BIZMANDU
www.bizmandu.com

अनिल अम्बानीको सपनाको महल लिलामी हुनबाट जोगिएको कथा, आफ्नैले जोगाए सम्पत्ति लिलामीबाट

२०७९ साउन २७

अनिल अम्बानीको सपनाको महल लिलामी हुनबाट जोगिएको कथा, आफ्नैले जोगाए सम्पत्ति लिलामीबाट
अनिल अम्बानीको सपनाको महल लिलामी हुनबाट जोगिएको कथा, आफ्नैले जोगाए सम्पत्ति लिलामीबाट

बान्द्राको पाली हिल। भारतको आर्थिक राजधानी मुम्बई भित्रैको महँगो ठाउँ। कुरा केही महिना अघिको हो। यहाँ एउटा यस्तो भवन छ, जहाँ अधिकांश बिल्डरहरुको आँखा गाडिएको थियो। उक्त भवन बनेको जग्गा रिलायन्स पावरको नाममा छ।

Tata
GBIME
Nepal Life

उक्त जग्गामा अडिएको अधुरो भवन भारतीय उद्योगपति अनिल अम्बानीले सपना बुनेको सम्पत्ति हो। अर्थात् अनिलको सपनाको महल। उनी टाट पल्टिएको, मुद्दा लागेको र ऋण तिर्न सम्पत्ति लिलामीमा चढेका समाचार नौला छैनन्। परिस्थिति जस्तो भए पनि उनले सपनाको महल जोगाउलान् भन्नेमा भारतीय कर्पोरेट सेक्टरले अनुमान गरिरहेको थियो। 

तर, पिरामल क्यापिटल एण्ड हाउजिङ फाइनान्सले उक्त टावर र त्यहाँ रहेको १.४ एकड जग्गा (११.१४ रोपनी) लिलामीमा राख्यो। उद्योगी अनिल अम्बानीको सपना लिलामीमा चढ्न पुग्यो। तर, लिलामीमा चढाएको केही समयमै त्यो प्रक्रिया अघि बढेन। रोकिन पुग्यो। बिल्डरहरुलाई व्यक्तिगतरूपमा उक्त प्रोपर्टी बिक्रीका लागि उपलब्ध नभएको जानकारी गराइयो। आखिर किन रोकियो अर्बपति खानदानको प्रोपर्टी लिलामीबाट?

बजारबाट उक्त प्रोपर्टी जसरी पनि किन्न लागिपरेका थिए पिरामल ग्रुपका अध्यक्ष अजय पिरामिल। रियल इस्टेट निकट स्रोतहरुले पारिवारिक मामिला भएकाले उक्त प्रोपर्टी खरिदबिक्री रोकिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।     

अजय पिरामलका छोरा हुन् आनन्द। अनिल अम्बानीका दाजु तथा अर्बपति मुकेश अम्बानीकी छोरी इशा आनन्दकी श्रीमती हुन्। यो कथाको सुरु हुन्छ यसै वर्ष २०२२ को सुरुआतबाट। पिरामल क्यापिटलले नेसनल कम्पनी ल ट्रिब्यूनल (एनसीएलटी) को ढोका ढकढक्यायो। इनसल्बेन्सी तथा बैंकरप्सी (टाट उल्टिने) कोड, २०१६ को सेक्सन ७ अनुसार रिलायन्स पावरविरुद्ध क्यापिटलले जाहेरी दर्ता गर्‍यो। मामिला पाँच अर्ब भारुभन्दा बढी ‘लोन डिफल्ट’ को थियो।

पिरामल समूहका अध्यक्ष अजय पिरामल

रिलायन्स पावर र त्यसको सहायक कम्पनी रिलायन्स नेचुरल रिसोर्सेजले दिवान हाउजिङ फाइनान्स कर्पोरेसन (डीएचएफएल) बाट ऋण लिएको थियो। पछि पिरामल समूहले नै डीएचएफएल खरिद गर्‍यो। सन् २०२१ मा उक्त सौदा ३४ हजार २५० करोड भारुमा भएको थियो।

