BIZMANDU
www.bizmandu.com

म्याग्दीको घोडेपानी पर्यटकको रोजाइमा, एक वर्षमा ३१ हजारले गरे भ्रमण

२०८१ बैशाख ८

म्याग्दीको घोडेपानी पर्यटकको रोजाइमा, एक वर्षमा ३१ हजारले गरे भ्रमण
पुनहिल क्षेत्रमा फुलेको गुराँस र पृष्ठभूमिमा धौलागिरि हिमाल म्याग्दी, ७ वैशाखः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिल क्षेत्रको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । हिमाल, गुराँसेजङ्गल र सूर्योदय हेर्नका लागि पुनहिल घोडेपानी क्षेत्रमा पर्यटकको घुइँचो लागेको छ । तस्बिरः सन्तोष गौतमररासस

म्याग्दी। पदयात्राका लागि चर्चित म्याग्दीको घोडेपानी पुग्नेहरु बढेका छन्। २०८० को एक वर्षमा यहाँ ३१ हजारभन्दा बढी विदेशी पर्यटक पुगेका छन्। गण्डकीका पदमार्ग घुम्न आउने पर्यटक अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी–पुनहिल क्षेत्र पुग्न छुटाउँदैनन्।

Tata
GBIME
Nepal Life

गत वर्ष ३१ हजार ४ सय ३९ जना पर्यटकले घोडेपानी-पुनहिल क्षेत्रको भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ। चौकीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख राख्दै आएको छ।

गत वर्ष २५ हजार २ सय ७९ जना पर्यटक भित्रिएका र ६ हजार १ सय ६० जना घोडेपानी हुँदै अन्यत्र गएका चौकीका वरिष्ठ हवल्दार टेकबहादुर सुनारी मगरले बताए। सबैभन्दा बढी चैत महिनामा ५ हजार ८ सय ४९ जना पर्यटक घोडेपानी आएका छन्।

वैशाखमा ४ हजार ४ सय १४, जेठमा १ हजार २ सय ८१, असारमा ४ सय ४१, साउनमा ९ सय ४७, भदौमा ९ सय ७२, असोजमा ४ हजार २ सय ९८ र कात्तिकमा ४ हजार ३ सय ५७ जना पर्यटक आएका छन्। कात्तिकमा ४ हजार ३ सय ५७, मंसिरमा ३ हजार १ सय ९९, पुसमा १ हजार ६ सय २७, माघमा १ हजार ५ सय ७७ र फागुनमा २ हजार ४ सय ७७ जना पर्यटक आएका थिए। 

२०७९ मा २६ हजार ३ सय १ जना पर्यटकले घोडेपानी घुमेका थिए। घोडेपानी टोल सुधार समितिका उपाध्यक्षसमेत रहेकी होटल व्यवसायी जुलीठकुरी पुनले कोरोना अघिकै लयमा फर्कन नसके पनि पर्यटक आगमन सुधार हुन थालेकाले आशा जागेको बताइन।

‘अनुकूल मौसम र बिदाको समय भएकाले आन्तरिक पर्यटकको आगमन पनि राम्रो छ,’ उनले भनिन्, ‘आन्तरिक पर्यटकले यहाँको होटल व्यवसाय धानिएको छ।’ कोरोनाअघि वार्षिक ६० देखि ७० हजार जना पर्यटक घोडेपानी आउने गरेका थिए।

समुद्र सतहदेखि ३ हजार २ सय १० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृंखलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन्। घोडेपानीमा साना ठूला गरी २७ होटल छन् । ती होटलमा एक दिनमा एक हजार जना बास बस्न सक्छन्।

पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि माइलादाइ होटल तथा रेष्टुराँलाई रु ६३ लाख ११ हजारमा ठेक्का सम्झौता गरेको छ। पुनहिल प्रवेश गर्न हरेक नेपालीले ५० र विदेशीले १ सय ५० रुपैयाँ शुल्क तिर्नुपर्छ। 

पुनहिलबाट धौलागिरी, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ। सूर्योदयको दृष्यावलोकन गर्न पाउनु पुनहिलको अर्को विशेषता हो। घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँस जंगल छ। हिजोआज गुराँसले ढकमक्क जंगलमा रमाउने पर्यटकको चहलपहल बढेको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताए।

अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरेबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । आन्तरिक पर्यटकको अभिलेख राख्ने गरिएको छैन । म्याग्दीको पोखरेबगर– घार– शिख– चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधनमा पुग्न सकिन्छ। पोखरा–घोडेपानी बस सेवा पनि सञ्चालनमा छ। रासस