमा गएका धेरैजसो कामदारहरुले रोजगारी गुमाएकाले बंगलादेशको रेमिट्यान्स कमी भएको बताइन्छ।

गत तीन महिनामा बंगलादेशको मुद्रा टाका अमेरिकी डलरको तुलनामा २० प्रतिशतले कमजोर भैसकेको छ। स्थानीय मुद्रा कमजोर हुँदा बंगलादेशको चालु खाता घाटा बढ्दै १७ अर्ब डलर पुगेको देखिन्छ।

विश्वभर बढिरहको इन्धनको मूल्यका कारण पनि बंगलादेशको यो संकट अझ गहिरिएको हो। बंगलादेशमा करिब १५ सय मेगावाट बिद्युत डिजेल प्लान्टबाट उत्पादन हुने गर्छ। यसकारण बंगलादेशले इन्धनको लागि ठूलो खर्च गर्नु परिरहेको छ। त्यसमाथि पर्याप्त डिजेल र ग्यासको उपलब्धता नहुँदा हालैका साताहरुमा त्यहाँ दैनिक १३ घण्टासम्म पनि लोडसेडिङ भैरहेको छ।

बंगलादेशका योजना मन्त्री समसुल आलम भन्छन् –'हाम्रो भुक्तानी सन्तुलन नेगेटिभ जोनमा छ। हामीलाई यतिबेला आफ्नो बिनिमय दरमा स्थिरता कायम गर्न आवश्यक देखिन्छ।' रुस र युक्रेन युद्धले इन्धनको मूल्य बढेको असर बंगलादेशमा परेको उनले बताए।

मुडी इन्भेस्टर सर्भिसका अनुसार बंगलादेशको 'डिफल्ट रिस्क' कम भएपनि उसको बिदेशी मुद्रा संचिती घटेका कारण अर्थतन्त्रमा समस्या देखिएको हो। तर जोखिमका बाह्य सूचकहरु भने न्यून देखिएको मुडीको अध्ययनले देखाएको छ।

उसले आफ्ना बृहद आर्थिक जोखिमहरुलाई कम गर्न र बित्तीय सबलीकरणको अवस्था सिर्जना गर्नका लागि आइएमएफसँग ऋण मागेको बताएको छ।

श्रीलंका ७० वर्ष यताकै आफ्नो सबैभन्दा खराब आर्थिक अवस्थामा पुगेको तथ्यांक यसअघि नै सार्वजनिक भैसकेको छ भने पाकिस्तानको बैदेशिक बिनिमय संचिती पनि तीब्र रुपमा घटिरहेको छ। जुलाईको सुरुवातमै पाकिस्तानले आइएमएफसँग थप १.२ अर्ब डलर थप ऋण सहायता लिने सम्झौता गरिसकेको छ।

विश्व अर्थतन्त्रमा मडारिएको संकट

विश्व अर्थतन्त्र समस्यामा परिसकेको छ र जोखिमहरु दिनप्रतिदिन बढ्दैछन्। गत सातामात्रै अन्तराष्ट्रिय मुद्रा कोषले जारी गरेको प्रतिवेदनले यस कुरालाई अझ बढी गम्भिरतापूर्वक लिनुपर्ने तर्फ संकेत गरेको छ।

उसले प्रतिवेदनमा अमेरिका चीन र यूरोप जस्ता विश्वका तीन ठूला अर्थतन्त्रहरु मुख्य रुपमा मन्दीतर्फ जाने प्रक्षेपण गरेको छ।

योसँगै रुस युक्रेन युद्ध, अनुमान बिपरित तीब्र बृद्धि भैरहेको मुद्रास्फिती दर र विश्वभरको कडा मौद्रिक नीतिले विश्व अर्थतन्त्रलाई निकै जोखिमपूर्ण बनाइदिएको विश्लेषकहरुले बताइरहेका छन्।

आइएमएफले सन् २०२२ का लागि विश्व अर्थतन्त्रमा जम्मा ३.२ प्रतिशतमात्र बृद्धि हुने प्रक्षेपण गरेको छ। सन् २०२१ मा यो दर ६.१ प्रतिशत थियो। सन् २०२३ का लागि बृद्धिदर अझ कमजोर हुने प्रक्षेपण गरेको छ। यो जम्मा २.९ प्रतिशत मात्र रहने आइएमएफको प्रतिवदेनमा उल्लेख छ। जबकी आइएमएफले वैश्विक मन्दी हुने अवस्था भनेर २.५ प्रतिशतको बृद्धि दरलाई मानेको छ। र अर्को वर्षको यो बृद्धि दर त्यो भन्दा थोरै मात्र माथि रहने बताइएको छ।

