BIZMANDU
www.bizmandu.com

बाबुछोरा नै सुन तस्करीमा : इन्द्रचोकमा ‘डिल’ गर्ने अफिस, चीनबाट ल्याएर भारतमा सप्लाइ

२०८१ बैशाख १४

बाबुछोरा नै सुन तस्करीमा : इन्द्रचोकमा ‘डिल’ गर्ने अफिस, चीनबाट ल्याएर भारतमा सप्लाइ
बाबुछोरा नै सुन तस्करीमा : इन्द्रचोकमा ‘डिल’ गर्ने अफिस, चीनबाट ल्याएर भारतमा सप्लाइ

काठमाडौं। दार्चुला घर भएका गणेशदत्त बडू बिहीबार काठमाडौंको इन्द्रचोक नजिकै डेराबाट समातिए। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको अपरेसनमा प्रहरीले उनलाई अवैध सुन सहित नियन्त्रणमा लियो।

Tata
GBIME
Nepal Life

बडूसँगै भारतीय नागरिक अमेल विभुते, भारतीय नागरिक ऋषीकेश प्रकाश विभुते, दिनेश खरेल र भरत खरेललाई पनि प्रहरीले पक्राउ गर्‍यो। बडूको साथबाट प्रहरीले करिब १ किलो सुन समेत बरामद गर्‍यो। त्यस्तै, १ करोड २६ लाख रुपैयाँ समेत बरामद गर्न सफल भयो।

प्रहरीलाई केही समय अगाडि नै अवैध सुनको तस्करी भइरहेको जानकारी आएको थियो। इन्द्रचोकबाट करिब ३ मिटरभित्र रहेको कोठाबाट उनीहरू समातिएका हुन्। उनीहरूले कोठा भाडामा लिएर सुनको डिल गर्ने कार्यालय बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ।

‘तस्करी गर्ने मानिस भेटेर योजना बनाउनेदेखि अन्य कारोबार गर्न अफिस जस्तो बनाएको देखियो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए।

बिहीबार दिउँसो साढे १ बजेतिर प्रहरीलाई अवैध सुनको गिरोहबारे थप ‘क्लू’ मिल्यो। त्यसपछि प्रहरी अर्को ठाउँमा छापा मार्न पुग्यो। त्यसको केही पर अर्को कोठाबाट दुई जना समातिए। ती थिए २१ वर्षीय आयुष बडू र भरत खरेल।

उनीहरूको साथबाट प्रहरीले ७६६ ग्राम सुन बरामद गर्‍यो। उनीहरूसँगै थप १७ लाख ६० हजार रुपैयाँ समेत भेटिएको थियो। पक्राउ परेका आयुष र गणेशदत्त बाबुछोरा भएको अनुसन्धानबाट खुल्यो।

गणेशको योजनामा लामो समयदेखि सुन तस्करी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको दाबी छ। त्यस्तै, गणेश यसअघि पनि सुन तस्करीमा संलग्न भएको खुलेको छ।

२०७४ भदौमा क्षेत्रपाटीबाट बरामद भएको ८८ किलो सुन तस्करी उनको संलग्नता देखिएको हो। २०७५ मंसिरमा काठमाडौं जिल्ला अदालतले फरार मुख्य अभियुक्त दुई चिनियाँ नागरिकसहित तीन जनालाई सो सुन प्रकरणमा दोषी ठहर गरेको थियो। संगठित अपराधमा मुद्दा चलाइएका १३ प्रतिवादीमध्ये १० जनालाई भने प्रमाण अभावमा सफाइ दिइएको थियो।

न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले २०७५ मंसिर ४ गते अभियुक्तमध्ये तीनलाई दोषी ठहर गरेको थियो। रसुवा नाका हुँदै काठमाडौं भित्र्याइएको ८८ किलो सुन क्षेत्रपाटीमा समातिएको थियो। हाल पक्राउ परेका गणेश त्यसबेला भने ३ लाख रुपैयाँ धरौटीमा छुटेको प्रहरीमा उनले बयान दिएका छन्।

‘८८ किलोमा संलग्न भन्ने देखिन्छ। तर त्यतिखेर के कस्तो कारबाही वा अनुसन्धान भएको थियो भन्ने बुझ्दैछौं,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले भने।

सुन तस्करीमा गणेश र चिनियाँ नागरिकसँग सम्पर्क भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बरामद मोबाइलमा रहेको ह्वीच्याट एपबाट सुन तस्करी बारे कुराकानी भएको देखिएको प्रहरीको दाबी छ।

प्रहरीले शंकामा रहेका चिनियाँ नागरिकमाथि पनि अनुसन्धान थालेको छ। पछिल्लो समय अवैध सुन कारोबारमा चिनियाँ नागरिकको संलग्नता ह्वात्तै बढेको छ।

त्यस्तै, पक्राउ परेका दिनेश खरेल र भरत खरेल दाजुभाइ हुन्। उनीहरू गणेशदत्तका साढु दाईका छोराहरू भएको खुलेको छ। गणेशले झापाकी महिलासँग विवाह गरेका थिए।

समातिएका भारतीय नागरिकहरूभने नेपालबाट भारतमा सुन लिएर जाने व्यक्ति भएको अनुसन्धानबाट देखिएको छ।

प्रहरीले पक्राउ परेका व्यक्ति र बरामद सामान राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ।