BIZMANDU
www.bizmandu.com

सूर्य नेपाल काठमाडौं ओपन: दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

२०८१ बैशाख १२

सूर्य नेपाल काठमाडौं ओपन: दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
सूर्य नेपाल काठमाडौं ओपन: दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश प्रजापति र भुवन नगरकोटी समग्रमा २–अन्डर १ सय ३४ सहित शीर्षस्थानमा रहेका छन्। उनीहरूले ३६ होलको समाप्तीमा रवि खड्कालाई दुई स्ट्रोकले पछि पारे।

Tata
GBIME
Nepal Life

दिनेशले आज ४–अन्डर ६४ मा खेल सकाए। भुवनले भने २–अन्डर ६६ को स्कोर कार्ड तयार पारे। समग्रमा इभन–पार १ सय ३६ सहित रवि खड्का तेस्रो स्थानमा छन। उनले आज १–अन्डर ६७ को स्कोर बनाए। समग्रमा १–ओभर १ सय ३७ सहित राम मगर, निरज तामाङ र भुवन कुमार रोक्का संयुक्तरुपमा चौथो स्थानमा छन। रामले ४–अन्डर ६४ को उत्कृष्ट स्कोरमा दोस्रो दिनको खेल सकाए। निरज र भुवनले इभन–पार ६८ स्कोर गरे।

यसैगरी जयराम श्रेष्ठ र सञ्जय लामा संयुक्तरुपमा सातौं स्थानमा छन। उनीहरूले समग्रमा २–ओभर १ सय ३८ को स्कोर बनाएका छन। दुवैले आज इभन–पार ६८ मा खेल सकाए।

प्रो कार्ड लिएपछि पहिलो पटक घरेलु टुर खेलिरहेका सुवास तामाङले आज १–अन्डर ६७ सहित समग्रमा ३–ओभर १ सय ३९ को स्कोर गरे। उनी नवौं स्थानमा रहेका छन। समग्रमा ४–ओभर १ सय ४० सहित संयुक्तरुपमा दशौं स्थान बाँडे। दुवैले २–ओभर ७० मा खेल सकाए।

३६ होलको समाप्तीमा १७–ओभर १ सय ५३ सम्म स्कोर गर्ने २२ प्रोफेसनल र ४ एमेच्योर गरी २६ गल्फरले कट बनाएका छन। प्रोतर्फ तोरण विक्रम शाही, टंक बहादुर कार्की, प्रदीप कुमार लामा, कृष्णमान राजबाहक, टासी घले, भिमसेन चौलागाई, वसन्त राज गुरुङ, रामकृष्ण श्रेष्ठ, पशुपति शर्मा, भु बहादुर गुरुङ र किसन कालीराज सुनारले अन्तिम ३६ होलको लागि स्थान बनाए।

एमेच्योरतर्फ टासी छिरिङ समग्रमा २–ओभर १ सय ३८ सहित सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहेका छन। उनले आज २–अन्डर ६६ को स्कोर निकाले। दाबेदार युवा गल्फर सदभाव आचार्यले समग्रमा ३–ओभर १ सय ३९ स्कोर खडा गरे। आज उनले १–अन्डर ६७ को कार्ड बनाए। राहुल विश्वकर्मा समग्रमा १०–ओभर १ सय ४६ सहित तेस्रो स्थानमा छन। उनले आजको खेल इभन–पार ६८ मा सकाए। यी तीन एमेच्योरसँगै भरत थापा मगरले पनि कट बनाए।

आज ४–अन्डर ६४ को उत्कृष्ट कार्ड बनाउँदै दिनेश पाँचौं स्थानबाट संयुक्तरुपमा शीर्षस्थानमा उक्लिएका हुन। उनले सुरूवात सानदार गरे। पहिलो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गर्दा पाँचौं होलमा एक सट खेर फाले। उनले फ्रन्ट नाइन ३–अन्डर ३१ मा सकाए। यसपछि १५औं होलको बोगीको विरूद्ध १०औं र १४औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइनमा १–अन्डर ३३ खेले।

पहिलो दिनका लिडर भुवनले फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए। पहिलो र छैटौं होलमा बर्डी प्रहार गरे पनि चौथो होलमा डबल बोगी खेपे। यसपछि उनले ब्याक नाइनमा चार वटा बर्डीको सफलता प्राप्त गरे। १०औं, १३औं, १५औं र १६औं होलमा एक–एक सट बचाए। १४औं र १८औं होलको बोगीले ब्याक नाइन २–अन्डर ३२ मा सकाउन बाध्य भए।

रविले फ्रन्ट नाइनमा लोभलाग्दो प्रदर्शन गरे। पहिलो र चौथो होलमा इगल प्रहार गर्दै चार सट बचाए। तेस्रो होलमा एक सट खेर फाले भने सातौं होलको बर्डीले फ्रन्ट नाइन ४–अन्डर ३० मा सकाए। तर ब्याक नाइनमा उनले लय गुमाए। १४औं देखि १६औं होलमा लगातार तीन बोगी खेपे र ब्याक नाइन ३–ओभर ३७ मा पुरा गरे।

चार दिने प्रतियोगितामा कुल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको छ। विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन। यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौ हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन। टप २१ मा पर्ने प्रोफेसनल खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन ।