काठमाडौं। भारतले दिउँसोका लागि मात्रै बिजुली दिने भएपछि नेपाल विद्युत प्राधिकरणले आन्तरिक उत्पादनबाटै पिक आवरको लोड व्यवस्थापन गर्नुपर्ने भएको छ।
७ वर्षअघि लोड व्यवस्थापन मिलाएर देशलाई लोडसेडिङ मुक्त गरेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पिक आवरमा भारतबाट बिजुली नआउँदा पनि घरायसी लोडसेडिङ हुन नदिने रणनीति अख्तियार गर्ने भएका छन्। अहिले औद्योगिक क्षेत्रमा १० घण्टासम्म बिजुली कटौती भइरहेको छ।
प्राधिकरणसँगको विद्युत आयात सम्झौता भारतले बिहीबार तीन महिनाका लागि नवीकरण गर्दै ५ सय ५४ मेगावाट बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै दिने निर्णय गरेको थियो।
पिक आवरमा भारतले विद्युत नदिने भएपछि पिक आवरको डिमाण्ड पूरा गर्न कुलमानले विगतमा जस्तै रणनीति अख्तियार गर्ने भएका हुन्।
जलविद्युत आयोजना पानीको बहाव (रन अफ दि रिभर) र पानी जम्मा पारेर (पिकिङ रन अफ दि रिभर) गरी दुई प्रकृतिका छन्। नेपालमा हालसम्म निर्माण गरिएका सबैजसो आयोजना रन अफ दि रिभर प्रकृतिका हुन्। जलाशययुक्त आयोजना कुलेखानी मात्र हो।
रन अफ दि रिभर प्रकृतिका आयोजनामा हिउँद लागेपछि उत्पादन क्षमताको एक तिहाइमा झरेको अवस्था छ। तैपनि कुलमान दुवै प्रकृतिका जलविद्युत आयोजनाको उत्पादन व्यवस्थापन गरेर लोड व्यवस्थापन गर्ने तयारीमा लागेका छन्।
पिक आवरमा भारतबाट ५५४ मेगावाट नआउने अवस्थामा पनि बिजुली कटौती हुन नदिन प्राधिकरणले आन्तरिक उत्पादन अधिकतम प्रयोग गर्ने रणनीति लिएको छ। पिक आवरमा विद्युत माग १,८८५ मेगावाटसम्म छ।
प्राधिकरण उच्च स्रोतका अनुसार कुलमान पिकिङ रन अफ दि रिभर प्रकृतिका माथिल्लो तामाकोसी, कालिगण्डकी, मध्यमर्स्याङ्दी, चिलिमे र त्रिशुली आयोजनाका प्लान्ट दिउँसो बन्द गराउने तयारीमा छन्। यी सबै आयोजना पिक आवर साँझ ६ बजेदेखि ९ बजेसम्म संचालन गर्ने तयारी छ। राती साढे १२ देखि बिहान ४ बजेसम्म यी आयोजना बन्द हुनेछन्।
बिहान ४ बजेदेखि ६ बजेसम्म अवस्था हेरेर यी आयोजना संचालन गरिनेछन्। यी आयोजनाबाट ३०० मेगावाट बिजुली उत्पादन हुनेछ। स्रोतका अनुसार निजी ऊर्जा उत्पादकबाट ७०० मेगावाट र प्राधिकरणका अन्य योजनाबाट ५०० मेगावाट बिजुली निरन्तर आउनेछ।
प्राधिकरण स्रोतका अनुसार यसबाहेक युपी र बिहारबाट ५०/६० मेगावाट बिजुली आयात गर्ने रणनीति छ। युपी र बिहारबाट समेत आउँदा पिक आवरमा प्राधिकरणसँग १,६९८ मेगावाट बिजुली हुन्छ। यो आधारमा प्राधिकरणलाई पिक आवरमा १८७ मेगावाट बिजुली अपुग हुने देखिन्छ।
प्राधिकरण बिजुली अपुग हुने अवस्थामा औद्योगिक क्षेत्रको लोड घटाउने रणनीतिमा छ। ‘औद्योगिक क्षेत्रका उद्योगहरुको लोड घटाएर पिक आवरको माग व्यवस्थापन गर्ने रणनीतिमा छौं,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘उद्योगहरुले थप लोडसेडिङ बेहोर्नुपर्ने हुनसक्छ।’