तर सन् २०२३ का लागि गरिएको प्रक्षेपण हालको अवस्था यही अवस्थामा कायम रहिरहेको खण्डमा मात्र हो। यो कायम रहन सकेन भने बृद्धि दर अझ तल झर्ने छ। विश्व अर्थतन्त्रमा जोखिमका सूचकहरु हेर्ने हो भने खतराको घण्टी अझै बजिरहेका छन्। रुसले यूरोपतर्फ ग्यास नपठाउने संकेत देखाइरहेको छ जसले आगामी दिनमा संकटलाई अझ बढाउने छ। यसो हुन गएको खण्डमा मुद्रा स्फितीदर अझ बढी उच्च हुनेछ र विश्वको आर्थिक बृद्धिदर २.६ प्रतिशतमा सिमित हुन पुग्ने अनुमान गरिएको छ। त्यसो हुन गएको खण्डमा विश्व अर्थतन्त्र 'हट जोन'मा प्रवेश गर्नेछ।

यो परिदृश्यमा आइएमएफले आगामी वर्ष आधिकारिक रुपमै विश्व मन्दीमा प्रवेश गर्न लागेको घोषणा गर्न सक्नेछ। यति कमजोर अवस्थाको आर्थिक वृद्धि विश्वमा सन् १९७० यता जम्मा पाँच पटक भएको आइएमएफले जनाएको छ।

गत अप्रिलमै रुस र युक्रेन युद्धपछि आइएमएफले आफ्नो वैश्विक आर्थिक वृद्धिको अनुमानलाई घटाइसकेको थियो। त्यसबेला उसले सन् २०२२ र २०२३ दुबै वर्षका लागि ३.६ प्रतिशत बृद्धि हुने अनुमान गरेको थियो। तर त्यसपछि उसले आफ्नो अनुमानलाई घटाएको हो।

विश्वका तीन ठूला अर्थतन्त्रहरुको गतिबिधिमा सुस्तता आएसँगै विश्वले मन्दिको चरणमा प्रवेश गर्न सक्ने जोखिम उच्च देखिएको हो।

अमेरिकामा उपभोक्ताहरुको क्रयशक्ति निकै घटेको छ। यसैगरी चीनमा हालपनि बिभिन्न स्थानमा जारी कोभिड १९ लकडाउनले अर्थतन्त्रलाई नराम्ररी बिगारीरहेको छ जसले मन्दीलाई बढावा दिन सघाइरहेको छ।

आइएमएफले चीनको जिडिपी ग्रोथरेट यस वर्षलाई ४.४ प्रतिशत अनुमान गरेकोमा घटाएर ३.३ प्रतिशतमा सिमित हुने जनाइसकेको छ जसले चीन जस्तो ठूलो अर्थतन्त्र मन्दीको बाटोतर्फ गैरहेको संकेत गरिरहेको छ।

यूरोपमा रुस र युक्रेन युद्धका कारण उर्जाको मूल्यमा चर्को बृद्धि देखिएको छ। उपभोक्ताको कमजोर आत्मविश्वास तथा उत्पादनमा देखिएको आपूर्ति संजालको अवरोधले उत्पादन क्षेत्रका गतिविधिहरु सुस्त भएका छन्।

ब्यापारको अवस्था निकै बिग्रदो अवस्थामा पुगेको छ।

विश्व बैंकले पनि गत जुन महिनामै विश्वका धेरै देशहरुमा मन्दीको अवस्थालाई 'रोक्न नमिल्ने' देखिएको बताइसकेको छ।

मन्दीको अवस्था के लाई मान्ने?

सन् १९७४ मा अमेरिकी अर्थशास्त्री जुलियस सिसकिनले लगातार दुई त्रैमासहरुमा आर्थिक बृद्धिदर घटिरहेको देखिएमा मन्दीतर्फ जाने संकेतका रुपमा परिभाषित गरेका थिए। सोही परिभाषा अनुसार हेर्ने हो भने पनि विश्वका धेरै देशहरु त्यही बाटोमा अग्रसर देखिन्छन्।

अमेरिकाको नेशनल ब्यूरो अफ इकोनोमिक रिसर्चका अनुसार भने मन्दीको परिभाषा अलिक फराकिलो छ। उसले मन्दी छ वा छैन भन्नाका लागि बिबिध पक्षहरुको आधारमा निर्धारण गर्नुपर्ने बताएको छ। यसअनुसार आर्थिक गतिविधिमा केही महिनादेखि निरन्तररुपमा उल्लेख्य गिरावट रहेमा, उत्पादन, रोजगारी, वास्तविक आय तथा अन्य सूचकहरुमा देखिनेगरीको परिवर्तन आएमा मन्दीको अवस्था भन्न सकिनेछ। ब्यूरोले भनेको छ- 'मन्दी त्यो बेला सुरु हुनेछ जब अर्थतन्त्रमा गतिविधिहरु उच्च तहमा पुग्छ र त्यो बेला अन्त्य हुन्छ जब अर्थतन्त्र सबैभन्दा नाजुक अवस्थामा पुग्छ।'

विश्व बैंकले भने विश्वका मुख्य अर्थतन्त्रहरु एकै समयमा संकुचन भएको खण्डमा तथा कमजोर आर्थिक बृद्धिका अन्य संकेतहरु देखा परेको खण्डमा त्यसलाई मन्दीको अवस्था मानेको छ।

विश्व अर्थतन्त्र बितेका सात दशकमा चारपटक मुख्य रुपमा मन्दीमा गएको देखिन्छ। यसअघि सन् १९७५ मा, सन् १९८२ मा, सन् १९९१ तथा सन् २००९ मा। यसअघि विकसित अर्थतन्त्रमा मन्दी करिब एक वर्षसम्म रहने गरेको आइएमएफकै तथ्यांकले देखाउँछ।

सन् १९४५ देखि सन् २००९ को अवधिलाई हेर्ने हो भने औसतमा मन्दीको अवस्था ११ महिनासम्म रहेको छ।

हालको परिदृश्यमा चर्को ब्याजदर, उच्च मुद्रास्फिती तथा लम्बिएको उर्जा संकटले विश्वलाई मन्दीको अवस्थातर्फ धकेलिरहेको संकेत गर्दछ।

यसैबीच आइएमएफले बंगलादेशले  माग गरे अनुसार उसलाई सहयोग उपलब्ध गराउने भएको छ।

बंगलादेशको अर्थतन्त्रमा हाल देखिएको आर्थिक संकटको प्रमुख कारक हाल जारी रुस र युक्रेन युद्ध रहेको भन्दै यससँग जुध्नका लागि बंगलादेशले आवश्यक औजारहरु प्रयोग गरिरहेको आइएमएफले बताएको छ।

हाल बंगलादेशले आफ्नो मौद्रिक नीतिमा कडाई गरेको छ। उसले कम आवश्यक, बिलासी तथा उर्जा सम्बद्ध आयातमाथि प्रतिबन्ध लगाएको छ भने विद्युत मागलाई कम गर्नका लागि आवश्यक कदम चालिरहेको आइएमएफले जनाएको छ।

यसैगरी बंगलादेशले जोखिममा परेकाहरुको सुरक्षाकालागि आफ्नो खर्चलाई प्राथमिकतामा राखेको छ। तथापि हाल विश्वभर देखिएको कठिन परिदृश्यका कारण विश्वका अन्य देशहरुले जस्तै बंगलादेशले पनि बृहद आर्थिक चुनौतीहरुको समना गर्नुपरिरहेको छ।

आइएमएफका अनुसार बंगलादेशले दीर्घकालीन रुपमा जलवायू परिवर्तनका मुद्दाहरुलाई सामना गर्न पनि आवश्यक देखिएको छ। आइएमएफले बंगलादेशमा जलवायू परिवर्तनले उत्पन्न जोखिमहरुका कारण उसको बृहद आर्थिक स्थिरतालाई खतरामा पार्ने चेतावनी पनि दिएको छ।

आइएमएफले हाल बंगलादेशले चाहे अनुसारको दीर्घकालीन वित्तीय सहयोग उपलब्ध गराउने र यसबाट उसले दीर्घकालीन जोखिमहरुलाई घटाउन काम गर्न सक्ने बताएको छ।

आइएमएफले दिने सहयोगबाट बंगलादेशले आफ्नो आर्थिक र सामाजिक पक्षहरुको सुधारमा काम गर्न सक्ने आइएमएफले जानकारी दिएको छ।

आरएसटीअन्तर्गत आइएएमएफले कति रकम बंगलादेशलाई दिनेछ भन्ने बारे भने अहिले केही खुलाएको छैन।