BIZMANDU
www.bizmandu.com

एसिया कप पछि इमर्जिङ एसिया कप पनि पुग्न नेपाल असफल, हङकङसँग पराजित

२०८१ बैशाख ८

एसिया कप पछि इमर्जिङ एसिया कप पनि पुग्न नेपाल असफल, हङकङसँग पराजित
Ayush Shukla of Hong Kong, China delivers a ball during the ACC Men's Premier Cup 2024 3rd / 4th Place Play Off match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 20, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं। नेपाली क्रिकेट टोलीले इमर्जिङ टिम्स एसिया कप पनि नखेल्ने भएको छ। आज ओमनमा सम्पन्न तेस्रो स्थानको खेलमा हङकङसँग पराजित भएसँगै नेपाल इमर्जिङ एसिया कप पुग्न असफल भएको हो।

Tata
GBIME
Nepal Life

प्रिमियर कपको च्याम्पियन टोलीले एसिया कपमा स्थान बनाउँदा यो प्रतियोगिताको शीर्ष तीन टोलीले इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउँछन्। इमर्जिङ एसिया कपमा टेस्ट राष्ट्रका ‘ए’ टोली र एसोसिएट्सका मुख्य टोलीले प्रतिस्पर्धा गर्छन्।

प्रिमियर कपको समूह चरणमा लगातार चार जित निकालेको नेपाललाई उपाधिको मुख्य दाबेदार मध्येमा हेरिएको थियो। तर, शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा यूएईसँग खराब ब्याटिङ गर्दै हार ब्यहोरेपछि नेपालले लगातार दोस्रो पटक एसिया कप खेल्ने अवसर गुमाएको थियो।

दोस्रो सेमिफाइनलमा ओमनसँग हार ब्यहोरेर एसिया कप पुग्ने सपना गुमाएको हङकङले भने इमर्जिङ एसिया कपमा स्थान बनाएको छ। सेमिफाइनलमा पराजित नेपाल र हङकङले आज खेलेको तेस्रो स्थानको प्रतिस्पर्धामा हङकङ ४ विकेटले विजयी भयो। योसँगै नेपालले दुई ठूला प्रतियोगिता एसिया कप र इमर्जिङ एसिया कप पुग्ने अवसरबाट चुकेको छ।

हङकङविरुद्धको खेल

शनिबार ओमनस्थित अल अमेरत स्टेडिममा सम्पन्न तेस्रो स्थानको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो। तर, खराब ब्याटिङ गर्दै ८ विकेट गुमाएर १३९ रनमा समेटियो।

जवाफी ब्याटिङमा उत्रिएको हङकङले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। हङकङका लागि सुझबुझ पूर्ण ब्याटिङ गरेका अन्सु रथले सर्वाधिक अविजित ६५ रन बनाउँदा बाबर हायतले २६ तथा अजिज खानले १२ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामीले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए पनि हङकङलाई लक्ष्यसम्म पुग्न रोक्न सकेनन्।

त्यसअघि ब्याटिङमा उत्रिएको नेपाल हङकङविरुद्ध ब्याटिङमा पूर्णतया दीपेन्द्रसिंह ऐरीमा निर्भर रह्यो।

ओमनको अल अमेरत स्टेडियममा खेलको दोस्रो बलमै कुशल भुर्तेल डकआउट गुमेसँगै नेपालले ब्याटिङको मोमेन्टम बिगारेको थियो।  उनी जारी प्रतियोगितामा लगातार तेस्रो खेलमा डकआउट भएका हुन्। यसअघि उनी यूएई र साउदी अरबविरुद्धको खेलमा डक आउट भएका थिए।

त्यस्तै माथिल्लो क्रममा आएर ब्याटिङ गरेका सोमपाल कामी १२ रनमा समेटिँदा कप्तान रोहित पौडेलले २१, सुन्दीप जोराले २२, कुशल मल्लले १३, गुल्सन झाले ६ र करण केसीले ३ रन बनाए।

१६.२ ओभरमा ९८-८ को अवस्थामा रहेको नेपालको इनिङ्सलाई सम्मानजनक अवस्थासम्म पुर्‍याउन दीपेन्द्रसिंह ऐरीले प्रयास गरे। उनले २९ बलमा ४ चौका र ३ छक्काको सहायतामा ४४ रन बनाएर अविजित रहे। यसक्रममा उनले सबैभन्दा ठूलो साझेदारी ललितनारायण राजवंशीसँग ४१ रनको बनाए।

बलिङतर्फ हङकङका आयुष शुक्लाले ३ विकेट लिँदा अतिक इक्बाल, यसिम मुर्ताजा र इहसन खानले समान १ विकेट लिए। योसँगै हङकङ, ओमन र यूएईले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने पक्का भएको छ। एसिया कप भने आइतबार हुने फाइनल खेलको विजेता टोलीले खेल्नेछन्। प्रिमियर कपको उपाधि जित्न आयोजक ओमन र यूएई फाइनलमा भिड्दैछन्।