यससँगै डीएचएफएल पिरामिल क्यापिटलमा बिलय भयो। डीएचएफएल टाट पल्टियो। त्यसमा विभिन्न व्यक्ति तथा संस्थाहरुको ९० हजार करोड भारुभन्दा बढी कर्जा थियो। बैंक, म्युचुअल फन्ड र व्यक्तिहरुको कर्जा थियो। पैसा असुल्नका लागि पाली हिलमा रहेको अम्बानी टावरलाई लिलामीमा राखिएको थियो। 

१३ जुलाईमा एनसीएलटीको मुम्बई इजलासमा नयाँ कुरा खुलासा हुन पुग्यो। मुद्दाको सुनुवाईको क्रममा पिरामल फाइनान्स र रिलायन्स पावरले उक्त विषयलाई समाधान गर्ने प्रयास गरिरहेको बताइका छन्।

दुई सदस्यीय इजलासले उक्त विषयलाई दुवै पक्षले आपसी सहमतिमा विवाद समाधान गर्न ६ हप्ताको समय माग्दै दाबी (क्लेम) को विषय सल्टाउने जनाएपछि सुनुवाईको अर्को मिति तोकेको छ। अर्को सुनुवाई ५ सेप्टेम्बरलाई तोकिएको छ। अर्को सुनुवाइअघि नै दुवै पक्षले विवाद सल्टाउनुपर्ने आदेश दिइएको छ। यसपछि अर्को तारिख उपलब्ध नगराइने पनि बताइएको छ।  

एक दशकअघि बन्न सुरु भएको थियो घर 
पाली हिल टावरको निर्माण एक दशक पहिले सुरु भएको थियो। तर, केही वर्षअघि घर निर्माणको काम रोकिएको थियो। प्रोजेक्ट साइटमा कुनै पनि गतिविधि नभइरहेकाले खण्डरहरु जस्तो बनेको त्यहाँ बस्नेहरुले बताएका छन्। कुनै समय उक्त स्थानमा बम्बे सब-अर्बन इलेक्ट्रिसिटी सप्लाइ (बीएसइएस) का अध्यक्षको आधिकारिक बंगला थियो। 

सन् २००० मा रिलायन्सले बीएसइएसको उक्त भवन अधिग्रहण गरेको थियो। उक्त शानदार बंगला पनि त्यही प्रोपर्टी भित्र पर्छ। सन् २००५ मा अम्बानी बन्धुबीच सम्पत्ति बाँडफाँट भएपछि अनिलको भागमा पावर बिजेनस पर्‍यो। यससँगै पाली हिल प्लट पनि अनिलकै भागमा आइपुग्यो।      

सम्पत्ति लिलामी हुनबाट आफ्नैले जोगाए 
केही महिनाअघि भारतीय प्रोपर्टी बजारमा एउटा खबर फैलियो, एउटा निर्माण समूहले अधुरो टावर खरिदको सौदा करिब करिब टुंग्यायो। भवनसँगै जग्गा पनि खरिद गर्नुपर्ने थियो। उक्त सौदाबाजी ८०० करोड भारुमा हुनुपर्ने थियो। तर, कारोबारीबीच कुरा मिलेन। अन्य केही बिल्डरले पनि पिरामल समूहसँग उक्त भवन र जग्गा किन्न सम्पर्क गरेका थिए। उनीहरुलाई भनियो- यो प्रोपर्टी किनबेच हुँदैन।

भारतीय संचारमाध्यमहरुले फेला पारेको बिल्डिङ प्लानअनुसार पहिलो पाँच लेबलमा सुविधा व्यवस्थापन, एजेन्टहरुको क्वाटर, सेक्युरिटी, ड्राइभर एरिया इत्यादि छन्। त्यस्तै, इलेक्ट्रिकल रुम, जिम र भान्छा उक्त क्षेत्रमा छन्। भुइँतला र पहिलो तलामा पूजा गर्ने क्षेत्र छुट्याइएको छ। भवनमा प्रशासन हल, इन्ट्रान्स लबी र क्लब हाउस छन्। दोस्रो तलादेखि ११ तलासम्म आवासीय स्पेस छुट्याइएको छ। (एजेन्सीको सहयोगमा)